काठमाडौं । सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपिभी ६ काउन्सिल मिट सम्पन्न भएको छ । दुर्ई दिनसम्म काठमाडौंमा सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट परिस्थितिको प्रणालीसम्बन्धी गहन छलफलसहित सम्पन्न भएको आयोजकले जनाएको छ । सम्मेलनको पहिलो दिन आइपिभी ६ सञ्चालित एआई डाटा सेन्टरमार्फत् इन्टरप्राइज आइसिटीको भविष्य, आइपिभी ६ को विकासक्रम, साइबर सुरक्षा चुनौती तथा नेपालको सार्वभौम डिजिटल रोडम्यापजस्ता विषयमा विज्ञहरूबीच विचार आदानप्रदान भएको थियो ।
कार्यक्रमकै अवसरमा सुबिसु लिमिटेड र एपाक आइपिभी ६ काउन्सिलबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा काउन्सिलतर्फबाट डा. सुरेश्वरन रामदास तथा सुबिसुतर्फबाट प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले हस्ताक्षर गर्नुभएको हो । उक्त सहकार्यले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
दोस्रो दिन कृष्णकुमार लाहोटीले आइपिभी ६ कम्प्लायन्ससम्बन्धी प्रस्तुति दिनुभएको थियो भने आइक्यानका एसिया-प्रशान्त क्षेत्रीय प्राविधिक संलग्नता निर्देशक चम्पिका विजयतुंगाले नेपालमा डिएनएसएसइसी कार्यान्वयनबारे भर्चुअल प्रस्तुति दिनुभएको थियो । त्यस्तै, डा. नवनीथन सी. अर्जुमनले आइपिभी ६ कार्यान्वयन रणनीतिबारे प्रकाश पार्नुभएको थियो भने विक्रम श्रेष्ठले वित्तीय क्षेत्रमा आइपिभी ६ का चुनौतीबारे चर्चा गर्नुभएको थियो । साथै, आइपिभी ६ फोरमका लतिफ लादिदले विशेष वक्ताका रूपमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमअन्तर्गत डिजिटल पूर्वाधार र इन्टरनेट इकोसिस्टमसम्बन्धी प्यानल छलफल तथा आइपिभी ६ कार्यान्वयनसम्बन्धी कार्यशालासमेत आयोजना गरिएको थियो ।
सम्मेलनलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिने महत्त्वपूर्ण पहलका रूपमा लिइएको छ । विनयमोहन साउदले अन्तर्राष्ट्रिय तथा स्वदेशी विज्ञबीच अनुभव आदानप्रदानले भविष्यमा नीति निर्माण तथा अत्याधुनिक प्रविधि अवलम्बनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो भने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले आइपिभी ६ प्रयोगले कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने भन्दै प्राधिकरणले सोको माइग्रेसनसम्बन्धी परामर्शपत्रसमेत प्रस्तुत गरेको जानकारी गराउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि