काठमाडौं । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले मत्स्यपालक किसानसँग छलफल गर्नुभएको छ । नेपालमा उत्पादन हुने माछा, बजार व्यवस्थापन तथा किसानले भोग्दै आएका समस्याबारे भएको छलफलका क्रममा किसानले मन्त्री चौधरीसमक्ष विभिन्न माग प्रस्तुत गरेका छन् । नेपाल मत्स्य पालक किसान संघले माछापालनलाई उद्योगको सट्टा कृषि क्षेत्रअन्तर्गत वर्गीकरण गर्नुपर्ने, माछा भुरा आयात प्रक्रिया सरल र करमुक्त बनाउनुपर्ने तथा देशभर गुणस्तरीय ह्याचरी स्थापना गर्नुपर्ने माग राखेको हो ।
त्यसैगरी उत्पादन लागतका आधारमा माछाको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रत्येक वर्ष कम्तीमा १० प्रतिशतले वृद्धि सुनिश्चित गरिनुपर्ने र माछा किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, खुला सीमाका कारण अवैध आयातले स्वदेशी उत्पादनमा गम्भीर असर परेकाले चोरी तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयको नेतृत्वमा केन्द्रदेखि स्थानीय तहसम्म स्थायी संयन्त्र गठन गर्नुपर्ने पनि संघको माग रहेको छ ।
संघका अनुसार नेपालमा वार्षिक करिब एक लाख २५ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । जसमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा पोखरी (एक्वाकल्चर) प्रणालीबाट प्राप्त हुने गरेको छ । मत्स्य व्यवसायमा संलग्न किसानको संख्या बढ्दो क्रममा रहेको र पाँच लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको पनि संघले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि