काठमाडौं । लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. दिनबन्धु शर्मा तथा स्वयं कथाकार लक्ष्मी शर्माले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भागिरथी श्रेष्ठले कृतिमा समावेश कथाहरू मानवीय संवेदनाले भरिपूर्ण र यथार्थ घटनाजस्ता अनुभूत हुने बताउनुभयो । उहाँले कथाकार शर्माका भावनात्मक तथा संवेदनशील पक्षले आफूलाई प्रभावित पारेको उल्लेख गर्दै सुन्दर प्रतीक प्रयोग गर्ने क्षमताको प्रशंसा गर्नुभयो । साथै नेपाली कथासाहित्यमा महिला हस्ताक्षरको रूपमा कृति थपिएकोमा बधाई दिनुभयो ।
कृतिमाथि टिप्पणी गर्दै समीक्षक शेषनाथ पौडेलले वि.सं. २०५५ सालदेखि कथा लेखन सुरु गर्नुभएकी शर्माका कथाहरूमा नारी पात्रको प्रथम दृष्टिविन्दुको प्रधानता रहेको बताउनुभयो । उहाँका अनुसार कथाहरूको परिवेश मुख्यतः पारिवारिक रहेको छ भने काठमाडौँ उपत्यका र तराईका केही क्षेत्र कथाको पृष्ठभूमि बनेका छन् । उहाँले कथाहरूमा आशावादी चेत, समास शैली, नारी–पुरुष समआख्यान तथा प्राकृतिक सौन्दर्यको चित्रण प्रमुख विशेषता रहेको उल्लेख गर्नुभयो ।
अर्का समीक्षक चूडामणि पौड्यालले कथाहरू संस्मरणात्मक र वर्णनात्मक शैलीमा प्रस्तुत भएको बताउँदै महिलाका पीडा र अनुभूति मुख्य विषयवस्तुका रूपमा आएको बताउनुभयो । उहाँले कथाकारको संवेदनशीलता कथामा स्पष्ट रूपमा अभिव्यक्त भएको धारणा राख्नुभयो ।
कथाकार डा. दिनबन्धु शर्माले कृतिका कथाहरू भावनात्मक प्रवाहमा लेखिएको बताउँदै ह्दयबाट निस्किएका सिर्जना भएको प्रतिक्रिया दिनुभयो ।
लेखिका लक्ष्मी शर्माले आफ्ना जीवनका भोगाइ र अनुभूतिहरूलाई कथाको रूप दिएको बताउँदै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिका कथाहरू ह्दयको आवाजका रूपमा प्रस्तुत भएको उल्लेख गर्दै स्रष्टाको व्यवहार र सिर्जनाबीच तादम्यता हुनुपर्ने बताउनुभयो । उहाँले साहित्यिक समीक्षामा देखिएको विकृत प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै स्रष्टाको सम्मान कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कृति प्रकाशक भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन माधव विडारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तारा सुवेदीले राख्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि