हाम्रो आतिथ्य सत्कारको शैलीमा विदेशी प्रभाव बढ्दै गर्दा सरकारी कार्यालय, होटल, औपचारिक कार्यक्रम, सभा-सम्मेलनमा स्वागत पेयका रूपमा आयातित र अस्वस्थकर सफ्ट ड्रिंक्सको प्रयोग फेसन जस्तै बनेको छ । यस्तो अवस्थामा स्थानीयस्तरमा उत्पादित दुग्ध पदार्थ, विशेषगरी मोही-लस्सीलाई स्वागत पेयका रूपमा स्थापित गर्ने माग केवल खानपानको कुरामात्र होइन, यो ग्रामीण विकासको सशक्त र नयाँ आर्थिक मोडल हो । नेपालको परिवेशमा, माटो, गोठ र हाम्रा पुर्खाहरूको अनुभवबाट छानिएको मोही केवल एउटा पेय पदार्थमात्र होइन, नेपाली सभ्यताको एउटा कञ्चन प्रतिबिम्ब हो ।
आज, जब विदेशी रङ र रसायनयुक्त सफ्ट ड्रिंसहरूले हाम्रा टेबलहरू र चेतनालाई कब्जा गरिरहेका बेलामा नेपाल डेरी एसोसिएसनले अघि सारेको मोही र लस्सीलाई स्वागत-पेय बनाउने माग एउटा वैचारिक, आर्थिक क्रान्तिको शंखघोष हो । यो ग्रामीण विकासको आत्मनिर्भर अर्थतन्त्रको राजमार्ग हो । मोहीलाई सार्वजनिक संस्थाहरूको जमघटदेखि होटल रेष्टुरेण्टहरूमा जताततै स्वागत-पेय बनाउने अभियानले पैसालाई शहरको विलासिताबाट गाउँको पसिनासम्म र कर्पोरेट ढुकुटीबाट किसानको पवित्र गोठसम्म पुर्याउँछ । ग्रामीण अर्थतन्त्रका लागि यो वरदान हो ।
मोही केवल पेय होइन यो सामाजिक पुँजी पनि हो । जब हामी पवित्र पेयलाई सरकारी र सार्वजनिक समारोहको ब्राण्ड बनाउँछौं, हाम्रा होटल रेष्टुरेण्टहरूमा अतिथि सेवाको सूत्र बनाउँछौं तब संसारलाई हाम्रो अपनत्व र आत्मीयताको संस्कृति उपहार दिइरहेका हुन्छौं ।
मोहीलाई संस्कृतमा ‘तक्र’ भनिन्छ । नेपाली चलनचल्तीमा मोही, मही, छाँच, मठ्ठा आदि भनिन्छ । दूधको परिष्कृत रूप हो जुन दहीलाई मथेर त्यसको सारभूत तत्व घ्यू निकालिसकेपछि बाँकी रहन्छ मोही । आयुर्वेदले मोहीलाई पृथ्वीको अमृत भन्छ । स्वर्गका राजा इन्द्रलाई समेत दुर्लभ हुने यो पेय जीवनको अभिन्न अंग हो । तातो घाममा थाकेर आएको बटुवालाई जब कुनै ग्रामीण गृहिणीले ठेकीबाट सार्दै कञ्चन मोहीको गिलास टक्राउँछिन्, त्यहाँ केवल प्यासमात्रै मेटिँदैन, एउटा आत्मीयताको सुमधुर सम्बन्ध गाँसिन्छ । जसले मौलिक संस्कार र मानवताको गहिराइलाई स्पर्श गर्छ ।
ग्रामीण गृहिणी सेवा र करुणाकी प्रतिमूर्ति हुन् । थकाइको त्यो बिन्दुमा मोहीको गिलास टक्राइनु भनेको एउटा मान्छेले अर्को मान्छेको पीडा र आवश्यकतालाई शब्दविहीन भाषामा बुझ्नु हो । ठेकीको महत्त्वपूर्ण भूमिका छ जुन काष्ठकला र मौलिक प्रविधिको अनुपम उदाहरण हो । ठेकीमा मथेको मोहीमा काठको सुगन्ध, माटोको शीतलता र हातको सीप मिसिएको हुन्छ । यो मेसिनले बनाएको बट्टाको चिसो पेयभन्दा हजारौं गुणा बढी स्वस्थ्यकर, सजीव र ऊर्जावान् हुन्छ । मोहीको त्यो सेतो र कञ्चन रङले मनको कालोलाई पखाल्छ । निःस्वार्थ भावले पस्किएको त्यो मोहीको एक गिलासले अपरिचित बटुवा र गृहिणीबीच यस्तो सम्बन्ध गाँस्छ जुन कुनै व्यापारिक लेनदेनमा सम्भव छैन ।
मोही केवल पेय होइन यो सामाजिक पुँजी पनि हो । जब हामी पवित्र पेयलाई सरकारी र सार्वजनिक समारोहको ब्राण्ड बनाउँछौं, हाम्रा होटल रेष्टुरेण्टहरूमा अतिथि सेवाको सूत्र बनाउँछौं तब संसारलाई हाम्रो अपनत्व र आत्मीयताको संस्कृति उपहार दिइरहेका हुन्छौं । आधुनिकताको अन्धो दौडमा हामीले यस्ता ठेकी र आत्मीयताका गिलासलाई बिर्सिँदै गएकाले आज हाम्रो समाज बढी व्यावसायिक र कम मानवीय हुँदै गएको हो ?
मोही र लस्सी जस्ता रैथाने पेयलाई हाम्रा औपचारिक समारोहमा स्वागत पेयका रूपमा अनिवार्य गर्दा यसले कसरी औषधिमुक्त समाजको परिकल्पनालाई साकार पार्छ भन्ने विषयको गहिराइलाई बुझ्न विशेष प्रशिक्षण आवश्यकता हुन्छ । हामीले पिउने कृत्रिम सफ्ट ड्रिंकसले पेटका मैत्री ब्याक्टेरियाहरूलाई नष्ट गर्छन् तर मोही प्रकृतिको यस्तो लाइभ भ्याक्सिन हो जसमा अर्बौंको संख्यामा स्वास्थ्यबर्धक जीवाणु हुन्छन् । मोहीले आन्द्राको कार्यक्षमता बढाउँछ भने रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । जब पेट स्वस्थ, शरीरको इम्युनिटी बलियो र सामान्य मौसमी रोगदेखि जटिल संक्रमणसँग लड्ने शक्ति दिन्छ ।
आधुनिक समाजमा मधुमेह, उच्च रक्तचाप र मोटोपन महामारीको रूपमा फैलिएका छन् । यस्तो परिस्थितिमा चिनीको चक्रव्यूहबाट मोहीले मुक्ति दिन्छ । एउटा सामान्य सफ्ट ड्रिंकसको बोतलमा १०-१२ चम्चा चिनी हुन्छ जसले सिधै इन्सुलिनको सन्तुलन बिगार्छ । मोही र लस्सीले भने चिनीको तलतल मेटाउँदै रगतमा ग्लुकोजको मात्रा सन्तुलित राख्न मद्धत गर्छन् । मोही दुग्धजन्य पदार्थ भएकाले क्याल्सियम र फस्फोरसले हड्डी र दाँतलाई दीर्घकालीन सुरक्षा प्रदान गर्छन् । मोहीमा पाइने पोषक तत्वले स्नायु प्रणालीलाई शान्त राख्न र मानसिक स्पष्टता कायम राख्न सघाउ पुर्याउँछन् ।
सरकारी तवरमै मोही र लस्सीलाई अनिवार्य भयो भने हामीले एउटा यस्तो जनशक्ति तयार गर्छौं जो उपचार होइन, उत्पादनमा केन्द्रित हुन्छ । यस अभियानले मानिसलाई अस्पतालको सेतो बेडबाट उठाएर प्रकृतिको हरियो काख र किसानको गोठसम्म पुर्याउँछ । यो अभियानलाई अझ प्रभावकारी बनाउन मोहीलाई विद्यालयका खाजा कार्यक्रममा पनि अनिवार्य समावेश गरिनुपर्छ । विदेशी पेयबाट प्राप्त हुने रसायनयुक्त चिसोले शरीरलाई क्षणिक भ्रम दिन्छ तर मोहीले शरीरको भित्री तापक्रमलाई सन्तुलित राखी वास्तविक शीतलता प्रदान गर्छ । यो निर्जलीकरण विरुद्धको अचूक कवच हो । एक निरोगी नागरिक नै राष्ट्रको असली सम्पत्ति हो ।
आर्थिक दृष्टिकोणले यो अभियान एउटा उल्टो प्रवाहको सुरुवात हो । हाम्रो अर्थतन्त्रको रगत विदेशी कम्पनीहरूको नाफामा बगिरहेको छ तर जब हामी विदेशी पेयलाई प्रतिस्थापन गर्छौं तब एक अद्भूत ग्रामीण आर्थिक चक्रको उदय हुन्छ । यसको प्रमुख विशेषता भनेको पुँजीको स्वदेशीकरण हो । सफ्ट ड्रिंकसको आयातमा बाहिरिने विदेशी मुद्रा नेपालकै माटोमा रोकिन्छ । यो आयात प्रतिस्थापनको सबैभन्दा प्रभावकारी मोडल हो । बहुराष्ट्रिय कम्पनीहरूको नाफा केन्द्रित ढुकुटीमा थुप्रिने पैसा जब मोहीको माध्यमबाट वितरण हुन्छ त्यो सिधै गाउँको किसानको गोठसम्म पुग्छ । एक गिलास मोही बिक्नु भनेको गाउँको किसानले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन पाउनु र गोठका गाईभैँसीलाई राम्रो दाना खुवाउन पाउनु हो ।
मोहीमा पाइने लैक्टिक एसिड र सूक्ष्म जीवहरूले पाचन प्रणालीलाई पुनर्जीवन दिन्छन् । पेटका खराबीलाई पखाल्नेमात्र होइन, आन्द्राको स्वास्थ्यलाई मजबुत बनाउँछ । मोही पोषक तत्वको भण्डार हो । क्याल्सियम, प्रोटिन, भिटामिन बी–१२ र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ ।
यो अभियानले रोजगारीको विकेन्द्रीकरण गर्छ । यसले दूध संकलन, ढुवानी, डेरी उद्योग र बजारीकरणमा हजारौं युवालाई स्वरोजगार बनाउँछ । यो नै वास्तविक आत्मनिर्भर अर्थतन्त्रको अभिष्ट हो । सामाजिक र मनोवैज्ञानिक प्रभाव अर्को महत्त्वपूर्ण विशेषता हो । आत्मनिर्भरता भनेको केवल वस्तुको उत्पादन होइन यो आफ्नो पहिचानमा गर्व गर्नसक्ने क्षमता हो । जब सरकारी बैठक र ठूला सार्वजनिक समारोहमा मोहीको गिलास गौरवका साथ उठाइन्छ तब यसले मनोवैज्ञानिक सन्देश दिन्छ ।
अन्त्यमा, मोही र लस्सीलाई राष्ट्रिय पेयका रूपमा स्थापित गर्नु भनेको केवल एउटा व्यापारिक निर्णय होइन यो येपालको भविष्यलाई स्वस्थ, स्वाभिमानी र समृद्ध बनाउने पवित्र संकल्प हो । यो वैचारिक क्रान्तिको जग, जसले आर्थिक न्याय र सामाजिक आरोग्यतालाई एकैसाथ सम्बोधन गर्छ । विदेशी गिलासमा राष्ट्रियता खोज्ने भ्रम त्यागेर स्वदेशी मोहीको चुस्कीमा समृद्धिको सपना देख्नु आजको युगको बुद्धिमानी हो । जब गाउँको गोठ आर्थिक रूपमा बलियो हुन्छ तबमात्र देशको शिर उचो हुन्छ । गोठदेखि ओठसम्मको यो यात्रा नै नेपालको वास्तविक प्रगतिको राजमार्ग हो ।
दुग्ध पदार्थलाई स्वागत-पेय बनाउने यो अभियान केवल एउटा छनोटको विषयमात्र नभई नेपाली माटोको सुगन्ध, ग्रामीण श्रमको मूल्य हो । हामी विदेशी रसायनयुक्त सफ्ट ड्रिंक्सलाई त्यागेर मोही र लस्सीलाई अँगाल्छौँ तब हामीले केवल प्यासमात्रै मेटाइरहेका हुँदैनौं, शरीरको आन्तरिक वातावरणलाई शुद्धीकरण गरिरहेका हुन्छौं । मोहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्य सुधार्ने मात्र होइन, प्रकृतिको नियम अनुरूप शरीरलाई शीतल र विकारमुक्त राख्न मद्दत गर्छ ।
नेपाल जस्तो कृषिप्रधान देशका लागि पशुपालन र दुग्ध व्यवसाय हाम्रो तुलनात्मक लाभको क्षेत्र हो । विदेशी मुद्रा खर्चेर आयात गरिने कृत्रिम पेयले हाम्रो अर्थतन्त्रको जग कमजोर बनाइरहेको बेला मोहीको बजार प्रवर्धनले पुँजी पलायन रोक्ने अभेद्य ढालको काम गर्छ । जब सरकारी र सार्वजनिक समारोहका टेबलहरूमा स्वदेशी दुग्धजन्य पेय पदार्थको प्रभुत्व हुन्छ तब पैसाको प्रवाह कर्पोरेट महलहरूबाट मोडिएर सिधै ग्रामीण किसानको गोठसम्म पुग्छ । यो नै वास्तविक अर्थमा पुँजीको स्वदेशीकरण र आत्मनिर्भर अर्थतन्त्रको व्यावहारिक अभ्यास हो । यो अभियानले रोजगारीको एउटा यस्तो पवित्र चक्र सिर्जना गर्छ, जहाँ युवाहरूले आफ्नो भविष्य आफ्नै गोठ र स्थानीय डेरीमा देख्न थाल्छन् ।
दूध संकलनदेखि बजारीकरणसम्मका शृंखलामा सिर्जना हुने अवसरहरूले वैदेशिक रोजगारीको बाध्यात्मक लहरलाई रोक्ने सामर्थ्य राख्छन् । आफ्नो माटोमा उत्पादित वस्तुको उपभोगमा गर्व गर्ने यो सांस्कृतिक जागरणले नै श्रमप्रतिको सम्मान र राष्ट्रिय स्वाभिमानलाई पुनःस्थापित गर्दछ । स्वागत-पेयमा मोही : ओठको तृप्ति, गोठको समृद्धि हो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि