सिड्नी । अष्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलोपटक एक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन् । सरकारले यसलाई ‘गहिरो ऐतिहासिक क्षण’ भन्दै औपचारिक घोषणा गरेसँगै देशको रक्षा संरचनामा नयाँ अध्याय सुरु भएको छ ।
रक्षामन्त्री रिचर्ड मार्लेसले लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अष्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभयो । करिब तीन दशक लामो सैनिक करियर बनाएकी कोयलले सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा सेवा गर्दै व्यापक अनुभव हासिल गर्नुभएको छ । उहाँको नियुक्तिले अष्ट्रेलियाको इतिहासमा कुनै पनि सैन्य सेवाको नेतृत्व गर्ने पहिलो महिलाको रूपमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
मार्लेसका अनुसार यो नियुक्ति केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण संस्थागत परिवर्तनको प्रतीक हो । ‘यो गहिरो ऐतिहासिक क्षण हो’, उहाँले भन्नुभयो, ‘जसले भाबी पुस्ताका लागि सम्भावनाको ढोका खोल्छ ।’ उहाँले कोयलको भनाइ उद्धृत गर्दै ‘तपाईंले नदेखेको कुरा बन्न सक्नुहुन्न’ भन्ने सन्देशले यस नियुक्तिको महत्त्व झल्काउने बताउनुभयो ।
अष्ट्रेलियाली सेना अहिले व्यापक रूपान्तरणको चरणमा छ । लामो दूरीका आक्रमण क्षमतादेखि ड्रोन प्रविधि र आधुनिक युद्ध प्रणालीसम्ममा केन्द्रित हुँदै सेनाले आफ्नो संरचना अद्यावधिक गरिरहेको छ । यस्तो परिवर्तनको नेतृत्व गर्न कोयलको अनुभव महत्त्वपूर्ण मानिएको छ । आफ्नो नियुक्तिपछि कोयलले आधुनिक युद्धका नयाँ आयाम, विशेषगरी साइबर युद्धजस्ता क्षेत्रमा आफूले काम गरेको अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
‘विविध अनुभवले मलाई यो जिम्मेवारी सम्हाल्न बलियो आधार दिएको छ’, उहाँले भन्नुभयो । यो नियुक्तिलाई लैगिंक समानता र समावेशी नेतृत्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ । अष्ट्रेलियाली सेनामा परम्परागत रूपमा पुरुष वर्चस्व रहँदै आएको अवस्थामा कोयलको उदयले संस्थागत संस्कृतिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । रासस/एएफपी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि