काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जुले भुटानको शीर्ष डिभिजन लिग खेल्ने हुनुभएको छ । भुटानी प्रिमियर लिग क्लब थिम्पु सिटी एफसीले उहाँलाई स्वागत गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको हो ।
हालै स्थगित भएको एन्फा राष्ट्रिय लिगमा कृतिशले न्युरोड टिम (एनआरटी) को प्रतिनिधित्व गर्नुभएको थियो । एनआरटीबाटै व्यावसायिक फुटबल करियर सुरु गर्नुभएका उहाँले अहिलेसम्म चार अन्तर्राष्ट्रिय क्याप जितिसक्नुभएको छ ।
कृतिशले गत जुनमा एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको पहिलो लेगमा पहिलोपटक राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । उमेर समूहबाट राष्ट्रिय टोली हुँदै उहाँले सिनियर टिममा स्थान बनाउनुभएको थियो । उहाँले २०७६ सालमा पहिलोपटक शीर्ष डिभिजन लिगमा खेल्नुभएको थियो । त्यसपछि २०७८ र २०८० सालमा सम्पन्न लिगमा पनि उहाँले एनआरटीकै जर्सीमा खेल प्रदर्शन गर्नुभएको थियो ।
यसबीच, २०२२ जुलाईमा भारतमा सम्पन्न साफ यू-२० च्याम्पियनसिप र बहराइनमा भएको एएफसी यू-२० एसिया कप छनोटमा पनि कृतिश नेपालको प्रमुख खेलाडीका रूपमा सहभागी हुनुहुन्थ्यो । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा धनगढी एफसीका मार्की खेलाडी रहनुभएका कृतिशले पछिल्लोपटक गत सेप्टेम्बरमा ताजिकिस्तानमा सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । भुटानी प्रिमियर लिग आगामी मे महिनाको पहिलो साताबाट सुरु हुने अपेक्षा गरिएको छ, यद्यपि खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि