चौबीसे राज्यको सुनौला पानाका
एक अध्यायभित्र समेटिएको
सधै शिर उठाउने इतिहासको
अर्घा र खाँचीको पवित्र मिलन
जो प्रतीक भएको छ एकताको
जसले प्रोज्ज्वलित गरेको छ
अखण्ड दीप मित्रताको ।
समयका हुरीले बनाएका
कैयौँ गहिरा घाउहरूमा
मिलनकै मलहम लगाउँदै,
पाल्पासँग हातेमालो गर्दै
नेपालीत्वको माला गास्यो
अखण्डताको मन्त्र वाच्यो
तर, जस्तै सङ्कटमा पनि
कहिल्यै निभेन, कहिल्यै झुकेन ।
त्यो खर्क-जहाँ सन्धिको कसम खाइयो,
त्यसले
न तिरस्कार, न वैरभावका बीउ रोप्यो,
बरु सहकार्यका फूल फुलायो
त्यसैले पायो विभूषण रूपी नयाँ नाम
‘सन्धिखर्क’ जसको इतिहास रह्यो
सम्झौताले इतिहास लेख्ने
शान्तिको मन्दिर भनेर ।
आज सन्धिखर्क इतिहासको
अभिभावक भएको छ
उसका चारैतिर
सुपा देउरालीका शिखरमा
आस्थाको धूप अझै बलिरहन्छ
पाणिनि तपोभूमिको निस्तब्धतामा
ज्ञानको गुञ्जन अझै सुनिरहन्छ ।
नरपानीका बाटाहरू
यात्राका कथा विस्तार गर्छन्,
मालारानीका हरिया फाँटहरू
शान्तिका गीतहरू आफैं गुनगुन गर्छन् ।
अर्घा भगवतीको दिव्य छायाँ,
छत्र महाराजको आशीष अपार,
नरसिंह थानदेखि बल्कोट पौवासम्म
संस्कृतिको ज्वाला अटल, अखण्ड, अपार ।
खाँचिकोटका पहरा उभिएका छन्,
किमडाँडाका डाँडाहरू मुस्काइरहेछन्,
वाङ्ला, पाली, डिभर्नाका गाउँहरूमा
माटोले आफ्नै कथा सुनाइरहेछन् ।
ठाडा, जुकेना, सिद्धाराका बस्ती,
सीतापुर र सुवर्णखालका छेउ,
हरेक ठाउँमा पसिना, संघर्ष र माया
जीवनका रङहरू बनेर बग्दैछन् ।
धनचौरका फाँटहरू, नुवाकोटका डाँडा,
असुरकोट र ढाकावाङका बाटा,
ढिकुरा डेभा, केरुगां, ठूलापोखरासम्म
स्मृतिका नदीहरू निरन्तर बग्दा ।
पूर्वमा पाल्पाको आत्मीय अँगालो,
पश्चिममा दाङ-प्युठानको साथ,
उत्तरको गुल्मीले हेर्छ माया गर्दै,
दक्षिणमा रूपन्देही-कपिलवस्तुको हात ।
पणेना-योगको दिव्य थलो,
जहाँ पाणिनिले ध्यानमा डुबेर
महेश्वर सूत्रका चौध ध्वनि
संसारभर ज्ञानका दीप बनेर ।
ती सूत्रका कम्पनबाट जन्मिए
सिद्धान्तका महासागर विशाल,
शब्द, व्याकरण र दर्शनका मार्ग
आज पनि उज्यालो, आज पनि अविरल ।
प्रकृतिका हरिया आँचलभित्र
कोट, गढी र मन्दिरको पहिचान,
तीर्थयात्राका पदचिन्हहरूले
अर्घाखाँची बनाउँछ अद्वितीय गन्तव्य स्थान ।
यहाँका हावामा मिठास छ,
यहाँको माटोमा आत्मा बस्छ,
हरेक ढुंगामा कथा कुँदिएको,
हरेक मुटुमा माया धड्किन्छ ।
ओ मेरो अर्घाखाँची !
तिमी केवल जन्म स्थान होइनौ,
तिमी त समयको जीवित स्मृति हौ,
तिमी त आत्माको संगीत हौ ।
म जहाँ जाऊँ, जे बनूँ,
तिम्रो सम्झना मेरै साथ हुन्छ,
मेरो अस्तित्वको आधार बनेर
तिम्रो माया सधैं मेरै श्वास हुन्छ ।
मेरो गर्व, मेरो पहिचान-
मेरो मुटुको अमिट कहानी,
सधैंभरि उज्यालो बनिरहने
मेरो प्यारो अर्घाखाँची ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि