नयाँ वर्ष २०८३ लाई स्वागत गर्न तयार हुँदै गर्दा विरोधको पीडा बिसाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा पुगेका छौं । परिवर्तन विगतका खराबीहरूलाई नदोहोर्याउने प्रतिबद्धता हो । हिजोका खराबीहरू परिवर्तनपछिका खराबीहरूलाई पुष्टि गर्ने प्रमाण हुनसक्दैनन् । हिजो कसैले घुस खाएकोमा विरोध गर्नेहरूले आज आफूले खाएको घुसलाई सत्यापित गर्न हिजोसँग तुलना गर्न पाउँदैन । हिजो कसैले मान्छे मारेको अभियोग खेप्दै गर्दा आज आउनेले मान्छे मारेको घटनालाई न्यासंगत भनेर पुष्टि गर्नखोज्नु अन्याय हुनेछ । आज राम्रो गर्ने नाराकासाथ आक्रामक भएर आउनेहरूले विगतका कुनै पनि विकृति, विसंगति र विडम्बनालाई उदाहरण बनाउनु गलत हुनेछ । तर हिजो नभएका गलत कामहरू, अस्ति भोगिएको क्रूर समयमा समेत नदेखिएका घटना परिवर्तनको सभ्य र उच्चतम् अवस्थाका नायकहरूबाट समेत देखिनु दुःखद् र दुर्भाग्यको द्योतक हो ।
हरेक नयाँकाल होस् कि मानिस सम्भावना र आशाको किरण साथमा लिएर उदित हुन्छ । नयाँ अनुहारमा आसाको तस्वीर देख्ने गर्छन् मानिस । तर आशाको दीयो हुने मानिसहरूको उदयका कारणहरू नै गलत हुन्छन् भने परिणाम सही हुनसक्दैन । अन्तिम सत्य सत्ता, जुनसुकै उपायबाट सत्ता र शक्ति आर्जन गर्ने सिद्धान्तले मात्र जुनसुकै कारणहरूबाट प्राप्त परिणामलाई आफ्ना हितमा प्रयोग गर्न सक्छ । त्यसरी सत्ताको लुब्ध प्राणीले पुर्खाहरू मेट्छ, प्रतिशोधको दावाग्नि सल्काउँछ, उसका लागि बलबाहेक अरू कुनै कानुन हुँदैन र हरेक क्षेत्रमाथि वर्चस्वको डण्डा चलाउँछ । हामी यतिखेर त्यही डण्डाको मारमा छौं । साना पत्रिकाहरू सरकारी डण्डाको मार सहन विवश भएका छौं ।
हिजोमात्रै, नववर्ष २०८३ को पूर्वसन्ध्यामा राष्ट्रिय दैनिकहरूले पहिलो पृष्ट (ज्याकेट)लाई सरकारी नीतिविरुद्ध असन्तोष प्रकट गर्नमा उपयोग गरे । त्यसमा केही स्वनामधन्यहरू भने सामेल भएको देखिएन । कथित व्यवसायका नाममा अन्य व्यवसायबाट आर्जन गर्नेहरू सानातिना कुरामा लाग्दैनन् भन्ने सबैलाई जानकारी छ । हो, तिनीहरूलाई पर्दा सबै ऐक्यबद्धताका नाममा लस्करै उभिनुपर्छ, तिनीहरूलाई प्रशासनले थिचोमिचो गर्दा धर्ना दिन पुग्नुपर्छ, तिनीहरूका लागि समधर्मी सञ्चारमाध्यमहरू पर्खाल जस्तो भएर उभिनुपर्छ, आवश्यकता अनुसार तिनीहरूका लागि अक्षर, पृष्ट सबै बलिदान गर्नुपर्छ । तर सत्ता, शक्तिको पृष्टमा आफ्नो वर्चस्वको खोजि गर्नेहरूका कानमा भने अरूका आवाज निष्प्राण जस्ता लाग्छन् । अरूको सहयोग कर्त्तव्य पूरा गरेजस्तो हुन्छ । मानौं उनीहरू निर्णायक हुन् र उनीहरूले जे गरे पनि ईश्वरीय अनुकम्पा मान्नुपर्ने हुन्छ अरू सबैले । त्यस्तै भएको छ अहिले पनि । सरकारले विभेद गर्यो । असमान नीति प्रतिपादन गर्यो । संविधानले कुनै पनि सञ्चारमाध्यमलाई सरकारी र गैरसरकारी भनेको छैन । सबैलाई समान देखेको छ । समानताको सिद्धान्त कुनै एकपक्ष वा समूहमा मात्रै केन्द्रित र लागू हुने होइन । त्यसैका विरुद्ध हाम्रो विरोध हो । तर अनुसन्धानका नाममा आफूसमेत कुनै कालखण्डमा निर्वस्त्र हुनेगरी समाचार निर्माण गर्दै आफ्नै समधर्मीविरुद्ध उभिनेहरूकै मतिमा लागेर होला सायद सरकार पनि निर्णयको आधार प्रमाणित गर्न खोजिरहेको छ । भनिन्छ मान्छेलाई चिनाउँछ । अवसरवाद र स्वार्थका सीमा यतैकतै भेटिने वा मेटिने अवस्था आउँनेछ । तर हामी आफ्नो आवाजलाई निरन्तर राख्ने छौं र सम्भव भएसम्म आफूलाई सुरक्षितसमेत गर्नेछौं ।
निजी क्षेत्रको सञ्चारको मुख बन्द गर्ने झ्याले नीति सरकारको छ । अर्थात् मूल ढोकाबाट प्रत्यक्ष केही गर्ने अवस्था नभए झ्यालबाट काम सम्पन्न गरिन्छ जसलाई चोर बाटो भन्ने गरिन्छ । सरकारले निजी क्षेत्रको घाँटी निमोठ्न चार बाटो समातेको छ । नेपालमा निजी क्षेत्रमा उद्योग विस्तारित छैनन्, उत्पादनका सामान अत्यन्त न्यून छन्, आयातमुखी अर्थतन्त्रले देश धानिएको अवस्था छ । उपभोक्ताहरूलाई स्वदेशको कुनै सामग्री दिने सामर्थ्य राज्यसँग छैन । राज्यसँग भएको संविधान लागू गर्ने जिम्मेदारी पनि संविधानको अक्षर र भावनानुरूप पूरा हुनसकेको छैन । अलिअलि भएको व्यापारिक गृह र उद्योगमाथि क्रान्ति र परिवर्तनका नाममा ज्यादती भएको छ । त्यस्ता व्यापारिक केन्द्रहरू, होटल र व्यवसाय तथा उद्योगलाई खरानी पारेपछि आएको सत्ता छ । स्वदेशमा नै उत्पादित रक्सीको विज्ञापन गर्न त पूर्ववर्त्ती सरकारले नै रोक लगाएको थियो । खान पिउन दिने, जथाभावी बिक्री गर्न दिने, आफू माथिल्लो आसनमा जमेर टुन्न मात्ने तर पत्रपत्रिकामा विज्ञापन गर्न नदिने रक्सी नीति कायम छ । यस्तो रक्सी नीतिकै परम्परालाई निर्वाह गर्दै युवाहरूको नेतृत्वमा बनेको सरकारले सञ्चारको निजी क्षेत्रलाई अन्त्य गर्ने षड्यन्त्रात्मक उपाय अख्तियार गर्न लागेको छ, जुन निन्दनीय छ । त्योभन्दा पनि निन्दनीय छ व्यावसायिक एकताविरोधीहरूको अवसरवादी, एकांगी सोच र व्यवहार ।
निजी क्षेत्रको सञ्चारमा आश्रित करिब चार लाख जनसंख्या हुनुपर्छ । ती मध्ये कथित ठूला र शक्तिशालीहरूसँग जोडिएका आधा भए पनि बाँकी दुई लाखको रोजीरोटी खोस्ने र बेरोजगार बनाउने सरकारी खेती आउने वर्षमा कति पुष्पित, पल्लवित हुने हो भन्न सकिँदैन । हिजो देशको माया नगर्नेहरूले देशलाई खरानी बनाए, केही नागरिकको दुःखद् मृत्युको निहुँमा भएको देश खरानी बनाउने खेलका सूत्रधारहरूको परिचय क्रमशः खुल्दै जानेछ । नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मृतिशेषलाई समेत खण्डित र ध्वस्त गर्नेहरूका वैचारिक नायकसमेत खरानीमा परिणत भए । दुई दशक पहिले गरेको त्यही कुकर्मको परिणाम अहिले दृश्यचित्र भएर उपस्थित भएको छ । नयाँ नाममा देश खरानी पार्नेहरूको पनि कुनै दिन यस्तै दुर्गति अवस्यंभावी छ । अर्थात् कारणका आधारमा प्राप्त परिणाम कुनै अर्को समयमा आफैं अर्को कारण बनेर विनाशलीला मच्चाउँछ । चक्रवत् परिवर्तन्ते सुखानि च दुखानि च । कुमालेको चक्र जस्तै हो प्रकृतिको नियम । आफू बदलिँदैन तर सबैलाई आफ्नो चक्रमा घुमाउने कर्म उसले अविच्छिन्न गर्छ । त्यही अविच्छिन्न कर्मको कस्तो रूप आउने वर्षमा देखिने हो प्रतीक्षा गर्नु अनिवार्य छ । तैपनि आजबाट आरम्भ नव वर्ष २०८३ लाई हामी यसबेला हृदयतः स्वागत गर्दछौं । अहंकारको मात कसैलाई नलागोस्, विधिविरुद्ध जाने बुद्धि कसैमा नपलाओस्, सबैमा समानता र समव्यवहारको अनुशीलन गर्ने बुद्धि पलाओस् । हाम्रा, सम्पूर्ण सहयोगी, शुभेच्छुक, पाठक, विज्ञापनदाता, लेखक सबैमा यसबेला कृतज्ञतापूर्वक शुभकामना प्रकट गर्दछौं, नववर्ष २०८३ सबैका लागि सुखमय रहोस् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि