युटोपिया भनेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पूर्ण एक सुदर काल्पनिक स्थान वा अवस्था हो भने डिस्टोपिया भनेको उपरोक्त सबै हिसाबले अपूर्ण एक कुरूप काल्पनिक स्थान वा अवस्था हो । धार्मिक-सांस्कृतिक भाषामा तिनलाई स्वर्गलोक र नर्कलोक भन्न सकिन्छ । स्वर्गलोक भनेको सकारात्मक सोचमा सपना देख्ने व्यक्तिको दिमागमा अवस्थित संसारको सुन्दर तस्वीर हो । त्यसको विपरीत नर्कलोक भनेको नकारात्मक सोच भएको व्यक्तिले देख्ने अवास्तविक संसारको कुरूप तस्वीर हो ।
कल्पनामा स्वर्गसरी सुखको संसार देखिए पनि यथार्थमा अस्तित्वमा नरहेकाले युटोपियालाई स्वप्नलोक पनि भन्न सकिन्छ । स्वप्नलोकको कल्पना आफैंमा नराम्रो कुरा होइन तर यसकै पछि लागेर रमाइरहने प्रवृत्ति भने अव्यावहारिक हुन जान्छ । सपना देख्ने व्यक्तिले काल्पनिक स्वर्ग सिर्जना गर्छ र यसलाई वास्तविकभन्दा बढी सुन्दर देखाउँछ । उसले एउटा सुन्दर संसारको विचारधारा निर्माण गर्छ जसलाई आमजनताले सत्य हो भनेर पत्याउँछन् । त्यसैगरी विपरीत सपना देख्नेले एक काल्पनिक नर्कको सिर्जना गर्छ र यसले यथार्थ संसारलाई वास्तविकभन्दा बढी कुरूप देखाउँछ । युटोपियन संसार मनोरम वातावरणले सुसज्जित हुन्छ जहाँ मानिसहरू आसैआसको महल बनाएर रमाएका हुन्छन् तर डिस्टोपियन संसार उदास वातावरणले भरपूर हुन्छ जहाँ मानिसहरू यसलाई सुधार गर्ने तरिका नदेखेर निरास हुन्छन् ।
नवगठित सरकारले शासन प्रणालीमा उल्लेखनीय सुधार ल्याउनेछ र राष्ट्रको समग्र विकासका लागि मार्ग प्रशस्त गर्नेछ भनेर हामी आशावादी छौं तर यसले पस्केको युटोपियन सपना पूरा हुने कुरामा हामी सशंकित पनि छौं, किनभने यस सरकारले पनि पहिलेका सरकारहरूले झैँ केही अवरोधहरूको सामना गर्नुपर्नेछ ।
तथापि धेरै मानिसहरूले अनुमान गरेजस्तो युटोपिया र डिस्टोपिया केवल सपनामा देखिने कल्पनामात्र होइनन् । यी शब्दहरू दार्शनिक र राजनीतिक क्षेत्रमा पनि संसारका धेरै भागहरूमा कुनै न कुनै रूपमा प्रयोगमा आएका छन् । प्राचीन समयका दार्शनिकदेखि सोह्रौं शताब्दीका लोकतान्त्रिक चिन्तक एवं आधुनिक युगका समाजशास्त्रीसम्मका विचारकहरूले युटोपियन संसारको परिकल्पना गरेका छन् । इसापूर्व ३७५ को प्लेटोको आदर्श गणराज्यपछि सन् १५१६ को युटोपिया शीर्षकको सर टमस मूरको एउटा राजनीतिक कृति प्रकाशन भयो जसलाई प्रसिद्ध प्राचीन ग्रीसेली दार्शनिक प्लेटोको आदर्श गणराज्यको अर्को रूपमा लिन सकिन्छ । त्यसै गरी सन् १८४८ मा कार्ल मार्क्सको कम्युनिष्ट मेनिफेष्टो शीर्षकको कृतिले पनि एक प्रकारको युटोपियन तस्वीर नै देखाएको छ ।
कुनै पनि अघिल्लो शासन पूर्णतया डिस्टोपियन थिएन र कुनै पनि पछिल्लो सरकारले यो राष्ट्रलाई स्वर्गलोक बनाउने सम्भावना छैन । पछिल्लो सरकारले देखाएको युटोपियाको बाबजुद अर्को सम्भावना पनि क्षितिजमा लुकेको छ । यदि युटोपिया कल्पनामा खेल्छ भने सामुन्नेको वास्तविकतामा डिस्टोपिया भेटिन्छ । यी दुई सामाजिक अवस्थाबीच सधैं द्वन्द्व हुन्छ । एक समयमा एक प्रभुत्वशाली हुन्छ भने अर्को समयमा अर्को प्रभुत्वशाली रूपमा देखा पर्दछ । एक अर्थमा तिनीहरू एकअर्काको सामना गर्दै छेउछाउमा उपस्थित भइरहेका हुन्छन् ।
सपना देख्नेहरूले कल्पना गरेजस्तो युटोपियन संसारको सपना कहिल्यै साकार भएको छैन । युटोपियन सपना पूरा हुन नसकेको अवस्थालाई उछालेर अर्काथरी नकारात्मक मानिसहरूले डिस्टोपियन तस्वीर देखाउँछन् । युटोपिया र डिस्टोपिया दुवै अवास्तविक अवस्था हुन् तर दुवै अवस्थाहरू अतिरन्जित रूपमा देखाइएका हुन्छन् ।
नेपाली राजनीतिमा धेरै पहिलेदेखि त्यही भइरहेको छ । यसपटक नयाँ उदय भएको राजनीतिक दलले अघिल्लो शासनलाई वास्तविकभन्दा बढी खराब देखाएको छ । तिनीहरूले पहिलेको सरकारलाई भ्रष्टाचार र फोहोरले भरिएको कुरूप संसारको रूपमा प्रस्तुत गरेका छन् । तिनीहरूले आमजनतालाई उनीहरूले भनेको कुरा पूर्णरूपमा सत्य हो भनेर विश्वास दिलाएका छन् यद्यपि यो सापेक्षिक सत्यमात्र थियो । यसले नै उनीहरूलाई चुनावमा बढी मत प्राप्त गर्न सक्षम बनायो । धेरै हदसम्म नयाँ राजनीतिक दलले जनताको मन जितेको छ र उनीहरूलाई यसका लागि मतदान गर्न राजी गराएको छ । फलस्वरूप यसले लगभग ५० प्रतिशत मत प्राप्त गरेको छ जसले गर्दा संसद्मा लगभग दुईतिहाइ बहुमत प्राप्त गरेको छ । धेरैजसो विजेताहरूले पहिले नै एउटा काल्पनिक सपना सिर्जना गरिसकेका छन् । मतदाताहरूले यो कसरी सम्भव छ भनेर प्रश्न नगरी यसलाई सामान्य र स्वाभाविक रूपमा लिएर मतदान गरेका हुन् ।
नवगठित सरकारले शासन प्रणालीमा उल्लेखनीय सुधार ल्याउनेछ र राष्ट्रको समग्र विकासका लागि मार्ग प्रशस्त गर्नेछ भनेर हामी आशावादी छौं तर यसले पस्केको युटोपियन सपना पूरा हुने कुरामा हामी सशंकित पनि छौं किनभने यस सरकारले पनि पहिलेका सरकारहरूले झैँ केही अवरोधहरूको सामना गर्नुपर्नेछ । राजनीतिक, आर्थिक र सांस्कृतिक जस्ता केही विश्वव्यापी कारकहरू धेरै मानिसहरूले सोचेजस्तो सजिलै समाधान हुँदैनन् ।
लोकतान्त्रिक र गणतन्त्रात्मक शक्तिहरूले सञ्चालन गरेका अघिल्ला सरकारहरूले प्रतिज्ञा गरेका युगान्तकारी क्रान्तिको विगतका सपना र त्यही व्यवस्थाअन्तर्गतको शासन प्रणालीमात्र बेठीक थियो भन्ने वर्तमान वैकल्पिक राजनीतिक दलको सरकारले अघि सारेका सुधारवादी सपनाबीच उल्लेखनीय भिन्नता छन् । जसरी पूर्ववर्ती सरकारहरूले नेपाललाई स्वर्ग बनाउने वाचा गर्दै ‘समृद्ध राष्ट्र खुशी राष्ट्रवासी’को नारा लिएर आदर्श राज्यको युटोपियन सपनाको कल्पलोक अघि सारेका थिए वर्तमान सरकारले पनि अब यो देशलाई भ्रष्टाचारप्रति शून्य सहनशीलताको भूमि, पूर्णरूपमा योग्यता, क्षमताद्वारा सञ्चालित राज्य संयन्त्रबाट सञ्चालित हुने अर्को आदर्श राज्य बनाउने सपना हरेक मतदाता सामु पस्केको छ । त्यत्तिमात्र नभएर देशको अर्थतन्त्रलाई द्रुत रूपमा वृद्धि गरेर पूर्ण रोजगारीमार्फत् प्रतिव्यक्ति आम्दानी बढाउने वाचा गरेको छ ।
तर, नवगठित सरकारले वाचा गरेका उल्लिखित कुराहरू कुनै नयाँ कुरा होइनन् । यो सरकारले पनि पूर्ववर्ती सरकारहरूले जस्तै अघिल्ला सरकारका कामलाई डिस्टोपियन देखाएर आफ्नो सरकारले गर्ने भनेका कामलाई युटोपियन ढंगले प्रस्तुत गरेकै छ । आफ्नो वाचामा सतिसाल झैँ अडिएर सुविचारित ढंगले काम गर्न नसकेको खण्डमा यो सरकारले खडा गरेको युटोपिया विपक्षी राजनीतिक शक्तिहरूले डिस्टोपियामा परिणत गरिदिन धेरै समय लाग्ने छैन ।
आर्थिक अवस्था कम जटिल छैन । नेपाल जस्ता देशहरूमा आर्थिक कारकहरू सबैभन्दा दबाबपूर्ण छन् । आफ्नो जीविकोपार्जनका आवश्यकताहरू पूरा गर्न सबैभन्दा ऊर्जावान युवाहरू भारतसहित अरब विश्व र दक्षिणपूर्वी एसियाली देशहरूमा श्रमरोजगार खोज्न बाध्य छन् । फलस्वरूप हाम्रा उर्वर खेतबारी बाँझो बनेका छन् । हाम्रो उत्पादकत्व घटेको छ र हामी अन्य देशहरूबाट खाद्यान्न आयात गर्छौं ।
यस सन्दर्भमा विश्वव्यापी सत्यको रूपमा स्थापित एउटा सत्य हामीले बिर्सनु हुँदैन । यदि हामी ठूलो आशा गर्छौं तर सानोमा समाप्त हुन्छौं भने हामी अत्यन्तै निराश हुन्छौं । यदि हामी धेरै चाहन्छौं तर कम छ भने हामी असन्तुष्ट हुन्छौं । हाम्रो देशमा ठ्याक्कै त्यही भइरहेको छ । थोरैमा केही नदेखेर हामी दुःखी छौं र हामीसँग जे छ त्यसमा सन्तुष्ट हुन नसकेर हामी मोहभंग भएका छौं । यो अशान्त मनस्थिति हाम्रा युवाहरूमा विद्यमान छ ।
वर्तमान सरकारका निम्ति आफ्ना वाचा पूरा गर्न केही राजनीतिक, आर्थिक र सांस्कृतिक अवरोधहरू असफलताका कारकतत्व हुन् सक्नेछन् । ती कारक तत्व पहिलेका सरकारसामु थिए र अहिले पनि पहिले झैँ विद्यमान छन् बरू ठूलो उथलथलका साथ पहिलेको निर्वाचित सरकारलाई पल्टाएर आएको सरकार हुनाले यसका सामु ती कारकतत्व झन् बढी पेचिला भएर उपस्थित हुनेछन् ।
राजनीतिक परिस्थिति अत्यन्त जटिल छ । पहिलो कुरा विकासका लागि बाधक भन्ने ठानिएका संवैधानिक र कानुनी जटिलताहरू सरलीकरण गर्न राष्ट्रियस्तरका राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेछ । प्रतिनिधिसभामा मात्र दुईतिहाइ बहुत भएर नपुग्ने हुँदा राष्ट्रियसभामा पनि सहमति जुटाउन सबै राजनीतिक दलहरूबीच सुमधुर समबन्ध विकास गरी अनुकूल राजनीतिक वातावारण बनाउनुपर्ने हुन्छ जुन प्रारम्भमै बिग्रेको जस्तो अनुभूति हुँदैछ । दोस्रो कुरा वर्तमान जटिल भूराजनीतिको सन्दर्भमा वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सफल पार्न सन्तुलित विदेश नीति विकास गर्नुपर्नेछ । यी दुवै कार्य नयाँ सरकारका लागि सायद सबैभन्दा कठिन कार्य हुनेछन् ।
आर्थिक अवस्था पनि कम जटिल छैन । नेपाल जस्ता देशहरूमा आर्थिक कारकहरू सबैभन्दा दबाबपूर्ण छन् । आफ्नो दैनिक जीविकोपार्जनका आवश्यकताहरू पूरा गर्न सबैभन्दा ऊर्जावान युवाहरू भारतसहित अरब विश्व र दक्षिणपूर्वी एसियाली देशहरूमा श्रम रोजगार खोज्न बाध्य छन् । फलस्वरूप हाम्रा उर्वर खेतबारी बाँझो बनेका छन् । हाम्रो उत्पादकत्व घटेको छ र हामी अन्य देशहरूबाट खाद्यान्न आयात गर्छौं । प्रतिव्यक्ति आय कम छ तर हामी उपभोक्तावादको विश्वव्यापी घटनाबाट प्रभावित छौँ । यो प्रवृत्ति नयाँ सरकारले सामना गर्ने अर्को अवरोध हुनेछ ।
पछिल्ला केही दशकहरूमा नेपाली संस्कृति पतन हुँदै गएको छ । हामी कडा परिश्रम नगरी सजिलै पैसा कमाउन चाहन्छौं । हामीमा जिम्मेवारीको बोध छैन । हामी केवल अरूको आलोचनामात्र गर्ने एकांगी आलोचक भएका छौं । समालोचनात्मक चिन्तन पद्धति विकास नभएको मात्र होइन भएकैमा पनि ह्रास आएको छ । नयाँ सरकारले यी अवरोधहरू सफलतापूर्वक पार गर्न सक्यो भने, सबै राजनीतिक शक्तिहरूले काल्पनिक युटोपियन/डिस्टोपियन तस्वीर प्रस्तुत गर्न बन्द गरे भने, अनि यथार्थमूलक ढंगले सबै मिलेर राष्ट्र निर्माणको महाअभियानमा लागे भनेमात्र नयाँ सरकारका प्रतिज्ञाहरू पूरा हुनेछन् जसले शासन प्रणालीमा अपेक्षित सुधार गर्दै जनताको जीवनको गुणस्तर सुधार गर्ने बाटो खोल्नेछ । अन्यथा नेपालको राजनीति फेरि पनि युटोपियन-डिस्टोपियन घामछायाँ बनिरहनेछ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि