काठमाडौं । भारतीय सुविख्यात गायिका आशा भोसलेको भौतिक देह अब रहेन । उहाँको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उहाँले अन्तिम सास फेर्नुभएको थियो । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मनुभएकी उहाँले सानै उमेरदेखि संगीतमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो । उहाँ नौ वर्षकै उमेरमा व्यावसायिक रूपमा संगीतमा लाग्नुभएको थियो । १९४३ सम्ममा उहाँले आफ्नो पहिलो गीत रेकर्ड गराउनुभएको थियो । उहाँ प्रसिद्ध रंगमञ्च अभिनेता तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी तथा प्रसिद्ध गायिका लता मंगेशकरकी कान्छी बहिनी हुनुहुन्छ । उहाँको बुबाको मृत्यु उहाँ केवल नौ वर्षको हुँदा भएको थियो, जसका कारण परिवारलाई सहयोग गर्न उहाँले आफ्नी बहिनी लता मंगेशकरसँग गाउन थाल्नुभएको थियो । पारिवारिक वातावरण नै संगीतमय भएकाले उहाँ सानैमा यसतर्फ आकर्षित हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार आज (सोमबार) गर्ने बताइएको छ ।
२० भाषामा १२ हजार गीत
आशा भोसलेले पाँच दशकभन्दा बढी समयसम्म संगीत क्षेत्रमा काम गर्नुभयो । उहाँले आफ्नो करियरमा करिब २० भन्दा बढी भाषामा १२ हजार भन्दा बढी गीत गाउनुभएको छ । भारतीयका साथै अन्य क्षेत्रीय भाषामा समेत उहाँले आवाज दिनुभएको छ । आशा भोसले नेपाली संगीत क्षेत्रका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ । मातृभाषा अर्कै भए तापनि उहाँले धेरै नेपाली गीतहरूमा स्वर दिनुभएको छ । जुन एउटा ‘भर्सटाइल’ गायिकाको सग्लो प्रमाण पनि हो । एक कालमा नेपाली चलचित्र क्षेत्रमा उहाँको दबदबा जस्तै थियो । नारायण गोपाल, रञ्जित गजमेर, शम्भुजित बास्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेल लगायतसँग उहाँले सहकार्य गर्नुभएको छ ।
कैयौँ नेपाली चलचित्रमा समेत उहाँको आवाज सुन्न सकिन्छ । ‘वसन्त नै लुक्न खोज्छ यहाँ’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘गैह्रीखेतको शिरै हान्यो’, ‘एउटा मान्छे मनपर्छ बोल्न सक्दिनँ’ लगायत गीत लोकप्रिय छन् । उहाँले विभिन्न युगका दिग्गज संगीतकारहरूसँग पनि काम गर्नुभएको छ, जस्तै- शंकर-जयकिशन, खैय्याम, रवि, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नैय्यर, इलैयाराजा, बप्पी लहरी र ए.आर. रहमान ।
कठिन प्रतिस्पर्धाबीच पहिचान
१९४० को दशकको अन्त्य र १९५० को सुरुवातमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकर जस्ता स्थापित गायिकाहरूबीच उहाँले आफ्नो स्थान बनाउनुभएको थियो । सुरुका दिनमा उहाँले धेरै कम बजेटका चलचित्रहरूमा गीत गाउनुभएको थियो । उहाँलाई सन् १९५२ मा सज्जाद हुसैनको संगीतमा बनेको चलचित्र ‘संगदिल’ चिनाएको थियो । त्यही वर्ष उहाँले ‘छम छमा छम’ मा अभिनय पनि गर्नुभएको थियो ।
त्यसपछि विमल रोयले उहाँलाई ‘परिणीता’ १९५३ मा अवसर दिनुभयो । राज कपूरले ‘बूट पा‘लिश’ १९५४ का सबै गीत गाउन लगाउनुभएको थियो । जसले उहाँलाई लोकप्रियता दिलाएको थियो । उहाँले चलचित्रमा मात्र नभई एल्बम र एकल गीतहरू पनि गाउनुभएको थियो । उहाँ ‘ग्रामी अवार्ड’का लागि नामांकन पाउने पहिलो भारतीय गायिका पनि हुनुहुन्छ । सन् १९४३ मा मराठी चलचित्र ‘माझा बल’बाट सुरु भएको उहाँको सांगीतिक करियरले एक समयमा नेपाली संगीतलाई ठूलो योगदान पुर्याएको छ ।
आशा भोसलेको निधनसँगै भारतीय तथा दक्षिण एसियाली संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । यद्यपि, उहाँका अमर गीतहरूले उहाँलाई सधैँ सम्झाइरहनेछन् । शरीर जान्छ, तर केही आवाजहरू हावामा अड्किएर रहन्छन्, टाढासम्म, धेरै बेरसम्म, कहिलेकाहीँ सधैँको लागि ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि