काठमाडौं । मोहीको विश्वास, स्वास्थ्यको विकास : घर-घरमा फैलाऔं अभियानको प्रयास भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस-२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरी मोही दिवस मनाइएको एसोसिएसनले जनाएको छ ।
काठमाडौंस्थित एसोसिएसनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले नेपाली दूध तथा दुग्ध पदार्थ निर्यातको ठूलो सम्भावना रहेको बताउनुभयो । महासंघको निर्यात प्रवर्द्धन समितिका सभापतिसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘गर्मी मौसममा मोहीको खपत बढाउन सके यसले नेपाली दूधको खपतमा योगदान पुर्याउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ ।’
महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले मोही किसानको पसिनासँग जोडिएको वस्तु भएको भन्दै मोही प्रवर्द्धनमा एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले पछिल्लो समय मोहीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताउनुभयो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मोही प्रवर्द्धन अभियानअन्तर्गत हाल देशभर दर्जनौं कम्पनीले मोहीलाई आधुनिक प्याकेजिङ गरेर बिक्री सुरु गरिसकेको जानकारी दिनुभयो ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले मोही अभियानलाई निरन्तरता दिन सरकारले पनि दिवसलाई अपनत्व लिनुपर्ने माग गर्नुभयो । दिवसका अवसरमा शनिबार काठमाडौं उपत्यकाका मुख्य चोक, अस्पताल र सार्वजनिक स्थल गरी कुल करिब पाँच हजार लिटर मोही निःशुल्क वितरण गरिएको एसोसिएसनले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि