फागुन २१ को चुनावपछिको पहिलो संसद्मा नेकपा एमालेका संसदीय दलका नेता एवं कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले निर्भीकताका साथ राखेका विचार विवादित हुनपुगेको छ । विशेषगरी चुनावको परिणामलाई लिएर अदृश्य शक्ति, एल्गोरिदम, सेना आदिलाई दोषारोपण गर्दै नेकपा एमालेको पराजयलाई ढाकछोप गर्न खोजेको प्रयासलाई अधिकांशले सहज रूपमा स्वीकार गर्न सकेको देखिएन । कुरा कति सत्य थिए वा कतिपयमा प्रमाण जुटाउन नै असम्भव थियो वा कतिपय पूर्णरूपमै गलत थिए भन्ने समयक्रमले पुष्टि गर्दै जाला तर एमालेकै केन्द्रीय समितिले समेत सच्याउन पर्ने अवस्था आउनुले बादल र एमाले दुबैलाई शोभा भने दिएन ।
सत्यै भए पनि प्रमाणसहित मात्रै बोल्ने बानी सांसद्हरूले बसाल्नै पर्ने थियो तर बादलले अहिले यही चेतना भरिएका कारण बोली सच्याउनुपरेको चाहिँ होइन । घण्टीका विरुद्धमा कसैले घण्टी बजाउने प्रयास गर्यो भने त्यसका विरुद्धमा खनिने समूह केही समयअघिदेखि तयार रहेका कारण र यसैको डरत्रासमा एमाले पर्दा नै बादल यति धेरै आलोचित हुन पुगेजस्तो लाग्दछ ।
हाम्रो धर्मग्रन्थ वेदमा भनिएको छ : सत्यं ब्रूयात्, प्रियं ब्रूयात्, न ब्रूयात् सत्यमप्रियम् । अर्थात् सधैं सत्य बोल्नु, प्रिय वचनमात्रै बोल्नु र सत्य भए पनि अप्रिय छ भने नबोल्नु । अप्रिय भन्नुको मतलब कसैलाई मीठो लाग्ने वा नलाग्नेसँग मात्रै सम्बन्धित छैन कि त्यस वचनले कसैको हानी गर्दछ कि गर्दैन भन्ने हो । कहिलेकाहिँ झुट बोल्दा धर्मको रक्षा हुन्छ भने त्यतिबेला सत्य नै बोल्नु उचित मानिँदैन । सत्य बोल्दा यदि कोही सज्जनको ज्यान जाने अवस्था छ भने या सत्य लुकाउँदा कसैको प्राण जोगिने सम्भावना छ भने त्यतिबेला सत्य लुकाउन सक्नुपर्दछ भन्ने ज्ञान यो मन्त्रले दिएको छ । समग्रमा भन्नुपर्दा समाजका लागि हितकर शब्दहरू मात्रै बोल्नुपर्दछ ।
यो त्यही संसद् हो जहाँ बादलले बोलेभन्दा धेरै कडा शब्दहरू सांसद्हरूले बोल्ने गर्दथे । एकले अर्कोलाई आक्षेप लगाउँदा सामान्य मानिसले पचाउनै नसक्ने आरोपहरू लगाउने गरिएको प्रतिनिधिसभा यही नै हो । ज्यान मारेकोदेखि भ्रष्टाचारमा चुर्लुम्म डुबेकोसम्मका दोषारोपणहरू एउटा सांसदले अर्को सांसदलाई लगाएको सबैले सुनेकै हो । यतिबेला भने कतिपयका लागि पूर्ण सत्य लाग्ने र कतिपयलाई सत्य नै हो तर नबोलेको भए हुन्थ्यो भन्ने महसुस हुने र केहीलाई अपाच्य हुने मन्तव्य व्यक्त गर्दा रामबहादुर थापा आलोचित हुन पुगेका छन् । यसलाई एमाले र बादलले समय चिन्न नसकेको भन्ने ठान्नुपर्दछ नत्र विगतमा यही दलका अध्यक्ष केपी ओलीले बादलको भन्दा दशौं गुणा कडा शब्दहरू व्यक्त गर्ने गरेको देखिएकै थियो ।
यो समयको खेल हो । कुनैबेला जय नेपाल नारा लगाएका आडमा धेरै खाले खराब कामहरूले संरक्षण पाएका थिए । कमरेड लालसलाम भन्नेहरूलाई ठूल्ठूला अपराध गर्न निर्वाध स्वतन्त्रता मिल्ने गर्दथ्यो । ज्यान मुद्दा लागेकै थुप्रै मान्छेहरू सांसद् मन्त्री भएको देखेकै हो । जनता त्यस्तै प्रवृत्तिबाट वाक्क भएका थिए र स्वच्छ संसद्, जनताप्रति उत्तरदायी मन्त्री मण्डल र जवाफदेही सरकारको चाहना बढ्न गई थुप्रैले मत परिवर्तन गरेका थिए । यो संसद् पनि उस्तै देखिने र जय बालेन, जय रवि वा जय घण्टी भनेकै आधारमा सबैखाले अपराधमा छुट मिल्ने अवस्था सिर्जना हुन गयो भने जनताको आक्रोश अझ बढ्न जान्छ । सामाजिक सञ्जालहरूमा देखिने कुविचारहरूले कतै समाज भ्रष्टतातर्फ उन्मुख हुँदै त छैन भन्ने चिन्ता बढाएको छ ।
नेपाली समाज सभ्य हुनु त अनिवार्य नै थियो । नेपालको संसद् सौम्य र भद्र हुनैपर्ने थियो । प्रमाण र तथ्यहरूले पूर्ण भनाइहरू मात्रै संसद्मा घन्किने वातावरण तयार गर्न सबै लाग्नैपर्ने भएको थियो । हावादारी र उडन्ते कुराहरू मात्रै गरेर जनतालाई उल्लु बनाउने थलो संसद् बन्दै गएकोमा सबै चिन्तित हुँदै गएका थिए । त्यसैले सत्यै भए पनि प्रमाणसहित मात्रै बोल्ने बानी सांसद्हरूको बसाल्नै पर्ने थियो तर बादलले अहिले यही चेतना भरिएका कारण बोली सच्याउन परेको चाहिँ होइन । घण्टीका विरुद्धमा कसैले घण्टी बजाउने प्रयास गर्यो भने त्यसका विरुद्धमा खनिने समूह केही समयअघिदेखि तयार रहेका कारण र यसैको डरत्रासमा एमाले पर्दा नै बादल यति धेरै आलोचित हुन पुगेजस्तो लाग्दछ ।
सधैं अवसर प्राप्त गरिरहेको व्यक्ति छोटो समयमात्रै शक्तिभन्दा बाहिर बस्नुपर्यो भने उसलाई छट्पटी हुनु मानवीय स्वभाव नै हो । एकपटक कुर्सी प्राप्त गरेको मान्छेलाई निरन्तर कुर्सीको मोह हुने कुरा विगतका कुर्सीधारीहरूमा कुर्सीविहीन अवस्थामा देखिने परिवर्तनले देखाएकै छन् । छोटै समय भए पनि सत्ता र शक्तिभन्दा पृथक् रहनुपर्दा कुर्सीको स्वाद चाखेका त्यस्ता मान्छेहरूमा चिडचिडाहट, रिस र सन्कीको मात्रा ह्वात्तै बढेर गएको देख्ने गरिएकै छ ।
सानै पदमा स्वाद चाखेकाहरूलाई समेत यतिखेर कांग्रेस छाडेर रास्वपामा गए नियुक्ति पाइन्छ कि, बालेनका दैला वा रविका ढोकातिर दौडिए अवसर पाउँछु कि जस्ता द्विविधाहरूले बेचैन बनाइरहेको पाइन्छ । सामान्य नियुक्ति खाएकाहरूमा त त्यस्तो हुन्छ भने पैँतीस वर्षदेखि निरन्तर सत्तामा रहेका दलहरूमा केही निराशा देखिनुलाई अन्यथा लिनु पनि हुँदैन । नेकपा एमालेका रामबहादुर थापाको संसद्मा व्यक्त गरिएको मन्तव्य समग्रमा यसैबाट प्रभावित हो भन्न नमिले पनि सामयिक हुन भने नसकेकै हो । फलतः एमाले नै एक कदम पछाडि हट्न बाध्य हुनुपर्यो ।
नेकपा एमालेले मात्रै नभई नेपाली कांग्रेस र माओवादी दलका नेताहरूले त अब लामै समय सत्ताबाहिर बस्नुपर्ने निश्चित जस्तै देखिएको छ र यसको असर नेताहरूका भाषणमा देखियो भने नौलो मान्नुपर्दैन तर थापाको मन्तव्यलाई भने यसैमा मात्रै सीमित गरिहाल्न हुन्छ कि हुँदैन भन्ने कुराको निर्णय अहिल्यै गरिहाल्न उपयुक्त भने हुँदैन जस्तो लाग्दछ । अहिले रास्वपा दल, प्रधानमन्त्री बालेन र रास्वपाका सभापति रवि लामिछानेका विरुद्धमा कसैले चुइँक्क बोल्नु हुँदैन । उनीहरूले जे गरे पनि जयजयकारमात्र गरियो भने खैरियत छ नत्र भने बाटोमा निस्कनै मुस्किल पर्नेगरी सामाजिक सञ्जालहरूमा गाली खाइन्छ । बदलिएको परिस्थितिसँग सहमत हुन नसकी विचार व्यक्त गरेकाहरूमध्ये कतिपय त डिप्रेसनको शिकार भइसकेको पनि जानकारीमा आउन थालेको छ । यस परिस्थितिको अन्त्य त निकै जरुरी छ तर मुलुकको परिदृश्य हेर्दा तत्कालै सभ्य लोकतान्त्रिक समाजको बाटो पक्डिएला जस्तो देखिएको छैन ।
असहज परिस्थितिलाई चिर्दै फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा थापाले मात्रै होइन कि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका नेताहरूले सम्बोधन गरे । स्वतन्त्र सांसद्ले समेत आफ्ना धारणा राखे । रास्वपा सत्तारुढ दल नै भयो र अहिले उसको सदनभित्रको शक्तिको कसैले आँकलन गर्नै सक्दैन । रास्वपाका नेताहरूमा अहिले कुन मात्राको उत्साह छ र कत्तिको उन्माद चढेको छ त्यो बाहिर देखाइएको छैन । सभापति रवि लामिछानेले तदनुरूप नै सन्तुलित मन्तव्य व्यक्त गरे र प्रशंसा बटुले । नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेको विचार सर्वत्रबाट प्रशंसित रह्यो । प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीपन उनका प्रस्तुतिमा देखियो भन्ने टिप्पणी राजनीतिक वृत्तमा गरियो ।
मन्तव्यका कारण बादल दोषी होइनन् भन्ने चर्चा चलाइए पनि पार्टीको कमाण्ड सम्हाल्न तयार नेताले जिम्मेवारीबाट पञ्छिन किमार्थ मिल्दैन । माओवादी हिंसात्मक आन्दोलनको रणनीतिक डिजाइनर नै बादल हुन् भन्ने गरिन्थ्यो भने त्यत्रो आन्दोलनको व्यूहरचना रच्नेले अर्काले दिएको पढिदिएको हूँ, अरू मलाई थाहा छैन भनेमा त्यसले बादलकै कद घटाउने काम गर्दछ ।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादल र पहिलेको माओवादी तर अहिलेको नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राखेका धारणाहरू भने विवादित हुन पुगे । वर्षमानको भाषणबाट त रास्वपाले कतै एउटा मन्त्री पद नेकपालाई दिइहाल्छ कि भनेर चिढ्याउन हुन्न भन्ने मान्यता राखेजस्तो देखियो । एमालेका बादलको विचारको प्रस्तुति शैली नमिले जस्तो लागे पनि, उनमा पराजयको पीडा लुकाउन खोज्दा नमिलेर लथालिङ्ग भएजस्तो देखिए पनि उनका भनाइका सबका सब अंश पूर्णरूपेण गलतै हुन् भन्न गाह्रै हुने भए पनि उनको मन्तव्य पार्टीको बैठकबाटै सच्याउनुपर्ने अवस्था आइपर्यो । शायद यस्तै सन्दर्भलाई लिएर होला वेदले न ब्रूयात् सत्यमप्रियम् भनेको ।
समयक्रमले त्यही कुरालाई सत्य देखाइदिन्छ भने समय बदलिँदा त्यही कुरा असत्य हुनपुग्दछ । राजनीतिक दल, नेता र व्यवस्थामा निहित नैतिक बल, दलको संसद्भित्रको शक्ति र सडकको उपस्थिति आदिले मानिसको बोलीलाई छाडा छोड्ने कि लगाम लगाउने भनेर निर्धारण गर्दछ । नेकपा एमाले त्यही पार्टी हो जसका अध्यक्ष केपी ओलीले सत्तामा रहुञ्जेल कति सत्य बोले, कति रुचिकर बोले, कति जनहितका सन्दर्भहरू बोले त्यो सबैलाई थाहा छ तर उनले बोलेका कुरामा कहिल्यै माफी माग्नु परेन र सच्याउनु पनि परेन । अहिले त्यही दलका कार्यवाहक अध्यक्ष र संसदीय दलका नेता भएका रामबहादुरले बोलेका कुरा गलत हुन् कि होइनन्, बोल्न हुने हुन् कि होइनन् सबैका मनमा छ तर समय नमिल्दा समग्र एमाले दल नै लज्जित हुनपुगेको देखिएको छ ।
रामबहादुर आफैंले तयार पारेको भाषण त्यो होइन भन्ने पनि हल्ला चलेको छ । एमालेका पुराना नेताहरूले तयार पारेर दिएको कागज नै बादलले त्यहाँ पढेका हुन् भन्ने सुनिन्छ । यसकारण बादल दोषी होइनन् भन्ने चर्चा चलाइए पनि पार्टीको कमाण्ड सम्हाल्न तयार नेताले जिम्मेवारीबाट पञ्छिन किमार्थ मिल्दैन । माओवादी हिंसात्मक आन्दोलनको रणनीतिक डिजाइनर नै बादल हुन् भन्ने गरिन्थ्यो भने त्यत्रो आन्दोलनको व्यूहरचना रच्नेले अर्काले दिएको पढिदिएको हुँ, अरू मलाई थाहा छैन भनेमा त्यसले बादलकै कद घटाउने काम गर्दछ । त्यसैले होला एमालेको तत्काल बसेको आकस्मिक बैठकले समेत को दोषी भन्ने पत्ता लगाउन खोजेजस्तो देखिएन ।
यसै त एमालेमाथि सर्वत्रबाट आक्रमण भइरहेका बेला यस्तो मन्तव्यले झन् अप्ठ्यारो अवस्था सिर्जना गरेको विश्लेषण गरिन थालेको छ । जनलहर एकातिर बहेको समयमा त्यसको उल्टो दिशामा एमाले बहन खोज्नुले सुनौलो भविष्यको संकेत नगरेको चर्चा पनि चलेको छ । त्यसैले पनि होला एमालेले हतार हतारमा बैठक गरेर माफी नै त मागेन तर उक्त मन्तव्यलाई सच्याएको संकेत दियो । रास्वपाको सरकारलाई बधाई ज्ञापन गर्दै जनताको अभिमतलाई सहर्ष स्वीकार गरेको सन्देशसमेत दियो यद्यपि उक्त मन्तव्यको चर्चा अझै सेलाउन सकेको छैन ।
सरसर्ती हेर्दा बारबरा फाउण्डेशनले आफ्नो ब्यानर बोकेर रास्वपाको पक्षमा मत माग्दै हिँडेको कसैले देखेको थिएन । विदेशी शक्तिहरूले मतदातालाई प्रभावित पार्नका निमित्त लगानी गरेको, डरत्रास देखाएको वा प्रलोभन दिएको पनि पत्तो पाइएन । सेनाले ब्यालेट बक्स ब्यारेकमा लगेर मतपत्र साटेको पनि खुलेयाम भन्नसक्ने अवस्था देखिएन । अमेरिकीहरू आएर मतदाताको हात समातेर घण्टी चिह्नमा मतदान गराएको पनि कसैले भन्न सक्दैन । अन्तर्य र अनुमानका कुराहरूलाई लिएर छरपष्ट पार्दा बादल विवादमा पर्नु स्वाभाविकै हो । प्रामाणिक रूपमा कुनै प्रमाण नभेटिँदासम्म जनमतमाथि दोषारोपण गर्नुले आफैंलाई अप्ठ्यारो पार्नेबाहेक केही हात लाग्दैन ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर