निर्वाचनमा आफ्नो पार्टीले जितोस् भन्ने चाहना सबै राजनीतिक दलको हुन्छ । हुनु पनि पर्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । जनताले दिने मतलाई सबैले स्वीकार गर्नु पर्छ । स्वीकार गरिएन भने लोकतन्त्रप्रति विश्वास नभएको मानिन्छ राजनीतिमा । राजनीति सधैं आफ्नो पक्षमा हुन्छ भन्ने पनि हुँदैन र जनता सधैं हाम्रै पक्षमा छन् भन्ने किटान गर्न पनि सकिँदैन । जनता परिवर्तन र सुशासनका बाहक हुन् । उनीहरूले सुशासन र बाँच्न पाउने मौलिक हक खोजेका हुन्छन् । मौलिक हकमा गिद्देदृष्टि लागेमा जनता परिवर्तनको पक्षमा उभिने तथ्यलाई कुनै पनि राजनीतिक दलले अस्वीकार गर्न सक्दैनन् ।
२०७९ को निर्वाचनमा पहिलो पार्टी बनेर पनि प्रधानमन्त्री त्यागेको पार्टी कांग्रेस दिनदिनै भासमा जाकिन खोजेको छ । पुसको अन्तिममा विशेष महाधिवेशनबाट उदाएका सभापति गगनकुमार थापाले पार्टीलाई जित दिलाउन भरमग्दुर प्रयास गरे तर भनेजस्तो सफलता उनले पनि पाउन सकेनन् र पार्टीले नराम्रो हार बेहोरेको अवस्था नेपालको राजनीतिमा देखियो ।
राजनीति सुधारका लागि गरिने सबै प्रयास जनताको मतबाट जाहेर हुने तथ्यलाई नकार्न सकिँदैन । यही हो लोकतन्त्रमा देखिने अमूर्त तर मतबाट बाहिर आउने निर्णय पनि । जनताको निर्णय आफ्नो पक्षमा पार्न लागिपर्ने समूह वा संगठनलाई राजनीतिक दल भनिएको हुन्छ । नेपालको राजनीतिमा यही माघ २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्ण बहुमतका साथ आफ्नो उपस्थिति संसद्मा देखायो । संसदीय निर्वाचनमा यो सफलतालाई ऐतिहासिक नै मान्नुपर्ने देखिन्छ । नेपालको राजनीतिमा यो सफलता आफैंमा जनमत हो भन्न राजनीतिक दल र नेपाली जनतालाई पनि कर लाग्छ । राजनीतिको निर्वाचनरूपी यज्ञकुण्डमा कतिपय स्थापित भएका दल आहुती बने कतिपय नयाँ दल उभारिए । निर्वाचनको यो जनमत लहरको कदर सबैले गर्नु आवश्यक छ ।
अन्योलमा एमाले
नेकपा एमाले २०८२ को निर्वाचनमा तेस्रो दलका रूपमा आयो । राजनीतिमा आफूलाई परिवर्तनको संवाहक मान्ने एमालेलाई नेपाली जनताले तेस्रो स्थानमा पुर्याए । नेकपा एमालेले गरेका कामको जनताले मूल्यांकन गरे वा उक्त पार्टीसित सम्बद्ध रहेका व्यक्तिले मत दिएनन् यो समीक्षाको विषय होला ? राजनीतिमा यस्ता घटना आउने जाने क्रम चलिरहेको हुन्छ । यो जनादेश पनि चलेको नै हो । सरकारले सपथ लिएको दोस्रो दिनमा नेकपा एमालेका अध्यक्ष वा जेन-जी आन्दोलन ताकका प्रधानमन्त्री पक्राउ परे । आज उनी अस्पतालमा छन् । एमालेका कार्यकर्ता सडकमा उत्रिए वर्तमान सरकारविरुद्ध । सरकारले गरेको यो कार्य गैरसंवैधानिक, गैरन्यायिक छ भन्ने तर्क उनीहरूको छ । जेनजी विद्रोहको सत्यतथ्य जाँच गर्न बनाइएको आयोगको सिफारिशका आधारमा उनलाई पक्राउ गरिएको हो भन्ने तथ्य सार्वजनिक गरियो ।
सरकारले गरेका गैरकानुनी कार्यका विरुद्ध आन्दोलन हुनु स्वाभाविक नै हो । हुन्छन् आन्दोलन, बढारिन्छन् तानाशाह । यो नेपालको राजनीतिमा नौलो भने होइन । जनताबाट अनुमोदित यो सरकारलाई अपदस्थ गर्ने क्षमता नेकपा एमालेका कार्यकर्तामा जीवित छ वा छैन त्यो भविष्यले देखाउने नै छ । अहिले केही भन्न सक्ने अवस्था भने छैन । अपराधलाई पुष्टि गर्ने काम आन्दोलनको होइन । अदालतको हो । अदालतले के भन्ने हो यो बुझ्न आवश्यक छ । महाधिवेशनबाट तरोताजा बनेर आएको एमालेका अध्यक्ष आज सरकारद्वारा समातिनुलाई चानचुने घटना मान्न सकिँदैन । उनले गरेका कर्मको प्रतिफल हो भन्ने नै हो भन्ने तर्क पनि नआएका होइनन् । मानिस आफूले गरेका कर्मबाट नै परिचित हुने हो । ओलीले गरेका कामको पहिचान एमालेलाई जनताले दिएका हुन् ।
राजनीतिमा बदलाको भावना हुनुहुँदैन । प्रतिशोधले राजनीतिक दलको उद्देश्य र उसले गर्न चाहेको पहिचान समाप्त पारेको हुन्छ । कानुनले दिएको सजाय भोग्न तयार हुनु नै कानुनीराजको पहिचान पनि हो । कानुनीराजले नै देशको राज्यव्यवस्थालाई सञ्चालनमा ल्याएको हुन्छ । अहिले एमालेले संसदीय दलको नेताका रूपमा बादललाई चयन गरेको छ र उनी नै कार्यवाहक अध्यक्ष बनेका छन् । अब पार्टीको आन्दोलन र पार्टीलाई कसरी अघि बढाउने जिम्मा उनले पाएका छन् । आन्दोलन गर्न जनताले साथ नदिने अवस्था आयो । नगर्ने पार्टी सभापति पक्राउ परेका छन् । अझ कति जाने हुन् पत्तो छैन । यही अन्योलमा फसेको छ एमाले ।
भासमा कांग्रेस
२०७९ को निर्वाचनमा पहिलो पार्टी बनेर पनि प्रधानमन्त्री त्यागेको पार्टी कांग्रेस दिनदिनै भासमा जाकिन खोजेको छ । पुसको अन्तिममा विशेष महाधिवेशनबाट उदाएका सभापति गगनकुमार थापाले पार्टीलाई जित दिलाउन भरमग्दुर प्रयास गरे तर भनेजस्तो सफलता उनले पनि पाउन सकेनन् र पार्टीले नराम्रो हार बेहोरेको अवस्था नेपालको राजनीतिमा देखियो । निर्वाचनमा सधैं वामपन्थी शक्तिसित भिडेको कांग्रेसले केही समय त्यही वामपन्थी शक्तिसँग हातेमालो गरेको थियो । यसपटक भने कांग्रेसले आफूलाई निर्वाचनमा एक्लै उतारेको थियो । निर्वाचनमा उक्त पार्टीले सोचेजस्तो सफलता पाउन सकेको देखिएन । निर्वाचनका समयमा मौन बस्ने र सभापतिको हस्ताक्षरको मनोनयनपत्र लिएर गएका कांग्रेसका वरिष्ट व्यक्ति नै आज सभापति गगनविरुद्ध उत्रेका छन् ।
निर्वाचनमा हार बेहोरेपछि वा जनताबाट अस्वीकृत भएको जमात पार्टीबाट पनि अस्वीकृत नै थियो । त्यही हुल आज कांग्रेसलाई समाप्त पार्न लागिरहेको छ । पार्टीमा अनुभव र खारिएको नेतृत्व चाहिन्छ । यो सत्य हो तर खारिनु र माझिनु भनेको सधैँ ७० वर्ष नाघेको नेतृत्व भने होइन । नेपाली कांग्रेसका वर्तमान सभापतिलाई अस्वीकार गरिरहेको एक तप्का पुनः आफूलाई नै आधिकारिक मानिरहेको छ । पार्टी विधानसम्मत चल्नुपर्छ । वैधानिक अवस्थामा उभिनुपर्दछ । विधानले दिएको व्यवस्था हामीबाहेक तल्लो पुस्ताले प्रयोगमा ल्याउनु हुँदैन भन्ने कतै लेखिएको छ र ? तत्कालीन गृहमन्त्री पक्राउ पर्दा आन्दोलनको घोषणा नगरेको भन्ने आरोप आजका सभापतिले पाएका छन् ।
उनी स्पष्ट वक्ता हुन् । राजनीति गरेर कसैले भ्रष्टाचार गरेको छ भने त्यो कांग्रेस नै किन नहोस् कानुनको कठघरामा उभिनुपर्दछ भन्ने उनको अडान वा प्रजातान्त्रिक पार्टीको छवि बनेको कांग्रेसको पहिचान हो । आजको कांग्रेस भ्रष्टाचारको पक्षमा उभिने पार्टी होइन । हिजोको कांग्रेसको अवस्था के थियो त्यो नेपाली जनताले बुझेका छन् । पार्टीको पहिचान हामी हौँ । हामीले संरक्षण गरेको पार्टीलाई उत्तरवर्ती पुस्ताले हाँक्न पाइँदैन भन्ने सोच हो भने त्यसकिसिमका सोच गलत हुन् । पार्टी कार्यकर्ता र नेपाली कांग्रेसका समर्थकको हो । कांग्रेसलाई लगभग १८ लाख मत जाहेर गर्ने मतदाताको पनि हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा विश्वास राख्ने सबै व्यक्ति र वर्गको हो ।
त्यसैलै कांग्रेसलाई सफल बनाउनु सबैको दायित्व होइन र ? मत माग्न जनताको घरमा नजाने, नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन भरमग्दुर प्रयास गर्नेको हो र यो पार्टी ? यो तथ्यलाई बुझ्न आवश्यक छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैध मानेको छ । अदालतले पनि निर्वाचन आयोगको निर्णयलाई लत्याउने अवस्था देखिँदैन होला ? के होला त्यो हेर्न बाँकी नै छ । नेपाली कांग्रेस पन्ध्रौं महाधिवेशन गर्ने भन्दै केन्द्रीय समितिले निर्णय गरिसकेको छ । महाधिवेशनबाट छानिएर आउन आग्रह गरेका छन् नेपाली कांग्रेसका कार्यकर्ताले । भिन्न भेला बोलाएर वा अवैध भएको र विशेष महाधिवेशनबाट अस्वीकृत भएको अमुक व्यक्ति वा नेताले केन्द्रीय समितिका नाममा बैठक डाक्नु आफैमा उपयोगी होइन र हुने छुट पनि छैन विधाननुसार ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवाविरुद्ध प्रक्राउपूर्जी जारी भएको खबर बाहिर आयो । औषधोपचारका लागि देशबाहिर रहेका उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा आकर्षित भएको देखिन्छ । उनीहरूको सम्पत्ति अकूत हो वा होइन यो कानुनले नै बताउनेछ ।
नेपाली कांग्रेस कानुनी शासनको पक्षमा उभिएको पार्टी हो । राज्यदोहन गरेका व्यक्तिलाई राज्यले सजाय दिन्छ भने त्यसमा यस पार्टीले कहिल्यै पनि समर्थन गर्ने होइन । तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक दोषी हुन् वा होइनन् त्यो अदालतले बताउनेछ तर आन्दोलनमा उत्रिनुपर्दछ भन्ने अवस्था भने गम्भीर हो । जनताले नकारेको कांग्रेस आन्दोलनमा जानु कति उचित हो बेग्लै भेला बोलाउने कांग्रेसीजनले जानून् । यही कारण आजको कांग्रेस भासमा रहेको छ । भासबाट निस्कने छ । नेपालको पहिलो प्रजातान्त्रिक पार्टी भन्ने विश्वास गर्नुलाई अन्यथा लिन सकिँदैन ।
एक्सनमा सरकार
सरकार गठन भएको अर्को दिन नै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पक्राउ परे । सर्वोच्च अदालतले उनीहरूको म्याद नथप्नु भनेर भन्यो र उनीहरू रिहा भए । उनीहरूमाथि भदौ २३ गते सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको आरोप छ । यो पक्राउ छानविन आयोगको प्रतिवेदनका आधारमा गरिएको तर्क छ तर आयोगको प्रतिवेदनमा भदौ २३ को घटनाका दोषीलाई कारबाहीको सिफारिश गरिएको छ २४ को घटना अध्ययन गर्न बाँकी रहेको तर्क सार्वजनिक भयो । आज उनीहरू रिहा भए । सर्वोच्च अदालतले उनीहरूलाई रिहा गर्ने आदेश दियो । यो सत्य हो वा आयोगले गरेको सत्यतथ्य होइन भन्न सक्ने आधार भने देखिएका छन् । नेपाल सरकारलाई बुझाएको प्रतिवेदन एउटा पत्रिकाले कसरी पायो र बाहिर आयो ।
मानव अधिकार आयोगले पनि उक्त आन्दोलनको छानबिन गरेको छ । उक्त संवैधानिक आयोगले गरेको अध्ययनमा दोषी रहेका व्यक्तिलाई कारबाही गर्ने कि सरकार ! कार्की आयोगको प्रतिवेदन र २३ गतेको घटनालाई मात्र हेर्ने सरकारको तजबीज होला यसमा त होइन र ! सरकारको निर्णय सही हो वा होइन कानुनले बताउने नै छ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवाविरुद्ध पनि प्रक्राउपूर्जी जारी भएको खबर बाहिर आयो । औषधोपचारका लागि देशबाहिर रहेका उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा आकर्षित भएको देखिन्छ । उनीहरूको सम्पत्ति अकूत हो वा होइन यो कानुनले नै बताउनेछ ।
सरकारले पक्राउ गर्ने तर अदालतले रिहा गर्दे जाने हो भने सरकार आफैं झारा टार्ने प्रवृत्तिमा छ भन्ने तथ्य बाहिर आउँदैन र प्रधानमन्त्रीज्यू ! कानुनसम्मत तरिकाले काम गर्नु सरकारको दायित्व हो । सरकार एक्सनमा आउनुपूर्व नै पक्राउ पर्ने व्यक्तिप्रति कानुन आकर्षित हुन्छ वा हुँदैन त्यो बुझ्नु आवश्यक देखिन्छ । सरकारले लगातार आफूलाई सही मार्गमा डोर्याउनु आवश्यक देखिन्छ । सरकार भ्रष्टाचारदेखि सबै क्षेत्रमा निष्पक्ष भएर काम गरोस् । यो चाह जनताको हो तर प्रतिशोध साध्ने प्रवृत्तिमा सरकार ओर्लियो भने उसका लागि नै यो घातक सावित हुने देखिन्छ ।
यस्तो नहोस् सरकार ! सरकार पूर्ण एक्सनमा देखापरेको पाइयो । नेपालको राजनीतिमा दलीय व्यवस्थामा आजसम्म देखापरेका अदलीय कार्यहरू रोकिनु आवश्यक छ । पूर्ववर्ती शासकले गरेका नातावाद कृपावादको अन्त्य आवश्यक छ । सरकारले कुनै पनि काम कानुनसम्मत गरोस् भन्ने शुभकामना सरकारलाई । कानुन विपरित काम भएमा सरकार नै कानुनका कठघरामा उभिने छ । सरकारले गरेका नराम्रा कामप्रति असहमति जनाउन पाईन्छ किनभने हामी लोकतान्त्रिक मुलुकमा छौं । शक्तिशाली सरकारको विरोध गर्नुहुँदैन भन्ने होइन पाइन्छ विरोध गर्न । सरकार सही बाटोमा हिँडोस् र नेपालको मुहार फेरोस् यही कामना ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि