नेपाली चलचित्र बजारले २०८२ सालमा फेरि एकपटक मिश्रित यथार्थ प्रस्तुत गरेको छ । वैशाख १ देखि चैत १८ सम्मको बक्स अफिस तथ्यांक हेर्दा नेपाली र अन्तर्राष्ट्रिय चलचित्रबीचको प्रतिस्पर्धामात्र होइन, दर्शकको रोजाइ र आर्थिक संरचनाबीचको अन्तर पनि स्पष्ट रूपमा देखिन्छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा नेपाली फिल्मले करिब एक अर्ब आठ करोड रुपैयाँ ग्रस व्यापार गरेको छ भने अन्तर्राष्ट्रिय फिल्मले एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । समग्रमा दुवै क्षेत्रको कारोबार जोड्दा चलचित्र बजारको आकार दुई अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसले यो वर्ष नेपाली चलचित्र बजारको वास्तविक आर्थिक दायरा यही हाराहारीमा सीमित रहेको संकेत गर्छ ।
रोचक पक्ष के छ भने कमाइको हिसाबले विदेशी चलचित्र अगाडि देखिए पनि दर्शक उपस्थितिमा भने नेपाली चलचित्रले स्पष्ट अग्रता लिएका छन् । नेपाली चलचित्रका लागि ३७ लाख ८१ हजारभन्दा बढी टिकट बिक्री भएको छ भने विदेशी चलचित्रका लागि ३३ लाख २२ हजार टिकटमात्र बिक्री भएका छन् । यसले नेपाली दर्शकको भावनात्मक र सांस्कृतिक झुकाव स्वदेशी चलचित्रतर्फ नै रहेको देखाउँछ । तर, यही दर्शक उपस्थिति आर्थिक सफलतामा रूपान्तरण हुन नसक्नु नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ ।
समग्रमा हेर्दा २०८२ साल नेपाली चलचित्रका लागि अवसर र चुनौती दुवै लिएर बिदा भएको वर्ष बनेको छ । एकातिर दर्शकको साथ छ भने अर्कोतिर विदेशी चलचित्रसँगको कडा प्रतिस्पर्धा पनि यथावत् छ । अबको बाटो स्पष्ट छ- नेपाली चलचित्रले आफ्नो मौलिकता कायम राख्दै प्राविधिक र व्यावसायिकस्तरमा सुधार गर्न सकेमात्र दर्शकको उपस्थितिलाई ठोस आर्थिक सफलतामा बदल्न सकिन्छ । अन्यथा, दर्शक नेपाली फिल्मतर्फ आकर्षित भए पनि बजारको ठूलो हिस्सा विदेशी चलचित्रले ओगट्ने क्रम जारी रहनेछ ।
यसको मुख्य कारण टिकट मूल्य, शो व्यवस्थापन र वितरण संरचनामा रहेको असमानता हो । विदेशी चलचित्रहरू प्रायः मल्टिप्लेक्सका प्रिमियम शोमा उच्च टिकट दरमा प्रदर्शन गरिन्छन् भने नेपाली चलचित्रले त्यति अवसर पाउँदैनन् । साथै, विदेशी चलचित्रको आक्रामक प्रचार, स्थापित ब्राण्ड र ठूलो बजेटका कारण ती चलचित्रले सीमित दर्शकबाट पनि उच्च आम्दानी गर्न सफल हुन्छन् । यसले गर्दा नेपाली चलचित्रले धेरै दर्शक तान्दा पनि समग्र कमाइमा पछि पर्नुपर्ने अवस्था देखिएको हो ।
अन्तर्राष्ट्रिय फिल्मतर्फ हेर्दा बजार केही सीमित तर शक्तिशाली ब्लकबस्टर चलचित्रले ओगटेको छ । ‘कान्तारा : अ लेजेन्ड, च्याप्टर १’ र ‘धुरन्धर : द रिभेन्ज’ जस्ता चलचित्रले १२ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै शीर्ष स्थान ओगटेका छन् । ‘सैयारा’, ‘धुरन्धर’ र ‘अवतार : फायर एण्ड यश’ जस्ता चलचित्रले पनि उल्लेखनीय व्यापार गरेका छन् । यी चलचित्रहरूको सफलता हेर्दा नेपालमा विदेशी चलचित्रको बजार ‘कन्टेन्ट प्लस स्केल’ मा आधारित रहेको देखिन्छ, जहाँ भव्यता, प्रविधि र प्रचारले दर्शक आकर्षित गर्ने प्रमुख भूमिका खेल्छ ।
नेपाली चलचित्रतर्फ भने केही उल्लेखनीय सफलतासँगै अस्थिरता पनि देखिन्छ । चलचित्र ‘परान’ यस वर्षको सबैभन्दा सफल नेपाली चलचित्र बनेको छ, जसले १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । ६ लाखभन्दा बढी टिकट बिक्री गर्न सफल यो चलचित्रले नेपाली फिल्म पनि ठूलो व्यापार गर्न सक्षम रहेको प्रमाणित गरेको छ ।
त्यसपछि ‘आबाट आमा’ र ‘जेरी अन टप’ जस्ता चलचित्रले पनि १० करोडभन्दा माथिको व्यापार गर्दै व्यावसायिक रूपमा सफलता हासिल गरेका छन् । ‘ऊनको स्विटर’ पनि शीर्ष सूचीमा परेको छ, जसले विविध कथावस्तु भएका चलचित्रले पनि दर्शक पाउन सक्ने संकेत गर्छ । तीन लाख ९२ हजार २४३ वटा टिकट बिक्री हुँदा यो चलचित्रले ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
पाँचौँमा ‘जारी-२’ छ । यो चलचित्रले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो चलचित्र दुई लाख नौ हजार ३३३ जनाले हेरेका छन् ।
छैटौँमा ‘बलिदान’ छ । यसले पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ ग्रस कलेक्सन गर्दा एक लाख ७१ हजार ९७६ जनाले हेरेका छन् । सातौँमा ‘मोहर’ छ । यसले पाँच करोड ८९ लाख पाँच हजार ५१२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो चलचित्रको एक लाख ८९ हजार १९६ वटा टिकट बिक्री भएको छ ।
आठौँ धेरै कमाउने चलचित्रमा ‘हरि बहादुरको जुत्ता’ छ । यसको एक लाख ५० हजार ६०८ टिकट बिक्री हुँदा चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नवौँ धेरै कमाउने सिनेमाको सूचीमा ‘माग्ने राजा’ छ । यसको एक लाख ६७ हजार ४८३ टिकट बिक्री भएको छ । यसबाट चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ ग्रस कलेक्सन भएको छ । दशौँ नम्बरमा ‘माइती घर’ । यो चलचित्रले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ ग्रस कलेक्सन गरेको बक्स अफिसको तथ्यांकमा छ ।
यता, सबैभन्दा कम ग्रस कलेक्सन गर्ने चलचित्रमा ‘इन्दिरा धिमे मैचा’ छ । यो चलचित्रको कलेक्सन ११ हजार ७०० रुपैयाँ छ । यो चलचित्रको ७८ वटा टिकट बिक्री भएको तथ्यांक छ । थोरै कमाउने चलचित्रको दोस्रो स्थानमा ‘हेलो काशिराम’ छ । यो चलचित्रको १३२ वटा टिकट बिक्री हुँदा ३४ हजार २०० रुपैयाँ कलेक्सन भएको छ । थोरै कमाउने सिनेमाको सूचीको तेस्रो स्थानमा ‘वैद्य बा’ छ । यो चलचित्र १८८ जनाले हेरेका छन् । ५६ हजार ४०० रुपैयाँ कलेक्सन भएको छ । चौथो नम्बरमा ‘चिराग’ छ । ३८८ जनाले हेरेको यस सिनेमाले ८५ हजार ८५० रुपैयाँ कलेक्सन गरेको छ । पाँचौँ स्थानमा ‘लडाइँ पहिचानको’ छ । ४१८ वटा टिकट बिक्री हुँदा यसबाट एक लाख १३ हजार ८७० रुपैयाँ ग्रस कलेक्सन भएको छ । छैटौँमा ‘परवासी जीवन’ छ । ५२९ वटा टिकट बिक्री भएको यो चलचित्रले एक लाख ४४ हजार २७० रुपैयाँ कलेक्सन गरेको छ । थोरै कलेक्सन गर्ने सिनेमाको सूचीको सातौँ स्थानमा ‘शिवांश’ छ । ७८७ वटा टिकट बिक्री भएको यो सिनेमाले दुई लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक छ ।
समग्र बजार हेर्दा धेरै नेपाली चलचित्रले सन्तोषजनक व्यापार गर्न सकेका छैनन् । केही चलचित्र कहिले हलमा आए कहिले गए पत्तोसम्म भएन । यसले कथा, निर्माण गुणस्तर, प्रचार रणनीति र वितरण प्रणालीमा गम्भीर सुधार आवश्यक रहेको देखाउँछ ।
अघिल्लो वर्ष २०८१ मा नेपाली फिल्म बजारको आकार दुई अर्ब ७० करोड रुपैयाँ पुगेको थियो भने २०८२ मा यो घटेर दुई अर्ब १९ करोडमा सीमित भएको छ । यसले बजार केही संकुचित भएको देखाए पनि सकारात्मक पक्ष के छ भने नेपाली चलचित्रको कुल कमाइ लगातार दोस्रो वर्ष एक अर्बभन्दा माथि पुगेको छ । २०८१ मा ५९ फिल्मले एक अर्ब ८० करोड कमाएका थिए भने २०८२ मा ५६ फिल्मले एक अर्ब ८ करोड कमाएका छन् । यसले चलचित्रको संख्या घट्दा बजार केही सन्तुलित हुने संकेत पनि दिएको छ ।
नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा ठूलो बल भनेको दर्शक नै हो । ३७ लाखभन्दा बढी दर्शकले नेपाली चलचित्र हेर्नु आफैंमा ठूलो उपलब्धि हो । तर, यही दर्शकलाई टिकाउन र उनीहरूबाट आर्थिक लाभ लिनका लागि चलचित्रको गुणस्तर, प्रस्तुति र बजार व्यवस्थापनमा सुधार गर्नु अपरिहार्य देखिन्छ । सफल चलचित्रहरूले देखाएको बाटो पछ्याउँदै स्थानीय कथा, सांस्कृतिक सन्दर्भ र आधुनिक प्रस्तुति मिलाउन सके नेपाली फिल्म अझ प्रतिस्पर्धी बन्न सक्छ ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा फिल्मले सेन्सर सिफारिस प्राप्त गरेका छन् । यसैगरी, यस वर्ष देशभर आठवटा नयाँ सिनेमा हल सञ्चालनमा आएका छन्, जससँगै कुल हल संख्या १७२ पुगेको छ । यस वर्ष नौवटा नयाँ वितरक कम्पनी पनि दर्ता भएको बोर्डले जनाएको छ ।
नेपाली चलचित्रतर्फ भने केही उल्लेखनीय सफलतासँगै अस्थिरता पनि देखिन्छ । केही चलचित्र कहिले हलमा आए कहिले गए पत्तोसम्म भएन । यसले कथा, निर्माण गुणस्तर, प्रचार रणनीति र वितरण प्रणालीमा गम्भीर सुधार आवश्यक रहेको देखाउँछ । सफल चलचित्रहरूले देखाएको बाटो पछ्याउँदै स्थानीय कथा, सांस्कृतिक सन्दर्भ र आधुनिक प्रस्तुति मिलाउन सके नेपाली फिल्म अझ प्रतिस्पर्धी बन्न सक्छ ।
समग्रमा हेर्दा २०८२ साल नेपाली चलचित्रका लागि अवसर र चुनौती दुवै लिएर बिदा भएको वर्ष बनेको छ । एकातिर दर्शकको साथ छ भने अर्कोतिर विदेशी चलचित्रसँगको कडा प्रतिस्पर्धा पनि यथावत् छ । अबको बाटो स्पष्ट छ- नेपाली चलचित्रले आफ्नो मौलिकता कायम राख्दै प्राविधिक र व्यावसायिकस्तरमा सुधार गर्न सकेमात्र दर्शकको उपस्थितिलाई ठोस आर्थिक सफलतामा बदल्न सकिन्छ । अन्यथा, दर्शक नेपाली फिल्मतर्फ आकर्षित भए पनि बजारको ठूलो हिस्सा विदेशी चलचित्रले ओगट्ने क्रम जारी रहनेछ ।
धेरै कमाउने १० नेपाली चलचित्र
१) परान : १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ।
२) आबाट आमा : १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ।
३) जेरी अन टप : १२ करोड २८ लाख ८४ हजार रुपैयाँ ।
४) ऊनको स्विटर : ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ ।
५) जारी-२ : ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ ।
६) बलिदान : पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ ।
७) मोहर : पाँच करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ ।
८) हरिबहादुरको जुत्ता : चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ ।
९) माग्ने राजा : चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ ।
१०) माइतीघर : चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ ।
सबैभन्दा न्यून कमाइ गर्ने पाँच नेपाली चलचित्र
१) इन्दिरा धिमे मैचा- ११ हजार ७०० नेरु ग्रस
२) हेलो काशिराम- ३४ हजार २०० नेरु ग्रस
३) वैद्य बा- ५६ हजार ४०० नेरु ग्रस
४) चिराग- ८५ हजार ८५० नेरु ग्रस
५) लडाइँ पहिचानको- एक लाख १३ हजार ८७० नेरु ग्रस
२०८२ सालमा नेपालमा धेरै कमाउने १० विदेशी फिल्म
१) कान्तरा : अ लेजेन्ड, च्याप्टर १- १२ करोड ३५ लाख ३२ हजार ८४० नेरु ग्रस ।
२) धुरन्धर : द रिभेन्ज- १२ करोड २५ लाख ६ हजार ७६१ नेरु ग्रस ।
३) सैयारा : १० करोड १४ लाख ५ हजार ५०४ नेरु ग्रस ।
४) धुरन्धर : १० करोड ५० लाख ७७ हजार ८२१ नेरु ग्रस ।
५) अवतार : फायर एण्ड यश- ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु ग्रस ।
६) हाउसफुल ५ : चार करोड ९४ लाख २१ हजार ५२३ नेरु ग्रस ।
७) वार २: तीन करोड ८६ लाख ३९ हजार ३० नेरु ग्रस ।
८) तेरे इश्क में : तीन करोड ६२ लाख ६० हजार ११३ नेरु ग्रस ।
९) सितारे जमिन पर : तीन करोड २८ लाख ८७ हजार ५९२ नेरु ग्रस ।
१०) बोर्डर २ : दुई करोड ६३ लाख २५ हजार ५२२ नेरु ग्रस ।
विशिष्ट सर्जकको अपूरणीय क्षतिको वर्ष
वर्ष २०८२ नेपाली कला तथा मनोरञ्जन क्षेत्रका लागि अत्यन्त पीडादायी रह्यो । यस वर्षले हामीबाट केही यस्ता प्रतिभाशाली र चर्चित व्यक्तित्वहरूलाई खोस्यो, जसको योगदान सधैं स्मरणीय रहनेछ । उनीहरूको अनुपस्थितिले सिर्जना गरेको शून्यता तत्काल पूर्ति हुने देखिँदैन तर उनीहरूले छोडेर गएका कला र सिर्जनाले नेपाली समाजलाई दीर्घकालसम्म प्रेरित गरिरहनेछ ।
२४ माघमा ६८ वर्षको उमेरमा वरिष्ठ कलाकार सुनिल थापाको निधनले नेपाली चलचित्र क्षेत्र स्तब्ध बन्यो । स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो र परीक्षणपछि उहाँको मृत्यु पुष्टि भयो । प्रारम्भिक अनुमानअनुसार कार्डियाक अरेस्टका कारण उहाँको निधन भएको हो । नेपाली चलचित्र उद्योगमा उहाँले पुर्याएको योगदान अतुलनीय मानिन्छ, विशेषतः खलनायकदेखि चरित्र अभिनेतासम्मको उहाँको बहुआयामिक अभिनयले दर्शकको मन जितेको थियो ।
गत जेठ २० गते हास्य कलाकार घनश्याम गौतमको निधनले टेलिभिजन क्षेत्रमा ठूलो क्षति पुर्यायो । लोकप्रिय हास्य शृंखला ‘मेरी बास्सै’मा ‘नक्कली प्रचण्ड’ पात्रमार्फत् उहाँ घर–घरमा परिचित बन्नुभएको थियो । विगत दुई वर्षदेखि आन्द्राको क्यान्सरसँग संघर्षरत गौतम भक्तपुरस्थित क्यान्सर सेन्टरमा उपचाररत हुनुहुन्थ्यो । उहाँको विशिष्ट हास्य शैलीले दर्शकलाई लामो समयसम्म हँसाइरह्यो ।
२७ पुसमा गायक तथा अभिनेता प्रशान्त तामाङको भारतको नयाँदिल्लीस्थित निवासमै हृदयघातका कारण निधन भयो । ‘इण्डियन आइडल’का विजेता तामाङ नेपाली संगीत र चलचित्र क्षेत्रमा उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता उहाँका गीतहरू आज पनि नेपाली जनजीवनमा गुञ्जिरहेकै छन् ।
यसै वर्ष ‘मेरी बास्सै’की चर्चित कलाकार लक्ष्मी श्रेष्ठको पनि निधन भयो । ‘अप्सरा आमा’को भूमिकाबाट दर्शकमाझ विशेष पहिचान बनाउनुभएकी श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले ‘जिरे खुर्सानी’, ‘कान्छी’ र ‘उल्टो सुल्टो’ जस्ता लोकप्रिय सिरियलहरूमा समेत अभिनय गर्दै आफ्नो छुट्टै छाप छोड्नुभएको थियो ।
तामाङ सेलोकी प्रसिद्ध गायिका इन्दिरा गोले गुरुङको निधनले संगीत क्षेत्र शोकमग्न बन्यो । दुई वर्षदेखि क्यान्सरसँग जुधिरहनुभएकी उहाँ ललितपुरस्थित निवासमै बित्नुभयो । करिब पाँच हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी उहाँले तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष दिनेश सिटौलालाई पनि हामीले २०८२ मा गुमायौं । उहाँको निधनले पत्रकारिता क्षेत्रलाई पनि ठूलो क्षति पुर्यायो । अछाममा आयोजित एक चुनावी कार्यक्रममा सहभागी भइरहेका बेला अचानक बिरामी परेपछि उहाँलाई काठमाडौं ल्याइएको थियो । सब-अरेक्नोइड हेमरेजका कारण उहाँको निधन भएको हो ।
यसैगरी, प्रथम अभिनेत्री भुवन चन्दका श्रीमान् माइकल चन्दको ७७ वर्षको उमेरमा निधन भयो । उहाँ रेडियो नेपाल र गोथे इन्स्टिच्युटसँग आबद्ध रहँदै सञ्चार र सांस्कृतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
वर्ष २०८२ को सबैभन्दा पीडादायी घटनामध्ये एक सञ्चारकर्मी दीपेन्द्र खनियाँको असामयिक निधन पनि रह्यो । नेपाली रेडियो तथा हास्यव्यंग्य क्षेत्रमा सक्रिय उहाँले रेडियो सगरमाथाबाट आफ्नो करिअर प्रारम्भ गर्नुभएको थियो । पछि आफ्नै नेतृत्वमा ‘रेडियो अडियो’ सञ्चालन गर्दै सफल मिडिया उद्यमी बन्नुभएको थियो । उहाँले ‘छक्कापञ्जा-३’ र ‘छक्कापञ्जा-५’ जस्ता चर्चित चलचित्रको निर्माता भएर फिल्म क्षेत्रमा पनि योगदान दिनुभएको थियो ।
समग्रमा, वर्ष २०८२ नेपाली कला र मनोरञ्जन क्षेत्रका लागि अपूरणीय क्षतिको वर्षका रूपमा इतिहासमा अंकित भएको छ । यी सबै व्यक्तित्वहरूले आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदान अमूल्य छ । उहाँहरू अब शारीरिक रूपमा हामीमाझ नभए पनि उहाँहरूको सिर्जना, कला र सम्झनाले सधैं जीवित रहनेछ । उहाँहरूले बनाएको सांस्कृतिक विरासतले आगामी पुस्तालाई प्रेरणा दिइरहनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि