काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको व्यापक सम्भावना रहेको बताउनुभएको छ।
वनस्पति विभाग को ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार पर्याप्त सम्भावना हुँदाहुँदै पनि जडीबुटी क्षेत्र अझै प्रारम्भिक चरणमै सीमित रहेको छ।
उहाँले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गर्दै कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ। यस्तो पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्याउने उहाँको विश्वास रहेको छ।
मन्त्री चौधरीले विभागद्वारा विकास गरिएका विभिन्न फर्मुलालाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनुभएको छ। यसबाट राजस्व वृद्धि हुनुका साथै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभएको छ।
अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै उहाँले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको बताउनुभएको छ। साथै वनस्पति तथा जडीबुटी क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
उहाँका अनुसार जडीबुटी क्षेत्रले ग्रामीण गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। यसका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ।
मन्त्री चौधरीले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ। साथै युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान तथा नवप्रवर्द्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ।
यसैबीच विभागले नेपालका वनस्पतिक सम्पदाको वैज्ञानिक अभिलेखीकरण गर्दै ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। हालसम्म ६५८ प्रजातिका वनस्पतिको अभिलेखीकरण सम्पन्न भइसकेको जानकारी दिइएको छ।
कार्यक्रममा वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि