वर्ष २०८२ ले नेपाली खेलकुदमा हर्षका आँसु र आक्रोशका स्वरहरू एकसाथ छोडेर गएको छ । क्यालेण्डरका पानाहरू पल्टिँदै गर्दा मुम्बईको वानखेडे रंगशालामा विश्वविजेता इंग्ल्याण्डलाई हम्मे-हम्मे पारेको त्यो रोमाञ्चक रात होस् वा आफ्नै देशमा खेल मैदान नहुँदा विदेशी भूमिमा ‘होम गेम’ खेल्नुपर्ने फुटबलको विवशता सम्झनलायक विषय हुन् । तीनवटा विश्वकपको स्वाद चाखेको नेपाली खेलकुदका लागि यो वर्ष क्रिकेट आशाको दियो बन्यो भने फुटबल प्रशासनिक झमेलामा फस्यो । यो वर्ष नेपाली खेल जगत्ले तीनवटा फरक विधाका विश्वकपमा आफ्नो उपस्थितिमात्र जनाएन, विश्व क्रिकेटका हस्तीहरूलाई घरेलु मैदानमा स्वागत गर्ने अवसर पनि पायो । तर, मैदानबाहिरको राजनीति, प्रशासनिक खिचातानी र पूर्वाधारको अभावले कतिपय क्षेत्रमा नेपाली खेलकुदलाई दशकौँ पछाडि धकेल्ने प्रयास पनि गर्यो । विशेषगरी क्रिकेटले विश्वमञ्चमा आफ्नो साख बढाउँदै गर्दा फुटबलले भने आफ्नै आन्तरिक कलहका कारण ठूलो मूल्य चुकाउनुपर्यो ।
तीनवटा विश्वकपको स्वाद चाखेको नेपाली खेलकुदका लागि यो वर्ष क्रिकेट आशाको दियो बन्यो भने फुटबल प्रशासनिक झमेलामा फस्यो । यो वर्ष नेपाली खेल जगत्ले तीनवटा फरक विधाका विश्वकपमा आफ्नो उपस्थितिमात्र जनाएन, विश्व क्रिकेटका हस्तीहरूलाई घरेलु मैदानमा स्वागत गर्ने अवसर पनि पायो ।
वानखेडेको त्यो रोमाञ्चक रात
नेपाली क्रिकेटका लागि वर्ष २०८२ पुनर्जागरणको वर्ष साबित भयो । १२ वर्ष लामो प्रतीक्षापछि नेपाली टोलीले आइसिसी पुरुष टी-२० विश्वकपको मञ्चमा फेरि एकपटक आफ्नो बलियो उपस्थिति जनायो । यो यात्रा सहज थिएन तर यसले नेपाली क्रिकेट समर्थकको वर्षौँदेखिको प्यास मेटाउने काम गर्यो । एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रीय छनोटमा अपराजित रहँदै विश्वकपको टिकट काटेको नेपालले यसपटक केवल सहभागितामा मात्र चित्त बुझाएन । विश्वकपमा नेपालले एसोसिएट राष्ट्र स्कटल्याण्डलाई पराजित गर्दै १२ वर्षपछि पहिलो जित दर्ता गर्यो । यो जित केवल दुर्ई अंकको प्राप्तिमात्र थिएन, बरु नेपाली क्रिकेटको बढ्दो स्तरको प्रमाण थियो । तर, विश्वकपको सबैभन्दा चर्चामा रहेको खेल भने भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा भएको थियो । ८ फेब्रुअरी २०२६ का दिन नेपालले दुर्ईपटकको विश्वविजेता इंग्ल्याण्डको सामना गर्दा क्रिकेट जगत् स्तब्ध बन्यो । विश्वकै शक्तिशाली टोलीलाई नेपालले अन्तिम ओभरसम्म दबाबमा राख्यो । मात्र चार रनको झिनो हार बेहोरे पनि इंग्ल्याण्डजस्तो टोलीलाई कडा चुनौती दिनुले नेपाली क्रिकेटको प्राविधिक र मानसिक विकासलाई विश्वसामु प्रमाणित गरिदियो ।
यद्यपि, विश्वकपमा नेपालको प्रदर्शन सबै टोलीविरुद्ध एकनासको रहेन । वेष्ट इण्डिज र इटालीजस्ता टोलीहरूविरुद्ध नेपालले वानखेडेको लयलाई कायम राख्न सकेन र हार बेहोर्नुपर्यो । तर, समग्रमा टी-२० क्रिकेटका लागि यो वर्ष उत्साहजनक रह्यो । विश्वकपअघि युएईको सारजाहमा सम्पन्न युनिटी कपमा नेपालले वेष्ट इण्डिजलाई टी-२० आई शृंखलामा २-१ ले हराएर ऐतिहासिक सफलता हात पारेको थियो । यसले नेपाली टोलीको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याएको थियो ।
एकदिवसीय क्रिकेटमा नेपालका लागि आइसिसी क्रिकेट विश्वकप लिग-२ को यात्रा भने सोचेजस्तो सहज रहेन । अघिल्लो वर्ष अन्तिम १२ मध्ये ११ खेल जितेर सनसनी मच्चाएको नेपालले यस वर्ष आठ खेल खेल्दा मात्र तीन खेलमा जित निकाल्न सक्यो । लिगका आधा खेल सकिँदा नेपाल तालिकाको सातौँ स्थानमा रहनुले सन् २०२७ को विश्वकप छनोटको बाटो चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।
महिला टोलीको पहिलो विश्वकप खेल्ने सपना अधुरै
पुरुष टोलीको चर्चा चुलिइरहँदा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले ठूलो उपलब्धि हासिल गर्यो । नोभेम्बर २०२५ मा भारत र श्रीलंकामा आयोजित पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता बन्यो । अष्ट्रेलिया, अमेरिका र पाकिस्तानजस्ता राष्ट्रहरूलाई पराजित गर्दै फाइनलसम्म पुग्नु नेपाली खेलकुदकै एउटा विरलै प्राप्त हुने गौरवको क्षण थियो । यद्यपि, फाइनलमा भारतसँग पराजित हुनुपरे पनि चेलीहरूले देखाएको अदम्य साहसले अपांगता भएका खेलाडीप्रतिको दृष्टिकोण र राज्यको लगानीका बारेमा नयाँ बहस सिर्जना गरिदिएको छ ।
अर्कोतर्फ, नेपाली राष्ट्रिय महिला टोलीले पनि यो वर्ष ऐतिहासिक उपलब्धि हात पार्दै पहिलोपटक टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनायो । नेपालका लागि यो झन् विशेष थियो किनभने यो प्रतियोगिता आफ्नै घरेलु मैदान मूलपानी र कीर्तिपुरमा आयोजना भएको थियो । तर, परिचित मैदान र घरेलु समर्थकको अपार साथ हुँदाहुँदै पनि नेपालले त्यसलाई नतिजामा बदल्न सकेन । जिम्बावेबाहेकका अन्य खेलमा हार बेहोर्नुपर्दा नेपाली महिला टोलीको पहिलोपटक विश्वकप खेल्ने सपना अधुरै रह्यो ।
नेपाली क्रिकेटको व्यावसायिक छलाङ
यो वर्ष नेपाली क्रिकेटका लागि प्राविधिक पक्षमा मात्र होइन, व्यावसायिक पक्षमा पनि कोसेढुंगा साबित भयो । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणले नेपाली खेलकुदलाई एउटा उद्योगका रूपमा विकास गर्न सकिन्छ भन्ने दरिलो उदाहरण पेश गर्यो । फाफ डु प्लेसिस, मार्टिन गप्टिल, वेन पार्नेल र क्रिस लिनजस्ता विश्वविख्यात खेलाडीहरू कीर्तिपुरको मैदानमा ओर्लँदा नेपाली समर्थकको उत्साह वर्णन गर्न नसकिने थियो ।
एनपिएलको दोस्रो सिजनबाट नेपाल क्रिकेट संघ (क्यान)ले करिब नौ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्यो । करिब ४७ करोडको आम्दानी र २१ करोडको खर्चबीच १६ करोडभन्दा बढी रकम फ्रेन्चाइज टोलीहरूलाई वितरण गर्ने तयारीले नेपाली क्रिकेटमा निजी क्षेत्रको आकर्षणलाई थप मजबुत बनाएको छ । यसले नेपाली खेलाडीहरूको आर्थिक जीवनस्तर सुधार्न र खेलमा व्यावसायिकता भित्र्याउन ठूलो मद्दत पुर्याएको छ ।
फुटबलको दुःखान्तः निलम्बन र रित्तो रंगशाला
क्रिकेटले सफलताको शिखर चुमिरहँदा नेपाली फुटबल भने इतिहासकै सबैभन्दा खराब संकटबाट गुज्रियो । फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग आयोजना हुन नसक्नु र १० वर्षपछि सुरु गरिएको राष्ट्रिय लिग अधुरै रोकिनु नेपाली फुटबलका लागि निकै दुखद थियो । एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीचको टकराव यति उत्कर्षमा पुग्यो कि, अन्ततः एन्फा नै तीन महिनाका लागि निलम्बनमा पर्यो ।
राखेपको स्वीकृतिबिना निर्वाचन प्रक्रिया अघि बढाएको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै २५ मार्चमा एन्फालाई निलम्बन गरिएको थियो । यद्यपि, अन्तिममा निलम्बन फुकुवाबारे छलफल भइरहेको छ । यसको प्रत्यक्ष असर मैदानमा देखियो । हङकङसँगको मैत्रीपूर्ण खेल अन्तिम समयमा रद्द हुनु र त्यसको दोष एक-अर्कालाई थुपार्नुले खेल निकायहरूको गैरजिम्मेवारीपनलाई उदांगो बनायो । राखेपले मैदान उपलब्ध गराएको पत्र सार्वजनिक गर्दा एन्फाले हङकङको टोलीलाई रोकिसकेको थियो ।
अझ दुखद पक्ष त महिला फुटबलमा देखियो । थाइल्याण्डमा हुने फिफा वुमेन्स सिरिजका लागि तयारी अवस्थामा रहेका खेलाडीहरू एन्फाको निलम्बन र नाम फिर्ताका कारण बुट र बल बोकेर रुँदै घर फर्कनुपर्यो । यसअघि नै राष्ट्रिय लिगमा ३८ भन्दा बढी विदेशी खेलाडीलाई प्रक्रिया मिचेर सहभागी गराएको आरोपमा अध्यागमन विभागको छानबिनमा एन्फा तानिएको थियो । आफ्नै मैदानको दूरवस्थाका कारण एएफसी एसियन कप छनोटका खेलहरूसमेत विदेशी भूमिमा खेल्नुपर्ने विवशताले नेपाली फुटबलको व्यवस्थापनलाई विश्वसामु लज्जित तुल्यायो ।
बक्सिङमा ऐतिहासिक पदक, कबड्डीको सपना अधुरै
२०८२ सालले नेपाली बक्सिङलाई एउटा यस्तो तारा दियो, जसको चमक सधैँ रहनेछ । डिसेम्बर २०२५ मा युएईमा आयोजित आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रबहादुर थापाले कांस्य पदक जितेर नयाँ इतिहास रच्नुभयो । अर्मेनिया, इण्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुग्नुभएका चन्द्रले विश्वस्तरको प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली मुक्केबाज बन्ने सौभाग्य पाउनुभयो । ७५ हजार अमेरिकी डलर पुरस्कार र विश्व वरीयतामा सातौँ स्थानको खेलाडीसँगको भिडन्तले नेपाली बक्सिङमा नयाँ आशा जगाएको छ ।
उता, कबड्डीमा भने नेपाली महिला टोलीले ढाकाको यात्रामा सोचेजस्तो सफलता पाउन सकेन । १५ देखि २५ नोभेम्बरसम्म आयोजित दोस्रो महिला कबड्डी विश्वकपमा नेपाल सेमिफाइनल पुग्न असफल रह्यो । पोल्याण्ड र केन्यालाई हराए पनि इरानसँगको फराकिलो हारले नेपालको यात्रा समूह चरणमै रोकियो । यद्यपि, १३ वर्षपछि आयोजना भएको यो विश्वकपले नेपाली कबड्डी टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र एक्स्पोजर भने प्रदान गर्यो ।
दशौँ राष्ट्रिय खेलकुद फेरि सपनामै सीमित
गण्डकी प्रदेशको पोखराबाट पठाइएको दशौँ राष्ट्रिय खेलकुदको झण्डा यो वर्षभरि नै अन्योलको भुमरीमा फस्यो । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भनिएको यो कुम्भ मेला पटक-पटक मिति तोकिँदै र सर्दै गर्दा खेलाडीहरूमा निराशा छायो । कहिले पूर्वाधारको अभाव, कहिले आर्थिक संकट त कहिले राजनीतिक आन्दोलनको बहानामा प्रतियोगितालाई धकेलियो ।
जेठ २०८२ मा प्रतियोगिता गर्ने गरी सचिवालय स्थापना भए पनि मन्त्रीहरूको राजीनामा र नियुक्तिमै खेलकुद मन्त्रालय अल्झियो । तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएपछि आउनुभएका बब्लु गुप्ताले फागुनका लागि मिति तय गरे पनि प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै पुनः प्रतियोगिता सारियो । यसले के देखाउँछ भने राज्यको प्राथमिकतामा खेलकुद अझै पनि अन्तिम खुड्किलोमा छ ।
मैदानमा खेल फर्काउनु पहिलो प्राथमिकता
वर्ष २०८२ ले नेपाली खेलकुदलाई स्पष्ट रूपमा दुर्ई भागमा बाँडिदिएको छ । एउटा भाग जहाँ क्रिकेट छ, जसले व्यावसायिकता, पारदर्शिता र अन्तर्राष्ट्रिय सफलताको बाटो समातेको छ । अर्को भाग जहाँ फुटबल र अन्य विधा छन्, जो प्रशासनिक अस्तव्यस्तता, राजनीतिक हस्तक्षेप र अदूरदर्शिताको शिकार भएका छन् । क्रिकेटको सफलताले यदि व्यवस्थापनमा इच्छाशक्ति र आर्थिक पारदर्शिता छ भने नेपाली खेलकुदले विश्वलाई चकित पार्न सक्छ भन्ने देखाएको छ । एनपिएलको नाफा र दर्शकको उपस्थिति यसको प्रमाण हो । तर, फुटबलको दूरवस्थाले यदि संस्था व्यक्तिगत स्वार्थको अखडा बन्यो भने दशकौँको मिहिनेत बालुवामा पानी हालेसरह हुन्छ भन्ने चेतावनी दिएको छ ।
आगामी वर्ष २०८३ मा नेपाली खेलकुदले २०८२ का तीता अनुभवबाट पाठ सिक्नुपर्नेछ । फुटबलमा देखिएको प्रशासनिक गतिरोध अन्त्य गरी मैदानमा खेल फर्काउनु नै पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्तै, राष्ट्रिय खेलकुदजस्ता बृहत् आयोजनालाई राजनीतिक दाउपेचबाट मुक्त राखी खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ । क्रिकेटमा प्राप्त सफलतालाई संस्थागत गर्दै ग्रासरुट लेभलसम्म पुर्याउनु र बक्सिङजस्ता व्यक्तिगत खेलका प्रतिभालाई राज्यले उचित संरक्षण दिनु नै अबको सही बाटो हुनेछ । नयाँ वर्षको शुभकामना ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि