एक वर्ष कहाली लाग्दो भए । विश्वयुद्धको सम्भावित खतरा र रापले अहिले पनि विश्य आतंकति कम्पित छ । नेपालको वितेको एक वर्ष अर्थात् २०८२ अभूतपूर्व अराजकताको मारमा पर्यो । राजनीतिक पविर्तनको अर्थ सत्तामात्रै हो भने नेपालमा फेरि राजनीतिक परिवर्तन भएको छ । समय प्रतिपल नयाँ हुन्छन् तर युगीन चेतनाहरूले ती पललाई व्यवस्थित रचनात्मक बनाइरहेका हुन्छन् । यतिखेर मेसिन युग सुरु भएको हुनाले कुनै विवेक, चेतनाको अर्थ देखिँदैन । विवेकहीन मेसिनको नियन्त्रणअन्तर्गत मानिसहरूको दैनिकी चलिरहेको छ । नेपालको राजनीतिक परिवर्तन पनि त्यही र त्यही प्रकारको मेसिनमार्फत भएको हो कि भन्ने मानिसहरूमा परेको छ ।
विसं.२०८२ पूर्वीय पात्राको हिसाबले गणना भइरहेको सम्वत् हो । वैशाख १ भोलि हो र यसैको आगमनसँगै विसंको नव वर्ष आरम्भ हुन्छ । विक्रमादित्यका आधारमा गणना गर्ने समाज, देश सायद नेपालमात्रै हो । आधिकारिक वर्ष यसैलाई मनाउने नेपाली मात्रै हुन् । कतिपयलाई वर्तमान भारतअन्तर्गतका कुनै शासकको नामम विक्रमादित्य भएको हुनाले यो संवत् चलाउनु हुन्न भन्नेहरू पनि छन् । नेपालमा समुदाय अनुसारका संवत् व्यवहरित छन् । नेपाल संवत्लाई धेरै भएको छैन औपचारिक बनाउने प्रयास भइरहेको छ । शाके सम्वत् पनि छ । अनि महामना गौतम बुद्धको सम्मानमा बुद्ध सम्वत् प्रयोगमा ल्याए पनि हुन्छ । तर, यी आन्तरिक सम्वत्भन्दा अन्तराष्ट्रिय प्रचलनमा रहेको इ.संलाई चलाउन माग पनि भइरहेको सुनिन्छ । यद्यपि विक्रम संवत् आजको यथार्थ हो र यसैका आधारमा नेपालको वर्ष गणना हुनेगरेको छ ।
अनेक भविष्यवाणीका विपरीत नेपालको शासकीय परिवर्तन २०८२ ले गर्यो । नेपालका लागि यो परिवर्तन आफैंमा अनपेक्षित, आश्चर्यजनक र रहस्यमय अनुभूत भएको छ । जेन–जी नामको युवा समूहले सुरु गरेको भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको निर्वाध उपयोगको सभ्य माग अन्ततः असभ्य हिंसा र भयानक अराजकतामा अनूदित हुन पुग्यो । यो हिंसा र अराजकताको सुनामीले असी वर्षयता एकछत्र लोकतान्त्रिक राजनीतिको मियो भएको राजनीतिक दललाई धुलोमा मिलाउने काम गर्यो । समाजवाद र वैज्ञानिक समाजवादका गफ दिने सबै बेलुनको हावा फिस्स फुस्काउने काम गर्यो । क्षेत्रीय, जातीय राजनीतको कुवा खनिरहेकाहरू सबैको उठिवास भयो ।
परम्परागत राजनीतिलाई राष्ट्रवादका नाममा पुनर्स्थापित गर्न खोज्ने शक्तिलाई हिस्स बनाइ दियो । हिजोसम्मका राजनीतिक मान्यता, राजनीतिक आचरण र व्यवहार अनि संगठनका राजमार्गमा गरिने सबै खाले व्याख्याहरू धराशायी भए । भदौ २३ र २४ लाई नै शासकीय राजनीतिक परिवर्तनको कोशे ढुंगा मान्ने हो भने त्यसैको उत्कर्ष हो फागुन २१ को निर्वाचन र त्यसले दिएको परिणाम । गत दुई वर्षयता दक्षिण एसियाली राष्ट्रहरू सुनामीको आहट सुनिरहेका छन् । पहिले माल्दिभस, त्यसलगत्तै अफगानिस्तान, त्यससँगै श्रीलंका, अनि बंगलादेश र पाकिस्तानले यस्तो सुनामी भोगिसकेका हुन् । त्यही प्रकारको सुनामीको वाछिटाले नेपाल पनि आक्रान्त हुन्छ भन्ने सन्देश र सन्देह कसैलाई भएन । धेरै राजनीतिक ज्योतिषीहरूले नेपाल पनि त्यही मेहरोमा छ भनिरहेका थिए । तर, शासनमा विश्वासपूर्वक धृतराष्ट्र आसन र दुर्योधन अहंकारको पुलिन्दा बोकेर बसेका नेतृत्वले यो भविष्यवाणीलाई निरर्थक आलोचना र आरोप जस्तो अनुभव गरिरह्यो । शासन जब धृतराष्ट्र नीतिको, चरित्रको प्रतीक हुन्छ र दुर्योधनरूपी अहंकारको महासागरमा गोता लगाउन पुग्छ देश र जनताले अकल्पनीय कष्ट उठाउनुपर्ने हुन्छ । विसं २०८२ नेपाली जनतालाई शान्त्वनाको स्थानमा असहज पीडा प्रदान गरेर बिदा हुनलागेको छ । राष्ट्रमा परिघटित घटनाहरूले नेपालीहरूलाई अन्यत्र हेर्न फुर्सद नै भएको छैन ।
तत्काल विगतमा आएको सुनामीले दिएको परिवर्तन कति आस लाग्दो भरपर्दो हुने हो अहिल्यै भन्न सकिँदैन । अपरिपक्व उमेरका युवा पंक्तिको हातमा सत्ता पुगेको छ । लामो संघर्ष र अनुभव नभएकाहरूमा देश चलाउनसक्ने कुशलता कति हुने हो भन्न सकिन्न । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात भनिन्छ । आरम्भ चिल्लो पातको लक्षणहीन जस्तो अनुभव हुँदैछ । घृणा, प्रतिशोध, सस्तो प्रचार, रहस्यमय प्रस्तुति, सम्पर्कहीन व्यवहार, सम्वादहीन चरित्र, अस्वाभाविक शैली, राष्ट्रिय गरिमा र मर्यादाप्रति गम्भीरताको अभाव अनेक संकेतहरू परिवर्तित शासकीय व्यवहार जस्ता लाग्छन् । हिजो सत्तापूर्वका अभिव्यक्तिको फन्दामा झुण्डिने गरी अहिलेका अभिव्यक्ति प्रकट भइरहेका छन् । हिजो हुन नसकेका काम भनेको युवाहरूलाई वैदेशिक श्रमबजार र पढालिखाहरूलाई विकसित देशहरूमा निरन्तर भइरहेको पलायन रोक्ने असमर्थता र स्वदेशमानै रोजगारीको व्यवस्था । एक सय दिनमा विदेशमा गएका युवाहरूलाई फर्काउने वचन हिजोका दिनमा प्रकट गर्नेहरू अहिले शासकीय बाग्डोरमा छन् । तर एक सय दिनमा युवालाई स्वदेश फर्काउने कुनै रणनीति देखिएको छैन । खाडीदेखि विभिन्न अन्य देशको श्रमबजारमा पुगेका युवाहरूको सपना सार्थक हुने लक्षण छैन । विकसित राष्ट्रहरूमा पुगेका पढालिखाहरू त कुनै गैरकानुनी काम नगरी वा कमाइ र रोजगारीको उचित प्रबन्ध नभएमा मात्रै देश फिर्ता हुने हुन् । जस्तो अहिलेको शासकीय नियन्ताहरूको नै विगतको अनुभव सुनिन्छ । क्रमशः विगत एक वर्षका घटनाहरूका आधारमा मूल्यांकन गर्दा अर्को वर्ष आर्थिक रूपले देश जर्जर हुने संकेत देखिन्छ । ऋणको भार थपिने, क्रयशक्ति कमजोर हुने, मुद्रास्फीति झन् भयावह हुने, रोजगारीविहीन युवाहरूका कारण राजनीतिक अस्थिरता झन् बढ्ने जस्तो देखिँदैछ, जसको जग ०८२ ले नै बसाइँ सकेको छ ।
एकातिर देशको हालत यस्तो छ भने अर्कोतिर खाडी युद्धका कारण संकट गहिरो हुँदैछ । खाडी क्षेत्रमा पुगेका करीव २५ लाख नेपाली युवाहरूको नेपाल आगमनले सन्त्रास पैदा गर्ने निश्चित छ । जीवन र मरणको सन्धिविन्दुमा रहेर । म गर्न पुगेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्ता नगरी हुँदैन । ०८२ को उपहार जस्तो भएर देखिएको अमेकिा, इजरायल र इरान युद्धले जीवनका हरेक क्षेत्रमा असर परिरहेको छ । ग्यास, डिजेल, पेट्रोलको मूल्य आकाशिएको छ भने उपभोक्ताले सहज पाउने वातावरण पनि छैन । चरम महँगी र अभावले जनजीवन आतंकित छ । ०८२ का यसरी नै हाम्रा सामुबाट अलप हुन लागेको छ । हामी विगत सालको सामान्य समीक्षाकासाथ आउने सालको स्वागतमा प्रतीक्षारत छौं । आउने साल शुभ होस्, कल्याणकारी होस् शुभकामना ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि