यो सरकार द्रूतगमनको बाटोबाट अगाडि बढिरहेको कुरा उसका कामहरूबाट देखिएका छन् । सरकारले गर्नुपर्ने काम छिटोछिटो भइरहेका छन् । सरकार बनेको छोटो समयमै यसले धेरै कामहरू गरिरहेकै छ । काम गर्न आइपर्ने बाधा-व्यवधान यस सरकारका अगाडि कम छन्, किनभने यो सरकार आफैंमा पूर्णबहुमतको सरकार हो । जसले गर्दा अर्को पार्टीसँग सहमति, सम्झौता र सहकार्य गरिरहनुपर्ने आवश्यकता छैन, सबैलाई समेटेर अगाडि बढ्नु राम्रो काम हो तर विरोध गरेर व्यवधान तेर्स्याउने अवस्थामा अरू पार्टीहरू छैनन् । त्यसकारण सरकार कम्युनिष्टहरूको भाषामा भन्ने हो भने अग्रगामी छलाङ मार्न सहज अवस्थामा छ ।
त्यही कारण मन्त्रिमण्डल बनेकै रातदेखि रातदिन नभनी गृहमन्त्री सुदन गुरुङले जेन-जी आन्दोलनका दोषी भनिएका तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई तुरुन्तै भोलिपल्टै पक्राउ गर्नुभयो । मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूलाई सरकारले कडा निर्देशनका साथ मन्त्री बनाएको थियो । उहाँहरूबाट केही हुनासाथ प्रत्याह्वान गर्ने भनिएको थियो । नभन्दै मन्त्री पहिले पहिलेका मन्त्रीहरू जसरी नै नातावाद गर्ने मन्त्रीलाई १३ दिनकै दिन प्रत्याह्वान गरियो र रिक्त रहेका मन्त्रालयहरूमा तुरुन्तै अरूलाई नियुक्ति गरिएको छ । बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तो यस सरकारका प्रारम्भिक काम त्यति आलोचित छैनन् । सबैले सरकारको प्रशंसा नै गरेका छन् तर यसको निरन्तरता भने हुन सक्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी चलाइरहनु भएको छ, पार्टीका तर्फबाट नीतिनिर्देशन गर्ने काम कडाइका साथ गरिरहनुभएको छ भने सरकार द्रूत गतिमा चलाउने काम प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियतामा भइरहेको छन् । प्रतिनिधिसभाको सभामुखमा रास्वपाका वरिष्ठ नेता डोलप्रसाद अर्याल चयन भएपछि अहिले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुख हुनुभएको छ । सभामुख र उपसभामुख फरक-फरक पार्टीका र फरक-फरक लिंगका हुनुपर्ने कानुनी व्यवस्था अनुसार श्रमसंस्कृति पार्टीकी ठाकुरलाई उपसभामुखमा चयन गरिएको हो तर उहाँको चयन भने निर्विवाद बन्न सकिरहेको छैन । तराई मूलकी २६ वर्षकी ठाकुर उक्त पदका लागि कत्तिको सफल बन्नुहुन्छ त्यो भोलिको कुरा हो ।
तर, अहिले आलोचना गर्नेहरूले एकातिर उहाँमा त्यो क्षमता देखेका छैनन् भने अर्कातिर उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने रास्वपाको आश्वासनका विपरीत अहिले ठाकुरको चयन भएको हो । यसबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रोशित बनेको छ । उमेर र अपरिपक्ता कुनै पनि कामका लागि बाधक बन्न सक्दैन किनभने ती कुराहरू भोलि परिपक्वतामा परिणत हुँदै जान्छन् । ठाकुरको परिपक्वता पनि भोलि जिम्मेवारीले बढाउने विश्वास गर्न सकिन्छ तर रास्वपाले अपनाएको बाटो सबैलाई मौका र जिम्मेवारी दिने र परिपक्क बढाउँदै लग्ने हो भने त्यसलाई अन्यथा भन्न मिल्दैन किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनाइएका व्यक्ति पनि उमेरले परिपक्वता हासिल गरिसक्नुभएका व्यक्ति हुनुहुन्न ।
त्यही बस्ने र त्यही जिम्मेवारी बहन गर्दै परिपक्वता हासिल गर्ने नीति रास्वपाको हुनसक्छ तर यो स्टन्टमात्र हो भने त्यो भोलिका दिनमा सोचे जसरी सफल बन्न सजिलो छैन । हुन त राष्ट्रिय स्वतन्त्र पार्टीमा विजयी बनेर आउनुभएका सबै सांसदहरू युवा भएकै हुनुहुन्छ । दुई–चारजना ५० का निकटका व्यक्तिहरू प्रमुख जिम्मेवारीमा बस्नुपर्ने नै भयो । दृष्टान्तका रूपमा पार्टी सभापतिमा रवि लामिछाने, प्रवक्तामा मनिष झा, सभामुखमा डोलप्रसाद अर्याल र उमेरले त्यति धेरै परिपक्क नबने पनि समय र मागले लोकप्रियताको शिखरमा पुग्नुभएका बालेन साह प्रधानमन्त्री बन्नुभएको छ । सबैतिरबाट अरूको छाता बनेर पार्टी, सरकार, संसद सबैतिर उहाँहरूले ढाकेर जिम्मेवारीका साथ काम गर्न सक्नुहुनेछ ।
यस्ता निर्णयहरूलाई स्थायी बनाउन भने निकै परिश्रम गर्नैपर्ने हुन्छ । विगतलाई फर्केर हेर्ने हो भने नेपालमा एक दशकभन्दा बढी समय माओवादीको सशस्त्र विद्रोहमा बित्यो । त्यसबेला अकल्पनीय रूपमा १७ हजारभन्दा बढी व्यक्तिहरूले ज्यान गुमाउनुपर्यो । त्यो इतिहासमै एउटा दर्दनाक र कहालिलाग्दो कालखण्ड बन्यो । नेपालको इतिहासमा त्यो एक प्रकारले भन्ने हो भने त्यसलाई कालो एक दशकभन्दा हुन्छ तर माओवादीले समाज रूपान्तरण, नयाँ नेपाल, पुरानो सत्ताको विस्थापन आदि त्यसबेला लगाएका नाराहरू पछि पनि सार्थक बन्न सकेनन् । उक्त पार्टीले शान्ति प्रक्रियामा आएर सरकारको नेतृत्व गरेका बेला गाउँघरका विभिन्न तप र तप्काका मानिसहरूलाई सांसदसम्मको तहमा आसिन गराएकै थियो तर उनीहरूले आफ्नो स्तर कायम गर्न सकेनन् ।
कसैले सडकमा रमिता देखाए । कसैले संसद्मा आफूले लेखेर ल्याएको कुरा वाचन गर्न सकेनन् र आफ्नो जिम्मेवारी सफलताकासाथ बहन गर्न सकेनन् । यसबाट संसद् र सांसदको गरिमा खस्किन पुग्यो । बरू पञ्चायतकालमा कुनै माननीयको छुट्टै खालको मर्यादा थियो, उनीहरूको सम्मान थियो, बाटोघाटोमा हिँड्दा माननीयप्रति नागरिकहरूले सम्मान प्रकट भएको देखिन्थ्यो, पछि त्यो खस्किएर सांसद उपेक्षाको पात्र बन्न पुग्यो र सबैले तिनलाई हेयका दृष्टिले हेर्न थाले । यो एउटा दुःखद् पक्ष हो । अब भने यस्तो स्थिति दोहोरिनु हुँदैन । जसको जुन मर्यादा हो त्यो कायम हुन सक्नुपर्छ । सांसद भनेको सम्मानित पद हो । तिनले अरूबाट सम्मानको अपेक्षा गर्ने होइन अरूले तिनलाई सम्मान गर्न स्वतः तीप्रति सम्मान जागृत भएर आउनुपर्छ ।
अब राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले जुन किसिमको मर्यादा स्थापित गरिरहेको छ यसले गर्दा प्रधानमन्त्री, मन्त्री, सांसद र उच्चपदस्थ व्यक्तिहरूप्रति जनताको स्वतः नै सम्मान प्रकट होस् । यस्तो अवस्था सिर्जना हुनु आवश्यक छ । यसका लागि उपयुक्त व्यक्ति उपयुक्त स्थानमा चयन हुनसक्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले र वर्तमान सरकारले अवलम्बन गरेका कामहरू देखावटी नबनून्, तिनले सार्थकता पाऊन् । यसो हुन सक्यो भने एकातिर सरकारको सफलता देखिनेछ भने अर्कातिर जनताले पनि केही राहत पाएको महसुस गर्नेछन् । त्यसकारण सरकारका कामहरू सार्थक बनून्, ती कुनै अभियान र देखावटी रूपमा मात्र नआऊन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि