काठमाडौं । नयाँ सरकार बनेको दुई सातामा थप दुई मन्त्री नियुक्त भएका छन् । बिहीबार एक मन्त्रीलाई हटाउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार दुई मन्त्री नियुक्त गर्नुभएको हो । उहाँको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गर्नुभएको हो । नियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उहाँहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गौरी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट निर्वाचित हुनुभएको हो । रामजी जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हराएर सांसद बन्नुभएको हो । यसअघि उद्योग मन्त्रालय सुरुदेखि नै प्रधानमन्त्री बालेनले आफैँसँग राख्नुभएको थियो । यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आउनुभएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको थियो । उहाँमाथि श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराउन भूमिका खेलेको आरोप लागेको थियो । रास्वपाको केन्द्रीय अनुशासन आयोगले गरेको छानविनमा मन्त्री साहले श्रीमतीलाई बोर्डमा संलग्न गराएर पार्टीको छवि र मर्यादामा आँच पुर्याएको निष्कर्ष निकालेपछि सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष उहाँलाई फिर्ता बोलाउन सिफारिश गर्नुभएको थियो । यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराइएको थियो । गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराउनुभएको हो ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागि गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका छन्, जसले ३७.५ प्रतिशत (झण्डै ४० प्रतिशत) महिला प्रतिनिधित्व कायम गरेको छ ।
नौ वर्ष रुस बसेर फर्केकी गौरीको काँधमा उद्योग मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त हुनुभएकी गौरीकुमारी यादव महोत्तरीमा जन्मिनुभएको हो । स्थानीय परिवेशमै हुर्केर बढ्नुभएकी उहाँ आफ्नो क्षेत्रको सामाजिक संरचना, भौगोलिक अवस्था र जनजीवनसँग नजिकबाट परिचित हुनुहुन्छ । शिक्षा र सामाजिक चेतनालाई उहाँले आफ्नो सार्वजनिक जीवनको आधार बनाउँदै आउनुभएको छ । शैक्षिक रूपमा उहाँले विज्ञान संकायमा प्रमाण-पत्र तहसम्म अध्ययन गर्नुभएको छ । उहाँ मधेसवादी राजनीतिक पुष्ठिभूमि रहेका डा. शिवजी यादवकी पत्नी हो । डाक्टरी पढाउने सर्तमा महोत्तरीकै यादवसँग उहाँको विवाह भएको थियो । विवाहपछि उहाँ श्रीमानसँग रुस पुग्नुभयो । त्यहाँ उहाँले रुसी भाषा सिक्नुभयो र चिकित्सा शास्त्र अध्ययन सुरु पनि गर्नुभयो । तर, पारिवारिक जिम्मेवारी र सन्तान पालनपोषणका कारण अध्ययन बीचमै रोकिन पुगेको आत्मकथामा उल्लेख छ । करिब नौ वर्ष विदेश बसाइपछि नेपाल फर्किनुभएकी गौरीले जीवनको अर्को अध्याय सुरु गर्नुभयो । उहाँका श्रीमान जनता समाजवादी पार्टीसँग आबद्ध राजनीतिज्ञ बनेपछि उहाँले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको हो ।
चुनावमा सिके राउतलाई हराउने रामजी श्रम मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त रामजी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत र मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह लगायतलाई पराजित गरेर संसदीय राजनीतिमा उदाउनुभएको हो । राजविराज नगरपालिका–९ विहारपुरका ३० वर्षीय रामजी २०७३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय हुनुभएको थियो । पेसाले इञ्जिनियरसमेत रहनुभएका उहाँ पछिल्लो जेन-जी आन्दोलनपछि रास्वपाबाट उम्मेदवार भएर प्रतिनिधिसभा सदस्यमा लड्नुभएको थियो ।
उहाँले मधेससँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताउनुभयो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने बताउनुभयो । ‘पार्टीले जिम्मेवारी दिएको छ । अब हामीले देश बनाउनका लागि जे जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेछ, त्यो गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘हामी एउटा राम्रो सेट गर्छौं । काम कसरी हुन्छ भनेर डिफाइन पनि गर्छौं । जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । चुनौती र अवसर दुवै छ । अब मधेससँगै सिंगो देश नै बनाउनुपर्ने छ । प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहनेछ ।’
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उहाँले आफूहरू ‘जेन-जी’हरूको बलिदानबाट आएको भन्दै त्यसलाई स्मरणमा राख्न निर्देशन दिनुभयो । ‘आफन्त र साथीभाइलाई नियुक्ति गर्न नलाग्नू । जेन-जी भाइ बहिनीको बलिदानले हामी यहाँ आइपुगेका छौँ’, बैठकमा सभापति लामिछानेले भन्नुभयो । दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री बालेन पनि सहभागी हुनुभएको थियो । संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बन्नुभएकी रुबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको थियो ।
सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन
रास्वपाले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबारमा भिड गर्न नजान निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले नेताहरूलाई यस्तो निर्देशन दिएको प्रवक्ता मनिष झाले बताउनुभयो । ‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा कार्यकर्ता, पार्टीका तर्फबाट रहेका केन्द्रीय सदस्य र सांसदको उपस्थिति भिडभाड नगर्नु भन्ने निर्देशन छ’, उहाँले भन्नुभयो । बैठकले एकजना केन्द्रीय सदस्य र एकजना सांसद हरेक दिन जनसम्पर्कको लागि केन्द्रीय कार्यालय उपस्थित हुने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि