काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ । न्युयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (पूर्वट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत् खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बन्नुभएको छ । बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिशा खम्बूलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।
उहाँको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बूका माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा एक हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ । २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा छ । उसले ७० देशमा दुई लाख चेस सेट वितरण गरिसकेको बताएको छ ।
खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हइएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आर्बिटर (आइए) हुनुहुन्छ । १४ वर्षको छँदै एसियन गेम्स (सन् २००६ दोहा) मा देशको प्रतिनिधित्व गर्नुभएकी उहाँले एसियन गेम्स दुईपल्ट, इण्डोर एसियन गेम्स तीनपल्ट, चेस ओलम्पियाड तीनपल्ट खेल्नुभएको छ ।
उहाँ चेस ओलम्पियाड (सन् २०२२ चेन्नई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । नेपाल चेस महासंघमा उपमहासचिव रहनुभएकी उहाँ विश्व चेस महासंघको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुनुहुन्छ ।
उहाँले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता दुई सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसक्नुभएको छ । एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ ।
दुई वर्षभित्रै क्लासिकल, र्यापिड, ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि