काठमाडौं । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८२’ को रनिङ ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सम्पन्न प्रतियोगितामा मातातीर्थले आठ स्वर्ण, पाँच रजत र चार कांस्य गरी कुल १७ पदकसहित पहिलो स्थान हासिल गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौं सात स्वर्ण, आठ रजत र ६ कांस्यसहित दोस्रो तथा नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी चार स्वर्ण र दुई रजतसहित तेस्रो भएका छन् ।
समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजयी टोली तथा खेलाडीलाई ट्रफी र पदक प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक, अफिसियल तथा सहयोगी संघ-संस्थाका प्रतिनिधिलाई पुरस्कार, कदरपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीसँगै खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो । यस्ता प्रतियोगिताले संगठनभित्रका प्रतिभा पहिचान गर्न मद्दत गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र सामूहिक भावना विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार खेलकुदलाई केवल प्रतिस्पर्धा वा मनोरञ्जनका रूपमा सीमित गर्न नहुने भन्दै यसले निर्णय क्षमता, समन्वय, अनुकूलन र संयमजस्ता गुण विकास गर्ने आधार प्रदान गर्छ । खेलकुदले शारीरिक क्षमता र सहनशीलता बढाउनुका साथै कर्मचारीको मनोबल उच्च राख्न र तनाव व्यवस्थापनमा सहयोग पुर्याउने पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपाल एपिएफ क्लबको आयोजनामा चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा प्रशिक्षण प्रतिष्ठानसहित विभिन्न बाहिनी मुख्यालयका नौ टोली सहभागी थिए । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स समावेश गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, अवकाशप्राप्त महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, विभिन्न खेलकुद संघका प्रतिनिधि तथा सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि