काठमाडौं । १६औं विन्ध्यवासिनी म्युजिक अवार्ड-२०८२ मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको छ । काठमाडौंमा सम्पन्न समारोहमा बास्कोटालाई एक लाख एक रुपैयाँ नगदसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा सम्मान गरिएको थियो ।
अवार्ड समारोहमा लोकप्रिय गायक शिव परियार र गायिका समीक्षा अधिकारी सर्वोत्कृष्ट आधुनिक गायक–गायिका घोषित हुनुभयो । परियारले ‘परेली’ गीतबाट तथा अधिकारीले ‘के हेरेको टुलुटुलु’ गीतबाट उक्त अवार्ड जित्नुभएको हो । उहाँहरूलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।
विभिन्न ११ विधामा आयोजित अवार्ड कार्यक्रममा कला पत्रकारिता सम्मानबाट पत्रकार पवन आचार्यलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै, ‘प्रेमध्वज संगीतरत्न सम्मान’अन्तर्गत गायिका रचना रिमाललाई नगद २५ हजारसहित सम्मान अर्पण गरिएको थियो ।
गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित ‘विन्ध्यवासिनी संगीत साधना सम्मान’ प्रदान गरिएको थियो भने लोकप्रिय गायक पशुपति शर्मालाई ‘झलकमान लोक संगीत सम्मान’अन्तर्गत नगद २५ हजारसहित सम्मान गरिएको थियो । यसैगरी, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड ज्योति मगरले ‘झ्याप्पै’ गीतबाट जित्नुभयो भने सर्वोत्कृष्ट लोकदोहोरी गायक अर्जुन सापकोटाले ‘झलिको’ गीतबाट अवार्ड चुम्न सफल हुनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अवार्डकी अध्यक्ष लीना शर्मा रेग्मीले स्रष्टा तथा कलाकारहरूको सम्मानका लागि विन्ध्यवासिनी अवार्ड निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले अवार्डलाई परिमार्जन गर्दै यस वर्ष विधा संख्या घटाएर ११ मा सीमित गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा समीक्षा अधिकारी, सुमनकुमार श्रेष्ठ, अजर जंगम, पशुपति शर्मा र रचना रिमालले सांगीतिक प्रस्तुति दिनुभएको थियो भने गुरुआमा फिल्मस्को तर्फबाट गीता ढुंगाना, बबिन सिंह ठकुरी, कविता न्यौपाने र एलिना रायमाझीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
सर्वोत्कृष्ट शब्द रचनातर्फ भूपेन्द्र बुढाथोकी विजेता बन्नुभयो । उहाँले पब्लिक च्वाइस अवार्डसमेत जित्दै दुई विधामा सफलता हात पार्नुभयो । सर्वोत्कृष्ट संगीत रचनाको अवार्ड ‘मिर्मिरेमा बासेको भाले’ गीतबाट शिव हमालले प्राप्त गर्नुभयो । त्यस्तै, ‘बैंशले जुरुक्क पार्यो’ गीतबाट दीपक विष्टले सर्वोत्कृष्ट भिडियो सम्पादन र ‘ए आमा जाम भन्यो मलाई’ गीतबाट बुद्ध थापाले सर्वोत्कृष्ट छायाँकारको अवार्ड जित्नुभयो ।
सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलतर्फ गीता ढुंगाना र प्रभातपाल ठकुरी ‘कता हिन्यौ साइला’ गीतबाट विजेता बन्नुभयो भने रितु बोहराले ‘पैसा जोगाउन’ गीतबाट सर्वोत्कृष्ट नवगायनको अवार्ड हात पार्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि