किएभ । चार वर्षदेखि जारी भीषण द्वन्द्वबीच अर्थोडक्स इष्टरको अवसर पारेर रूस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुनेभएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
क्रेमलिनले जारी गरेको निर्देशन अनुसार शनिबार साँझ ४ बजे (१३०० जिएमटी) देखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागू हुनेछ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको कुरा पटक-पटक व्यक्त गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले रूसको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिन इच्छुक रहेको बताउनुभयो ।
यद्यपि, यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्वछलफल नगरेको स्पष्ट पार्दै यो कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गर्नुभयो ।
यसैबीच, युद्धविराम लागू हुनुअघि पनि हिंसात्मक घटना रोकिएका छैनन् । युक्रेनको पोल्टावा र सुमी क्षेत्रमा शुक्रबार राति भएका छुट्टाछुट्टै आक्रमणमा एकजनाको ज्यान गएको र करिब १५ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनी वायु सेनाका अनुसार रूसले बिहीबार रातिमात्रै १२८ वटा ड्रोन प्रहार गरेको थियो ।
अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ताहरूले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेका छैनन् । मस्कोले क्षेत्रीय तथा राजनीतिक छुटहरूको माग गरिरहेको छ, जसलाई युक्रेनले आत्मसमर्पणसरह ठानेर अस्वीकार गर्दै आएको छ । त्यसमाथि, अमेरिकाको ध्यान पछिल्लो समय मध्यपूर्वतर्फ केन्द्रित भएकाले पनि वार्ता थप जटिल बनेको छ ।
युद्धले अहिलेसम्म लाखौं मानिसको ज्यान लिइसकेको छ भने करोडौं विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक द्वन्द्वका रूपमा यसलाई लिइन्छ । मोर्चामा पछिल्ला वर्षहरूमा लडाइँ केही हदसम्म स्थिर भए पनि रूसले सानो-सानो क्षेत्रीय उपलब्धि महँगो मूल्य चुकाएर हासिल गरिरहेको छ ।
तर, सन् २०२५ को अन्त्यदेखि रूसको प्रगति सुस्त बन्दै गएको विश्लेषणहरू सार्वजनिक भएका छन् । युक्रेनले दक्षिणपूर्वी क्षेत्रमा केही प्रतिआक्रमण गर्दै रूसलाई पछाडि धकेल्न सफल भएको बताइएको छ । साथै, प्रविधि तथा सञ्चारमा देखिएका अवरोधहरू, विशेषगरी स्टारलिंक स्याटेलाइट प्रयोगमा लगाइएको प्रतिबन्ध र टेलिग्राम एप नियन्त्रण गर्ने प्रयासले पनि रूसको सैन्य गतिमा असर पारेको विश्लेषकहरूको भनाइ छ ।
यद्यपि, डोनेट्स्क क्षेत्रका क्रामटोरस्क र स्लोभियान्स्क सहरतर्फको अवस्था भने अझै युक्रेनका लागि चुनौतीपूर्ण रहेको बताइएको छ । हालसम्म रूसले युक्रेनको करिब १९ प्रतिशत भू–भाग नियन्त्रणमा राखेको छ, जसको अधिकांश भाग द्वन्द्वको सुरुवाती चरणमै कब्जा गरिएको थियो । यस्तो अवस्थामा इष्टर युद्धविरामले केही समयका लागि हिंसा रोकिए पनि स्थायी शान्तिको सम्भावना भने अझै अनिश्चित देखिएको छ । रासस/एएफपी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि