काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि कांग्रेसले निर्वाचन समितिसमेत बनाएको छ । पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’को संयोजकत्वमा बनेको उक्त समितिले वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी थालेको हो । निर्वाचन तालिका भने वैशाख २ गते आउने उहाँले बताउनुभयो ।
उहाँले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको पनि बताउनुभयो । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने उहाँको भनाइ छ । वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताउनुभयो ।
‘नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ’, उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानुपर्छ नै । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्धतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’
कांग्रेसका प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् । ३८ सांसदको नेता हुनका लागि चार नेताले इच्छा देखाएका छन् । नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका हुन् । केसी र आङ्देम्बेले सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताउनुभएको छ । दलको नेता छान्ने निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि