लण्डन । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगका खेलहरूमा आर्सनल र बायर्न म्युनिखले महत्त्वपूर्ण जित हात पार्दै सेमिफाइनलको सम्भावना बलियो बनाएका छन् । मंगलबार राती भएका छुट्टाछुट्टै खेलहरूमा आर्सनलले स्पोर्टिङ सिपीलाई कठिन संघर्षका बीच पराजित गर्दा जर्मन जायन्ट बायर्न म्युनिखले कीर्तिमानी विजेता रियल मड्रिडलाई उसैको मैदानमा स्तब्ध पारेको हो ।
भ्रमणकारी टोली आर्सनलले स्पोर्टिङ सिपीको मैदानमा १-० को कठिन तर अत्यन्तै महत्त्वपूर्ण जित निकालेको छ । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिने संकेत देखिएको थियो । तर, इन्जुरी समयको पहिलो मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका काइ हाभर्ट्जले निर्णायक गोल गर्दै आर्सनललाई रोमाञ्चक जित दिलाउनुभयो ।
लगातार दुई खेलमा पराजय बेहोरेर दबाबमा रहेको आर्सनलका लागि यो जित तीन खेलपछिको पहिलो सफलता हो । खेलको ६४औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गरे पनि त्यसले मान्यता नपाउँदा आर्सनल केही समय निराश बनेको थियो । स्पोर्टिङले घरेलु मैदानमा केही उत्कृष्ट काउन्टर अट्याकहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । अब अर्को हप्ता आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा हुने दोस्रो लेगमा आर्सनललाई यो १–० को अग्रताले ठूलो फाइदा पुग्नेछ ।
अर्को हाइप्रोफाइल भिडन्तमा बायर्न म्युनिखले रियल मड्रिडलाई उसैको घर सान्टियागो बर्नाबेउमा २–१ ले पराजित गरेको छ । चोटमुक्त भएर मैदान फर्किएका स्टार स्ट्राइकर ह्यारी केन र अनुभवी गोलकिपर म्यानुएल नोएर बायर्नको जितमा नायक बन्नुभयो । खेलको ४१औँ मिनेटमा लुइस डिआजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको बायर्नले दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै दोस्रो गोल थप्यो । ह्यारी केनले उत्कृष्ट प्रहार गर्दै रियलका गोलकिपर एन्ड्री लुनिनलाई कुनै मौका दिनुभएन । चोटका कारण केही महत्त्वपूर्ण खेलहरू गुमाउनुभएका केनले यस खेलमार्फत् सानदार पुनरागमन गर्नुभयो ।
२–० ले पछि परेको अवस्थामा रियल मड्रिडले ६०औँ मिनेटमा जुड बेलिङघमलाई मैदान उतार्दै खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ७४औँ मिनेटमा ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्डको सटिक क्रसमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउनुभयो । त्यसपछि रियलले बराबरीका लागि निकै दबाब दिए पनि बायर्नका गोलकिपर म्यानुएल नोएर पर्खाल बनेर उभिनुभयो ।
नोएरले रियलका कम्तीमा नौवटा खतरनाक प्रहारहरूलाई विफल तुल्याउँदै आफ्नो टोलीको संकट टार्नुभएको थियो । खेलको अन्त्यतिर रियलले बराबरी गर्ने केही सुन्दर मौकाहरू पाए पनि नोएरको उत्कृष्ट बचाउका कारण सफल हुन सकेन । अब यी दुई टोलीबीचको दोस्रो लेग बायर्नको घरेलु मैदानमा हुनेछ, जहाँ रियलले सेमिफाइनल पुग्न जित्नैपर्ने दबाब रहनेछ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि