काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको समस्याबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा अध्यक्ष उप्रेतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोबाइल क्षेत्र गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियममा परिवर्तन आवश्यक रहेको र त्यसो भएमा सरकारले प्राप्त गर्ने राजस्व र रोजगारीमा पनि वृद्धि हुने बताउनुभयो । अटोमोबाइल प्रतिनिधिहरूसँगको छलफलका क्रममा राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझाव कार्यान्वयनयोग्य रहेको भन्दै उल्लेखित समस्याका विषयमा आफू जानकारसमेत रहेको बताउनुभयो । अध्यक्ष उप्रेतीले सिकेडी उद्योगले रोजगारीसमेत सिर्जना गर्ने भएकाले त्यसको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगहरूको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नुपर्ने, त्यस्ता उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा छुटको व्यवस्था हुनुपर्ने भन्दै त्यसले देशको रोजगारीमा वृद्धि ल्याउने र राजस्वमार्फत् राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताउनुभयो ।
उहाँले कतिपय अटोमोबाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकाले व्यवसायीहरूले विभिन्न समस्याको सामना गर्नु परिरहेको बताउनुभयो । छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले ‘लोन टु भ्यालु’ अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै उक्त रेसियो बढाउन सके सवारीसाधन बिक्री पनि बढ्ने र रोजगारीमात्र बढ्ने नभई सरकारको राजस्व प्राप्तिमा समेत वृद्धि हुने भएकाले त्यसबाट समग्र अटोमोबाइल व्यवसायको इको सिष्टम बढ्ने भएकाले हाल कायम रहेको ‘लोन टु भ्यालु’ रेसियोलाई पुनर्मूल्यांकनका लागि आग्रहसमेत गर्नुभयो ।
नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल उद्योग विस्तार भएमा राजस्व र रोजगारीमा वृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारीसाधनलाई बिलासिताका वस्तुमा राखी वर्गीकरण गर्दै आएको गुनासो गर्नुभयो । उहाँले भारतमा जिएसटी घटेकाले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले महसुलमा समायोजन गर्नुपर्ने समय आएको भन्दै सरकारले अटोमोबाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रहसमेत गर्नुभएको नाडाले जनाएको छ । त्यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतीय सवारीसाधनको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरू उठेको सन्दर्भमा नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेलसमेतको उपस्थिति रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि