सूर्यलाई आधार मानेर गरिने गणना र तद्आधारमा मान्ने वर्ष मासादि व्यवस्था सौरपद्धतिका हुन् । सौरपद्धतिका आधारमा हाम्रा दैनन्दिनी व्यवहार चलेका छन् । वर्ष, महिना, ऋतु, सङ्क्रान्ति आदि सौरगणनाकै प्रतिफल हुन् । विशेषतः समय गणनमा नौ प्रकारका मान शास्त्रमा व्यवस्था गरिएको छ :
‘ब्राह्मं दिव्यं तथा पिय्यं प्रजापत्यं च गौरवम् ।
सौरञ्च सावनं चान्द्रमार्क्ष्यं मानानि वै नवः ।।’ (सूर्यसिद्धान्त, मानाध्याय, १)
अर्थात् नौ प्रकारका मानमा १) ब्राह्ममान २) दिव्यमान ३) पितृमान ४) प्रजापतिमान ५) गौरवमान ६) सौरमान ७) सावनमान ८) चान्द्रमान ९) नाक्षत्रमान पर्दछन् । ब्रह्माजीको दिन व्यवस्थासँग सम्बन्धित कालको व्यवस्था ब्रह्म मान हो । ब्रह्माको एक दिनबराबर हाम्रा ४३२००००००० सौरवर्ष हुन्छन् । सङ्कल्पमा पनि यही कुराको उच्चारण गरिन्छ । दिव्य भनेका देवता हुन् । देवताको मानलाई दिव्यमान भनिन्छ । हाम्रो एकवर्ष बराबर देवताको एक अहोरात्र हुन्छ । हाम्रो उत्तरायण देवताको दिन र दक्षिणायन देवताको रात हुन्छ । मनुसँग सम्बन्धित प्राजापत्य मान हो । ७१ महायुगको एक मनु प्राजापत्यमान हुन्छ ।
जीव भनेका बृहस्पति हुन् । यसैले बृहस्पतिसम्बद्ध मानलाई जैवमान भनिन्छ । बृहस्पतिले एक राशि भोग गरेको समयलाई संवत्सर भनिन्छ । हरेक वर्षलाई एक संवत्सरले प्रतिनिधित्व गर्दछन् । पितृसँग सम्बन्धित पैय्य मान हो । हाम्रो १ चान्द्रमास पितृको एक अहोरात्र हुने व्यस्था यसअन्तर्गत रहन्छ ।
जीव भनेका बृहस्पति हुन् । यसैले बृहस्पतिसम्बद्ध मानलाई जैवमान भनिन्छ । बृहस्पतिले एक राशि भोग गरेको समयलाई संवत्सर भनिन्छ । हरेक वर्षलाई एक संवत्सरले प्रतिनिधित्व गर्दछन् । पितृसँग सम्बन्धित पैत्र्य मान हो । हाम्रो १ चान्द्रमास पितृको एक अहोरात्र हुने व्यस्था यसअन्तर्गत रहन्छ । नक्षत्रसँग सम्बन्धित वा २७ नक्षत्र बराबर एक नाक्षत्रमास हुने नाक्षत्र मान हो । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको समय एक सावन दिन हो । ३६५.२५ सावनदिन बराबर एक सौरवर्ष हुन्छ । सावन दिन दैनिक व्यवहारका निम्ति उपयोग गरिन्छ ।
नौ मानमध्ये सौरमान एक विशेष हो । जसका आधारबाट हाम्रा कल्पीय गणना हुने गर्दछन् । सूर्यले १ अंश पार गर्दा १ दिन, ३० अंश पार गर्दा एक महिना र ३६० अंश पार गर्दा १ वर्ष हुने सौरमान हो ।
‘सौरेण द्युनिशोर्मानं षडशीतिमुखानि च ।
अयनं विषुवच्चैवं सङ्क्रान्तेः पुण्यकालता ।।’
(सूर्यसिद्धान्त, मानाध्या, ३) दिनरात्रिको मान, षडशीतिमुख सङ्क्रान्तिको मान, अयन (उत्तरायण र दक्षिणायन), विषुव (सौम्यगोल र याम्यगोल)तथा सङ्क्रान्तिको पुण्यकाल सौरमानबाट जान्नुपर्दछ भनी सूर्यसिद्धान्तमा बताइएको छ ।
यसरी हाम्रो दैनन्दिनी जीवनमा वर्षादि गणना गर्न यही सौरपद्धतिको मान नै व्यवहारिक हुनेभएकाले हाम्रा ऋषि महर्षिले वर्षगणनामा यसलाई विशेष महत्त्व दिएका छन् । हामीले गन्ने वर्ष सौर पद्धतिका हुन् । एक कल्पमा सूर्यले ३६० अंश वा १२ राशिको जति फन्का लगाउछन् त्यो सूर्यको भगण हो । यसैले पूर्णाङ्क (४+३+२ं+०+०+०+०+०+०+०=९) भ्रमणमा हाम्रा गणना चलेका छन् । यसैले सूर्यले एक कल्पमा ४३२००००००० चार अर्ब बत्तीस करोड पटक फन्का मार्छन् वा यति सौरवर्ष हुन्छ ।
यिनै सौरवर्षमा मनु, महायुग, युग, वर्ष, अयन, ऋतु निर्धारित छन् । किनकि चन्द्र, बुध, शुक्रबाट यो गणना गर्न पद्धतिलाई मिलाउन निकै अप्ठ्यारो पर्छ । सावनदिनसँग पनि तादात्म्य मिलाउनुपर्नेहुन्छ । ३५४ दिनमा नै एक चान्द्रवर्ष सकिन्छ । यसैले चन्द्रमाका आधारमा वर्ष गणना व्यवहारिक हुँदैन । यसैगरी तिथिको पनि निश्चित काल क्रम हुँदैन । चाडपर्वको निर्धारणमा चान्द्रमान उपयुक्त भए पनि वर्षगणनामा सौरमानलाई नै उपयुक्त मानिएको छ र यो वैज्ञानिक पनि छ ।
आजको ईशवीय काल गणनमा महिनालाई निश्चित गरिएको छ । हरेक चारवर्षमा एक दिन मिलान गरिन्छ । यो स्थिर पद्धति भयो । हाम्रोमा पनि हरेक चौथो वर्ष ३६६ दिनको हुन्छ । गणना पद्धतिमा यसलाई स्वतः मिलान गरिएको हुन्छ । यसैले सौरगणनबाट गरिने र मनाइने हाम्रा व्यवस्था चल र वैज्ञानिक पनि छन् । यसैले हाम्रा महिनामा ३२ दिन पनि हुनसक्छ । यस्तो स्थिति जेठ, असार श्रावणमा अधिक पर्नसक्छ । यसमा निश्चित भने गर्न सकिँदैन । प्रत्यक्ष गणना गरेर नै हेर्नुपर्ने हुन्छ । हम्रोमा सौरगणनाद्वारा नै महिना निर्धारित हुन्छन् । सूर्यले तीस अंश जति दिनमा पार गर्दछन् सोही आधारमा एक सौर महिनको निर्धारण हुने गर्दछ । हामीले मान्ने गते पनि यही आधारमा तय भएका हुन्छन् । दिन भने सूर्योदयलाई आधार मानिन्छ ।
हरेक दिनसूर्योदयकालिक सूर्यादि स्पष्ट साधन गरिन्छ । यसरी साधन गरिएको सूर्यको आधारमा राशि परिवर्तनको समय हेरिन्छ । जब सूर्यले एक राशि पार गरेर अर्को राशिमा जान्छन् त्यही दिन सङ्क्रान्ति हुन्छ । दिन सूर्योदयदेखि अर्को सूर्योदयसम्मको हुन्छ । राय्यर्धमा दिनमान जोड्दा मिश्रमान हुन्छ । यो मध्य रात्रिको समय हो । राति १२ बजे र मिश्रमानकालिक समयमा केही अन्तर रहन्छ । यसरी जुन सङ्क्रान्ति मिश्रमानभित्र हुन्छ त्यो अघिल्लो दिन गनिन्छ । जस्तो कि आज राति मिश्रमानकाल पूर्वसूर्य सङ्क्रान्ति भयो भने आजकै दिन सङ्क्रान्ति निर्धारण हुन्छ ।
सौरमासमा अधिक मास जोडेपछि चान्द्रमास हुन्छन् । चान्द्रमासलाई दिनमा बदलेर क्षयदिन तय गरिन्छ । यसरी चान्द्रदिनमा क्षयदिन घटाएपछि हामीलाई चाहिएको अहर्गण वा कल्पदेखि हालसम्मका सूर्योदयको सङ्ख्या पत्ता लाग्छ । जसबाट हामीलाई चाहिएका दिनका सूर्यादि ग्रह सपष्ट गर्न सकिन्छ । कल्पदेखि वर्तमानसम्म जोड्ने दिनगणक सूत्र अहर्गण हो । जसलाई जान्न पनि सर्वप्रथम सौर गणना नै चाहिन्छ ।
यदि मिश्रमान काल काटेर सङ्क्रान्ति हुन्छ भने त्यो भोलिपल्ट सङ्क्रान्ति वा १ गते मानिन्छ । अयन सङ्क्रान्तिमा भने केही भिन्न व्यवस्था छन् । माघेसङ्क्रान्ति दिनमानभित्र सङ्क्रमण भए त्यही दिन नभए भोलिपल्ट सङ्क्रान्ति हुन्छ । साउने सङ्क्रान्ति अहोरात्रव्यापिनी वा भोलिपल्टको सूर्योदय हुनुपूर्वसम्म पहिलो दिन वा आजै पुण्यकाल वा १ गते मान्ने व्यवस्था रहेको छ ।
‘पूर्णे निशीथे यदि सङ्क्रमः स्याद्दिनद्वयं पुण्यमथोदयास्तात् ।
पूर्वं परस्ताद्यदि याम्यसौम्यायने दिने पूर्वपरे तु पुण्ये ।। (मुहूर्तचिन्तामणि, ३।६)
अर्थात् यदि ठीक मध्यरातको समयका सङ्क्रान्ति भयो भने (अर्थात् राशिसन्धिबिन्दु, ग्रहबिम्बको केन्द्रबिन्दु याम्योत्तर रेखामा मध्यावस्थमा भएको वेला) पूर्वापर दुवै दिन पुण्यकाल मानिन्छन् । यदि सूर्योदयभन्दा पहिले याम्यायन (कर्क) सङ्क्रान्ति परेको छ भने पूर्वदिनको उत्तरार्द्धमा पुण्यकाल हुन्छ । यसैगरी सूर्यास्तपछि सौम्यायन (मकर सङ्क्रान्ति) लाग्यो भने दोस्रो दिनको पूर्वार्धमा सङ्क्रान्तिको पुण्यकाल हुन्छ । यी सबै व्यवस्था सूर्यको सङ्क्रान्तिकै आधारमा निर्धारण भएका छन् ।
यसैगरी सङ्क्रान्ति निर्धारणका पछाडि पुण्यकालले पनि भूमिका खेलेको हुन्छ । स्नान, दान, जपादि कर्मका लागि सङ्क्रान्तिको पुण्यकाल महत्त्वपूर्णहुन्छ । पूर्वेद्युपुण्यकाले भनेको पहिलो दिन पुण्यकाल रहने भनेको हो भने परेद्युपुण्यकाल भने परदिन स्नान दानका लागि उत्तम भनिएको हो । यसरी गणनाका निम्ति पनि सौर पद्धति आवश्यकहुन्छ । यही सङ्क्रान्तिका आधारमा मासफल, वर्षफल निर्धारण हुने गर्दछन् । वर्षको मन्त्री निर्धारण हुने गर्दछ । यही आधारमा गोचरीय फलादेश पनि हुन्छन् । हामी हाम्रो उमेरको पनि निर्धारण गर्दछौँ । यसैले सौरपद्धति हाम्रो दैनन्दिनी जीवन व्यवहारको महत्त्वपूर्ण अङ्ग हो । समय व्यवस्थानपनको केन्द्रीय भूमिकामा सौरगणना पद्धति विद्यमान छ । जो चल र सूक्ष्म पनि हो । यसका साथै हाम्रा धार्मिक कार्यका निम्ति पनि उपयुक्त समयको निर्धारण यही सौरपद्धतिका आधारबाट हुन्छ ।
यसको गणनमा सर्वप्रथम सावन दिन वा हालसम्मकतिसूर्योदय व्यतीत भए भनी अहर्गण निकाल्नुपर्ने हुन्छ । यसरी अहर्गण निकाल्न पनि सुरुमा गत सौरवर्षबाट महिनमा बनाइन्छ, सौरमहिनाका आधारमा अधिकमास निकालिन्छ । सौरमासमा अधिक मास जोडेपछि चान्द्रमास हुन्छन् । चान्द्रमासलाई दिनमा बदलेर क्षयदिन तय गरिन्छ । यसरी चान्द्रदिनमा क्षयदिन घटाएपछि हामीलाई चाहिएको अहर्गण वा कल्पदेखि हालसम्मका सूर्योदयको सङ्ख्या पत्ता लाग्छ । जसबाट हामीलाई चाहिएका दिनका सूर्यादि ग्रह सपष्ट गर्न सकिन्छ । कल्पदेखि वर्तमानसम्म जोड्ने दिनगणक सूत्र अहर्गण हो । जसलाई जान्न पनि सर्वप्रथम सौर गणना नै चाहिन्छ । यसैले पनि सौर गणना हाम्रा लागि अपरिहार्य बनेको छ । यी समय गणनका पद्धति हाम्रा इतिहास, वर्तमान र भविष्य हुन् । यसैले सौर पद्धिति हाम्रो समय गणनको मेरुदण्ड हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि