काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिलो विदेश भ्रमण भारत हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई भ्रमणको निम्तो दिनुभएको हो । प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीले दिएको निम्तो स्वीकार गरेसँगै पहिलो विदेश भ्रमण भारतबाट हुने निश्चित भएको छ । भारतका प्रधानमन्त्री मोदीले बालेनलाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ । तर, नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमणको औपचारिक घोषणा भने गरेको छैन ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसक्नु भएको छ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहनुभएका परराष्ट्रमन्त्री खनालले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री खनालले भन्नुभयो, ‘अन्य दुई पक्षीय विषयसँगै दुई देशबीच उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको हो । मिति नै तय भएको होइन ।’
नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरेर बधाई दिनुभएको थियो । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्नुभएको छ । भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गर्नुभएको थियो । नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरू तय गरिरहेको भन्दै खनालले भारतीय पक्षलाई जानकारी गराएका बताउनुभएको छ । नेपाल र भारतबीच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रहरूमार्फत अघि बढ्ने बताउनुभयो ।
भारतीय विदेशमन्त्री जयशंकर र आफूबीच पहिले नेपालले आन्तरिक रूपमा आफ्ना प्राथमिकता तय गर्ने र त्यसैका आधारमा विभिन्न उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने सहमति भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीस्तरको भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने भएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमण एक महिनाभित्रै हुनसक्ने र प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
भारतीय विदेशमन्त्रीसँग नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल-भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेको बारेमा जानकारी गराएको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो, ‘नेपाल भारतबीच अत्यन्तै गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ । त्यसबारे हामीले अध्ययन गरिरहेका छौँ । त्यसक्रममा नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गर्नेछ । त्यो सकेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गरौँ । सँगसँगै उच्चस्तरीय भ्रमणको तयारी पनि गरौँ भन्ने कुरा मैले राखेँ ।’ प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय पनि अन्ततः द्विपक्षीय संयन्त्रहरूले नै निर्धारण गर्ने परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्नुभएको छ ।
नयाँ सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पनि मन्त्री खनालले केही दिनअघि मात्रै प्रधानमन्त्री शाहले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै सरकार नयाँ हुँदैमा परराष्ट्र नीतिको निरन्तरता नतोडिने स्पष्ट पारेको जानकारी दिनुभएको छ । नेपालको संविधानले नै परराष्ट्र नीतिका आधारभूत कुराहरू निर्दिष्ट गरेको उल्लेख गर्दै उहाँले क्षेत्रीय अखण्डता, सार्वभौमसत्ताको रक्षा, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै वर्तमान सरकारको पनि आधारभूत मूल्यमान्यता हुने स्पष्ट पार्नुभएको छ । आफ्ना छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक वृद्धिसँग जोडेर अगाडि बढाउने सरकारको नीति रहेको उहाँको भनाइ छ ।
यसअघि प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै पहिलो विदेश भ्रमण कहाँ हुने भन्नेबारे चर्चा हुने गर्दथ्यो । खासगरी प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुने हो कि होइन भन्नेमा चासो बढ्ने परम्परा नै बनिसकेको छ । विगतमा भारत र चीनले आ-आफ्नो देशको भ्रमण गराउन प्रतिस्पर्धा नै गर्ने गरेका थिए । प्रायः नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाट हुने गरेको थियो । तर, पछिल्लो समय निरन्तरताको क्रमभंग भएको थियो । नेपालका केही प्रधानमन्त्रीले भारतबाहेक अन्य देशबाट पनि आफ्नो पहिलो विदेश भ्रमणको सुरुवात गरेका थिए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लामो समय भारतले भ्रमणको निमन्त्रणा नै दिएको थिएन । भारतले निम्तो नदिएपछि ओलीले चीन भ्रमण गर्नुभएको थियो ।
प्रधानमन्त्री भएको लामो समयपछि मात्रै भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थियो । भ्रमणको तयारी चलिरहेको समयमा ‘जेन–जी’ आन्दोलन भएपछि ओली नेतृत्वको सरकार ढलेको थियो । ‘जेन-जी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भारत भ्रमणको निम्तो थियो । तर, छोटो समयका लागि बनेको चुनावी सरकारको नेतृत्व गर्नुपरेका कारण कुनै देशको भ्रमण नगर्ने भन्दै प्रधानमन्त्री कार्कीले भारत भ्रमण गर्नुभएन । प्रधानमन्त्री बालेनलाई सबैभन्दा पहिलो निम्तो भारतबाट आएको छ ।
परराष्ट्रमन्त्रीको मरिसस र सिंगापुरका मन्त्रीहरूसँग भेटवार्ता
नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिंगापुर मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एच.इ.धनञ्जय रामफल र सिंगापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.इ.जुल्कर्नाइन अब्दुल रहिमसँग शनिबार भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गर्नुभएको थियो ।
बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता
सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको जनाएको छ । न्युयोर्कमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले आइतबार विश्व संस्थाको मुख्यालयमा २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसंघीय शान्तिसेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसंघलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्द्धनबाट सामना गर्न सकिने बताएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिएको उक्त नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित उक्त राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका खातिर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताउनुभएको छ ।
हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसंघीय ‘मिसन’ मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उहाँले बताउनुभएको छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि