लण्डन । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीमाथि सानदार जित दर्ता गरेको छ । शीर्ष स्थानको आर्सनलले बर्नमाउथसँग स्तब्धकारी हार बेहोरेको केही समयमै सिटीले स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई ३-० ले पन्छाउँदै स्पष्ट तीन अंक जोडेको हो । जितसँगै डिफेन्डिङ च्याम्पियन सिटीले आर्सनलसँगको अंक दूरी ६ मा छोट्याएको छ । सिटीले आर्सनलको तुलनामा एक खेल कम खेलेको छ, जसले आगामी हप्ता हुने यी दुई टोलीबीचको भिडन्तलाई टाइटल डिसाइडरका रूपमा हेर्न थालिएको छ ।
पहिलो हाफमा चेल्सीको बलियो रक्षापंक्ति तोड्न संघर्ष गरेको सिटीले दोस्रो हाफमा भने आक्रामक फुटबल पस्कियो । खेलको ५१औँ मिनेटमा रायन चर्कीको पासमा निको ओ राइलीले हेडरमार्फत् गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । लगत्तै ५७ औँ मिनेटमा चर्कीकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै पूर्वचेल्सी डिफेन्डर मार्क गेहीले गोल गरेर अग्रता दोब्बर बनाउनुभयो । ६८औँ मिनेटमा जेरेमी डोकुले एकल प्रयासमा सानदार गोल गरेपछि सिटीको जित सुनिश्चित भएको थियो ।
घरेलु टोली चेल्सीका लागि मार्क कुकुरेलाको गोल अफसाइड हुनु र पेड्रो नेटोको प्रहार सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोक्नु दुर्भाग्यपूर्ण रह्यो । यो हारसँगै चेल्सी छैटौं स्थानमा यथावत् छ ।
शीर्ष चारको दौडमा रहेको एस्टन भिल्ला नटिङ्घम फरेस्टसँग १-१ को बराबरीमा रोकिएको छ । २३औँ मिनेटमा मुरिल्लोको आत्मघाती गोलबाट अग्रता लिए पनि भिल्लाले त्यसलाई जोगाउन सकेन । ३८औँ मिनेटमा फरेस्टका नेको विलियम्सले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । यो बराबरीले भिल्लालाई तेस्रो स्थानमा उक्लिनबाट रोकेको छ भने फरेस्टलाई रेलिगेसन जोनबाट टाढा रहन मद्दत पुगेको छ ।
नयाँ प्रशिक्षक रोबर्टो डे जेरबीको आगमनले पनि टोटनहमको भाग्य बदल्न सकेन । सनडरल्याण्डसँग १-० ले पराजित भएपछि टोटनहमको जितविहीन यात्रा १४ खेल पुगेको छ । नर्डी मुकिएलेले दोस्रो हाफमा गरेको गोल नै टोटनहमका लागि घातक बन्यो । अहिले टोटनहम १८औँ स्थानमा रहँदै रेलिगेसनको गम्भीर खतरामा छ ।
न्युक्यासल युनाइटेडविरुद्ध क्रिस्टल प्यालेसले नाटकीय जित हात पारेको छ । सुरुमा १-० ले पछि परेको प्यालेसका लागि जिन फिलिप मातेता नायक बन्नुभयो । उहाँले ८०औँ मिनेटमा बराबरी गोल गर्नुभयो भने इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाउनुभयो । आगामी हप्ता इतिहाद स्टेडियममा हुने सिटी र आर्सनलबीचको भिडन्तले नै यस सिजनको च्याम्पियन को बन्नेछ भन्ने कुराको निर्क्योल गर्ने सम्भावना बलियो छ । एजेन्सी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि