मनोरम ऋषिकेशको पावनभूमि छाडी हामी हरिद्वारतिर लाग्यौँ । कतिलाई यो उल्टो यात्रा लाग्नसक्छ । नलागोस् पनि किन ? जोकोही हरिद्वार घुमेर ऋषिकेश जान्छन् । हामी चाहिँ नैनितालबाट सोझै देहरादुन पुगी आएको हुनाले पहिले ऋषिकेश नै गन्तव्य बनेको हो । परमार्थ निकेतन, ऋषिकेशमा रहँदा पूर्वी चम्पारनका मिश्राजीसित चिनजान भयो । हरिद्वारमा पनि परमार्थ आश्रममै बस्ने कुरो बतायौँ । उनलाई उतै जानुरहेछ, आफूसितै गाडीमा जान आग्रह गरे । नमान्ने कुरै भएन । भागीरथी गङ्गा वारिवारि वीरभद्र पुगियो । ‘५० वर्षअघि यो सडक थिएन । पुरानो ऋषिकेश मार्गबाट हरिद्वार आउजाउ हुन्थ्यो । रेलमा गए वीरभद्र, रायवाला, मोतीचूर हुँदै एकघण्टामा हरिद्वार पुगिन्थ्यो । ‘रायवाला’ आइपुग्यो । उहिले बाक्लै नेपालीबस्ती थियो, त्यसको उदाहरण ‘नेपाली फार्म’ अकासेपुलले जनायो ।
लुइँलुइँ छिरेको देख्दा सोधखोज हुनथाल्यो । नेपाली नै हुनुहुँदोरहेछ । ‘कुनैताका आफूले पनि केही समय यहाँ बिताएको’ भनेको मात्र थिएँ, ‘यहाँ को पो बसेन र !’ तात्तातो जवाफ आइहाल्यो । भूमिगत कालमा केपी ओली, वामदेव आदि नेता यहीँ बसेका रहेछन् । ‘यो कम्युनिष्टको मुख्य थलो’ बनेको जानकारी पाइयो ।
‘हरिपुर’ मा मिश्राजीले घर बनाएका रहेछन् । यहाँ रामलीला हेर्न आउँथ्यौँ । त्यतिखेर हरिद्वारमा अनेक ठाउँमा रामलीला हुन्थे । कहिले हर कि पौडीपारि, कहिले भीमगोडा नजिकै त कहिले कोतवाली अगाडि रामलीला हेर्न पुगिन्थ्यो । उतिखेर सिनेमा हेरेको मन नपराउने समाजमा रामलीला हेर्न चाहिँ जुनसुकै बेला गए, आए हुन्थ्यो । मिश्राजीले परमार्थ आश्रममै पुर्याइदिए । धन्यवाद दिँदै भित्र पस्यौँ । प्रवेशद्वारदेखि उहिलेको रङ, ढङ खुइलिएको देखियो । २०३५/३६ सालताका यही ठाउँमा आफूले तीनवर्ष विद्यार्थीजीवन बिताएको हो । त्यसपछि अन्यत्र सरियो । उतिबेला, ऋषिकेशको परमार्थ निकेतनमा यहाँको जस्तो रौनक थिएन । अहिले सबै रौनक उतै सरेछ । बेलाबेलाको कुरा भनिएको यही होला !
परमार्थ आश्रम यतिखेर झोक्राए जस्तो लाग्यो । उहिले आफू बसेका कोठा, चोटा चाहारी बाँधपारि ‘गङ्गा’ पुगियो । सप्तधारा नियाल्ने प्रयास गरियो । सप्तधारा नजिकै सप्तऋषि (कश्यप, वशिष्ठ, अत्रि, विश्वामित्र, जमदग्नि, भारद्वाज र गौतम)ले तपस्या गरेका हुनाले सप्तसरोवर कहलाएको स्मरण गरियो । भ्यागुते पौडी खेलेर पारिको वनमा गई दिनभरि पढाइलेखाइमा बिताइन्थ्यो । भोक लाग्दा त्यहाँका जामुन, बयर र किम्बुले गरेको सहयोग झलझली सम्झना ।
सप्तऋषि आश्रम पुगियो । बुद्धिवल्लभ गुरुको स्मरण गर्दै गायत्री तपोभूमि- शान्तिनिकुञ्ज आई पं.श्रीराम शर्मा आचार्यको योगदानलाई नमन गरियो । स्वामी सत्यमित्रानन्द गिरिद्वारा संस्थापित आठतले ‘भारत माता मन्दिर’ भई ऋषिकुञ्ज पुगियो । यहाँ दामोदर भारद्वाज (निरौला)गुरु सपरिवार बस्नुहुन्थ्यो । आफूले केही वर्ष यहाँ बिताएको हो । साँधकै ‘गायत्री भवन’ नपुग्ने कुरै भएन । केही काल यहाँ बिताइएको थियो । स्वादिलो ‘चिकु’को बोट मलाई पर्खिरहेको रहेछ । छेवैको घरमाथि कोठा देख्नासाथ आँखा चम्किइहाले । उतापट्टि चाहिँ दामोदर गुरुका साढुभाइ, साली, सासू बस्थे ।
लुइँलुइँ छिरेको देख्दा सोधखोज हुनथाल्यो । नेपाली नै हुनुहुँदोरहेछ । ‘कुनैताका आफूले पनि केही समय यहाँ बिताएको’ भनेको मात्र थिएँ, ‘यहाँ को पो बसेन र !’ तात्तातो जवाफ आइहाल्यो । भूमिगत कालमा केपी ओली, वामदेव आदि नेता यहीँ बसेका रहेछन् । ‘यो कम्युनिष्टको मुख्य थलो’ बनेको जानकारी पाइयो । ‘गरिबदासी आश्रम’ चाहिँ काङ्ग्रेसको अखडा रे ! ‘हरेः हरिद्वारमा नेपाली दाजुभाइ उही नेपालकै जस्तो एक, अर्कालाई सत्तोसराप गर्ने पो भएका रहेछन्’ भन्ने लाग्यो । धन्न, आफू नेपालीबीच सद्भाव कायमै रहेका बखत हरिद्वार बसिएको रहेछ ! उतिखेर नेपाली छात्र संघ त थियो तर वैचारिक लडाइँ थिएन ।
२०१८ सालमा स्थापित संघले विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्थ्यो । २०३२ पुस ११ गते ‘शंकराचार्याश्रम शिवपुर, कनखल’मा संघले साहित्य गोष्ठी आयोजना गर्दा प्रवेशिका तथा प्रथमातर्फ प्रथम आएबापत यो बबुरालाई प्रथम पारितोषिक प्राप्त भएको हो । पारितोषिकमा अध्यक्ष तारापति शास्त्री र सा.मन्त्री शङ्करप्रसाद पौड्यालको सहीछाप अविस्मरणीय बनेको छ । जीवनको पहिलो पुरस्कार हात पर्दा बबुरोको उमेर १३ वर्ष थियो । अग्रज दाजुहरूले सिकाए बमोजिम कण्ठस्थ गरिएको कुरो भट्याइएको न हो, त्यसबखत खुट्टा कामे पनि हिम्मत चाहिँ हारिएन है !
संघले वर्षेनी ‘सगरमाथा’ पत्रिका निकाल्थ्यो । २०३३ सालको पत्रिका हुनुपर्छ, ‘मेरो गाउँ’ शीर्षकमा आफ्नो पहिलो कविता छापिँदाको खुशी बेग्लै छ । २०३४ सालमा ‘देश रक्षा’ शीर्षकीय कविता प्रकाशन भयो । काव्यविधामा कनिकुथी सही आफूलाई चञ्चुप्रवेश गराउने ‘सगरमाथा’ पत्रिकालाई कसरी बिर्सनु ! विद्यार्थीसित एक-दुई, पाँच जति हुन्छ, रकम सङ्कलन गरेर सालैपिच्छे वनभोज गरिन्थ्यो । बिल्वकेश्वरको वनमा चिया, पकौडी खाँदै गफिएको झलक स्मृतिपटलबाट अझै ओझेल भएको छैन । वनभोज त नाममात्र न हो, आत्मीयता साटासाट गर्नुको मूल्य कसले आँक्नसक्नु ! अहिले त्यस्तो कुनै संघ अस्तित्वमा रहेनछ । नेपाली विद्यार्थी पनि धेरै कम रहेछन् । हरिद्वार पढ्न जानुसट्टा खाडीमुलुक जानु श्रेयष्कर ठान्ने प्रवृत्ति बढेकाले यता नदेखिएका हुन् रे !
म र मेरी अर्द्धाङ्गिनी २०८२ कात्तिक २५ गते सप्तसरोवर मार्गमा लुखुरलुखुर हिँड्दै ‘पञ्चवटी’ पुग्यौँ । यहाँ साथी नारायण ढकाल र मुकुन्द बस्थे । ‘गब्बर’ (कुकुर)को डर मलाई असाध्य लाग्थ्यो । साथीहरूले नसमातेसम्म छिर्ने आँट कहिल्यै गरिएन । ब्रह्मनिवास टाढैबाट देखियो, ‘तोताद्रि’ यहीँ बस्नुहुन्थ्यो, मुम्बई त पछि जानुभएको हो । साधुबेला आदि हुँदै अघि बढियो । निरञ्जन आश्रम आयो, यहाँ लक्ष्मीनारायणाचार्य बस्थे । अहिले त सडक किनारमा जग्गै खाली रहेनछ । ठूलाठूला मठमन्दिर बनेका रहेछन् । मुखियागल्ली तेर्सिनुअघि अकाशेपुल बनेछ । पावनधाम पुगी साथी गिरीशवल्लभ पुनेठाको सोधखोज गर्दा दिल्ली भासिएको थाहा पाइयो । मेरी उनलाई केही वर्ष आफूले बिताएको कोठा देखाउँदै अतीतको स्मृतिमा डुब्न खोजियो ।
यतिखेर पावनधाम, परमार्थ आश्रमकै अधीनमा रहेछ । ‘सिसमहल’ कहलिएको पावनधामको आकर्षण थोरै बाँकी रहेछ । खडखडीस्थित जगदीश आश्रम पुगी पुरानो ऋषिकेश मार्ग हुँदै ‘चेतन ज्योति’ विद्यालय आइयो । आफू पढेका विद्यालय टेक्ने अभिप्रायले अघि बढ्दा उहिलेको ‘रामानुज’ भेट्नै गाह्रो भो । मुकिम भवनलाई विशाल भवनले निलिसकेछ । रामानुज विद्यालय अगाडि कर उठाउने तगारो थियो, नजिकै भलिबल खेलिन्थ्यो । भोक लागे पर्खाल नाघी वनमा अघाउन्जेल बयर खाइन्थ्यो, मयुरको निःशुल्क नाच हेरिन्थ्यो । ‘भलिबल गेम’ ‘हस्तकन्दुक प्रतियोगिता’का नाममा आयोजना हुन्थ्यो । ‘कबड्डी’ को चलन पनि कम थिएन । विद्यालयमा खेलाडीको बेग्लै शान र मान हुन्थ्यो, छात्रवृत्ति अलिक बेसी पाइन्थ्यो । तीनवर्षे, पाँचवर्षे शिल्डका लागि मरिहत्ते नै हुन्थ्यो ।
‘रामायण सत्संग भवन’को चमक, दमक सबै गुम भएछ । नुवाकोटका नारायणप्रसाद रिमालले आफूलाई पहिले यहाँ ल्याउनुभएको हो । आत्मीय रघुनाथ दाइसित यहीँ भेट भयो । तीन महिना नबित्दै मुकिम भवन सरियो । ठाउँ फेर्दै बस्ने र विद्यार्थी नभएका ठाउँमा विद्यार्थी तान्ने उतिबेलाको प्रचलन जो थियो । खोज्दै जाँदा ‘रामानुज विद्यालय’ त भेटियो तर तन्नम अवस्थामा ! माध्यमिक शिक्षामात्रै रहेछ, यतिखेर । ऊ बेला प्रवेशिका (कक्षा सात) पहिलो तह हुन्थ्यो, त्यसपछि प्रथमा (कक्षा आठ)देखि विश्वविद्यालयमा आबद्ध होइन्थ्यो, योभन्दा कतिलाई आश्चर्य लाग्नसक्छ ।
उतिबेला गङ्गा, रतन, चित्रा, अशोका, केशव आदि सिनेमाघरको खुब जगजगी थियो । रतन टाकिज त बेपत्तै भएछ । लुकीलुकी सिनेमा हेर्नजानेमा यो बबुरो कम्ताको थिएन । एक रुपैयाँ दिँदा चकलेटसहित ‘फर्स्टक्लास’को टिकट आउँथ्यो, नेपालमा जस्तो थर्डक्लास, सेकेण्ड क्लास थिएन ।
भोलिपल्ट ‘गरिबदासी सेवाश्रम’ गयौँ । विभिन्न विषयमा आचार्य गरी थप पढ्न उत्सुक हेलम्बुका भाइ शेखर नेपालसित परिचय भयो । भनेजस्तो कोठा पाइयो । अनि, ‘हर की पौडी’ गई ब्रह्मकुण्डमा स्नान गरियो । ‘हर की पौडी’ कि ‘हरि की पौडी’ मगज खियाउने प्रश्न हो यो । हरिद्वार पनि ‘हरिद्वार’ कि ‘हरद्वार’ आफूखुशी प्रयोग चलेकै छ । उत्तराखण्डका चारधाम : बद्रीनाथ, केदारनाथ, गङ्गोत्री, यमुनोत्रीमध्ये केदारनाथ जाने अर्थमा यो ‘हरद्वार’ हो र बद्रीनाथ जानेका लागि ‘हरिद्वार’ ! हर की पौडी (पैडी)ले पनि हरि (विष्णु) वा हर (शिव)का चरण वा सिढी जनाउने रहेछ । पूर्ण वा अर्द्धकुम्भ लाग्दा ब्रह्मकुण्डमा अमृतका थोपा झर्ने विश्वास गरिँदोरहेछ । हामीले पनि ब्रह्मकुण्डमा स्नान गर्यौँ, घण्टाघर भएतिर डुल्न गयौँ ।
वल्लो चुरेडाँडा (बिल्वपर्वत) मा मनसादेवी र पल्लो डाँडा (नीलपर्वत) मा चण्डीदेवीको मन्दिर रहेछ । मनसादेवी पैदलै गइयो, चण्डीदेवी उक्लन उडन खटोला (केबलकार)को सहारा लिइयो । अयोध्या, मथुरा, काशी, काञ्ची, अवन्तिका र द्वारिकाझैँ हरिद्वारलाई पनि मोक्षदायी स्थान मानिएको रहेछ । मायादेवीको शक्तिपीठ यहाँ रहेकाले उहिले हरिद्वारलाई मायापुरी भनिन्थ्यो रे ! फर्कंदा बिल्वकेश्वर महादेव मन्दिर पुगियो, नजिकै गौरीकुण्ड रहेछ । वरिपरिका जङ्गलले वातावरण सुरम्य बनाएको पाइयो । यसपछि, अटोरिक्सा चढेर ‘भीमगोडा’ पुगियो । कुण्डको जल मार्जन गरी मोतीबजार हुँदै बडाबजार आइयो र कान्जीबडा तथा जलेबीले जिब्रो चट्कारियो ।
उतिबेला गङ्गा, रतन, चित्रा, अशोका, केशव आदि सिनेमाघरको खुब जगजगी थियो । रतन टाकिज त बेपत्तै भएछ । लुकीलुकी सिनेमा हेर्नजानेमा यो बबुरो कम्ताको थिएन । एक रुपियाँ दिँदा चकलेटसहित ‘फर्स्टक्लास’को टिकट आउँथ्यो, नेपालमा जस्तो थर्डक्लास, सेकेण्ड क्लास थिएन । तेस्रो दिन, कुशाघाट हुँदै ‘हर की पौडी’ गई पुनः स्नान गरियो । कुशाघाटमा श्राद्ध गर्नेहरूको सधैँ घुइँचो लाग्नेरहेछ । दत्तात्रेयले एकखुट्टामा उभिई तपस्या गरेको थलो रहेछ यो । अटोरिक्सा लिएर ‘दक्षेश्वर महादेव’ गइयो । सतीदेवीले यज्ञकुण्डमा हाम फालेको ठाउँ, वीरभद्रले शिवद्रोही दक्ष प्रजापतिका टाउको यहीँ छिनालेका रहेछन् ।
पछि, शिवले बोकाको टाउको जडिदिएको पौराणिक कथा त सबैलाई थाहै छ । कनखलका विभिन्न ठाउँ भई मूलमार्गमा आइयो । उहिले गुरुकुल काँगडीको चर्चा हुन्थ्यो, अहिले ‘रामदेव-बालकृष्ण’ कृत ‘पतञ्जलि’को चमकदमक देखियो । साँझ हर की पौडी गई ‘गङ्गा आरति’ हेर्न चुकिएन । अरू त राम्रै हो तर आरतिका लागि पैसा मागेरै हत्तु बनाउँदारहेछन् ! हरिद्वारलाई हिजो र आजको आँखाले हेर्दा अध्यात्मको स्थान व्यापारले अँचेट्दै गएको अनुभूति गरियो । भोलि मथुरा जाने भइएकाले बेलैमा बासस्थानतिर लम्कियौँ ।







नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको
रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन
जेन-जी आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ