काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर व्यापक प्रश्न उठेको छ । आइतबार सार्वजनिक विवरणअनुसार अधिकांशको अत्यधिक चल/अचल सम्पत्ति देखिएपछि स्रोत खुलाउनुपर्ने माग उठेको हो । मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति अस्वाभाविक देखिएको भन्दै वास्तविक स्रोत खुलाउन र तत्काल छानविन प्रक्रिया अगाडि बढाउनसमेत आवाज उठेको हो । विशेषगरी सामाजिक सञ्जालमा उनीहरूको सम्पत्तिलाई लिएर धेरै ट्रोल बनेका छन् । कतिपयले पछि कमाउने सम्पत्तिसमेत जोडेर विवरण सार्वजनिक भएको समेत टिप्पणी गरेका छन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूका करोडौँको बैंक ब्यालेन्स, सुन, चाँदी, सेयर लगानी, जग्गा-जमिन रहेको विवरण सार्वजनिक गरेको थियो । ४० वर्षमुनिका बाहुल्यता रहेको मन्त्रिपरिषद् सदस्यहरूका करोडौँ मूल्य बराबरका सम्पत्तिको स्रोतबारे आमरूपमा प्रश्न उठेको हो ।
सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै काठमाडौंमा प्रदर्शनसमेत गरिएको छ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)निकट अखिल क्रान्तिकारीले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको हो । माइतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका थिए । प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो ?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, सेयरखानी गृहमन्त्री’जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् । मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानविन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ ।
बालेन्द्र (बालेन) नेतृत्वको सरकारले आइतबार साँझ मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । सरकार गठन भएको १७ दिनमै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
सम्पत्तिको स्रोत नखुलाए घुमाइफिराइ भ्रष्टाचार नै गरेको बुझिन्छ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गर्नुभएको छ । स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग गर्नुभएको हो । ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’, उहाँले भन्नुभएको छ, ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ !’
गरिबको भोट, धनीको शासन : सुदन किराती
नेता सुदन किरातीले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर व्यंग्य गर्नुभएको छ । सामाजिक सञ्जालमा ‘गरिबको भोटमाथि धनीको शासन’ शीर्षकमा उहाँले मन्त्रीहरूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउनुभएको हो । किरातीले स्वदेशमा कमाउने अवसर नभएर लाखौँ युवा विदेश पलायन भइरहेको बेला केही व्यक्तिले नेपालमै कसरी यति धेरै सम्पत्ति थुपारे ? भन्नेमा आश्चर्य प्रकट गर्नुभएको छ । ‘अत्यधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैँले गडबडी गरेको हुनुपर्छ’, उहाँको भनाइ छ ।
मन्त्रीजस्तै आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कमलाई दिएको हुन्छ : रक्षा बम
‘जेन–जी’ अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीलाई सम्बोधन गर्दै उहाँले जनताको आर्थिक हैसियतलाई लिएर गरिएको टिप्पणी पदीय मर्यादाविपरीत भएको उल्लेख गर्नुभएको छ । बमले फिल्मी संवाद र यथार्थ जीवनका बीचमा ठूलो खाडल हुने भन्दै आर्थिक हैसियतका आधारमा कसैको जीवनलाई नै गलत भन्न नमिल्ने तर्क गर्नुभएको छ । देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको तथ्य स्मरण गराउँदै उहाँले राज्यले मन्त्रीजस्तो आर्थिक हैसियत बनाउने अवसर सबै नागरिकलाई नदिएको स्पष्ट पार्नुभयो । जनताको हैसियत सुधार्ने कुनै यथार्थपरक योजना नभएको अवस्थामा नागरिकलाई नै दोष दिनु विडम्बनापूर्ण भएको उहाँको भनाइ छ । यसअघि गृहमन्त्री सुधन गुरुङले मानिस जन्मँदै गरिब जन्मनु गल्ती नभए पनि मर्दा गरिब भएर मर्नु गल्ती भएको टिप्पणी गर्नुभएको थियो । यद्यपि, आलोचना भएपछि उहाँले पोस्ट हटाउनुभएको थियो ।
हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन् : मन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताउनुभएको छ । मोरिसस भ्रमणबाट फर्किनुभएका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आम्दानीका स्रोत स्पष्ट रहेको भन्दै कसैले छानविन गर्न चाहन्छ भने स्वाभाविक रूपमा गर्न सक्ने उहाँको भनाइ छ । चार वर्षअघि स्थापना भएको आफ्नो पार्टीका मन्त्री र सांसदहरू विभिन्न पेसाबाट आएको हुनाले आम्दानी हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानविन गर्न चाहन्छ भने स्वाभाविक रूपमा गर्न सक्ने नै भयो’, उहाँले भन्नुभयो ।
कसको सम्पत्ति कति ?
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग करिब एक करोड ४६ लाख बैंक मौज्दात रहेको देखिन्छ । परिवारका नाममा काठमाडौंमा घर, धनुषा र महोत्तरीमा जग्गा तथा पत्नीको १९० तोला सुन रहेको उल्लेख छ । यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग करिब १२ करोड ७५ लाख मूल्यका चार घर/अपार्टमेन्ट छन् । बैंकमा एक करोड ९० लाख बचत, विभिन्न कम्पनीमा करोडौँको सेयर लगानी र ४५ तोला सुन पनि छ । साथै एक करोड पाँच लाख ऋण लिएको उहाँले उल्लेख गर्नुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन, २५ तोला चाँदी, करिब १३ लाख बैंक मौज्दात र विभिन्न कम्पनीमा सेयर लगानी छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग ८० लाखभन्दा बढी बैंक मौज्दात, एक करोड ४५ लाखभन्दा बढीको सेयर, सुनचाँदी र सवारीसाधन छन् । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी, ६१ लाखभन्दा बढी बैंक मौज्दात र करिब चार करोड ३१ लाख बराबरको सेयर लगानी छ । ठूलो मात्रामा जग्गा पनि रहेको देखिन्छ ।
भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग ९० लाख बैंक बचत, ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न स्थानमा जग्गा तथा घर छन् । कानुनमन्त्री सोविता गौतमसँग करिब १० लाख ५० हजार बैंक मौज्दात, १५ तोला सुन, केही सेयर लगानी र गाडी खरिदका लागि ऋण रहेको छ । महिला, बालबालिकामन्त्री सीता बादीसँग १५ लाख बैंक मौज्दात, १८ तोला सुन, १५ तोला चाँदी, सानो सेयर लगानी र सामान्य सम्पत्ति (जग्गा, पशुधन) छ ।
संघीय मामिला मन्त्री प्रतिभा रावलसँग करिब २४ लाख बैंक मौज्दात, २५ तोला सुन, सानो सेयर लगानी र ४४ लाखको गाडी छ । २० लाख ऋण पनि छ । स्वास्थ्यमन्त्री निशा मेहतासँग ५२ लाख मूल्यको जग्गा, १७ लाख बैंक मौज्दात, ३० तोला सुन, ५० तोला चाँदी र सानो सेयर लगानी छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको परिवारसँग करिब २४ करोडभन्दा बढी सम्पत्ति छ । घर, जग्गा, सेयर, बचतपत्र र सवारीसाधन गरी ठूलो सम्पत्ति देखिन्छ । ७५ लाख ऋण पनि छ । पर्यटनमन्त्री खड्कराज पौडेलसँग घरजग्गा, करिब २२ लाख बैंक मौज्दात, सेयर लगानी र ऋणसहितको सम्पत्ति छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाासँग घर, करिब १० लाख बैंक मौज्दात, सुनचाँदी र ऋण लगानी (अरूलाई दिएको) छ ।
कृषिमन्त्री गीता चौधरीसँग सानो बैंक मौज्दात (१ लाखभन्दा बढी), पाँच तोला सुन, १०० तोला चाँदी, सानो सेयर र सामान्य सम्पत्ति (बाख्रा, कुखुरा) छन् । उद्योगमन्त्री गौरीकुमारी यादवसँग काठमाडौंमा घरजग्गा, तराईमा ठूला जग्गा, १८० तोला सुन, दुई किलो चाँदी र तीन करोडभन्दा बढी सेयर लगानी छ । श्रममन्त्री रामजी यादवसँग ७० लाख बैंक मौज्दात, ८० तोला सुन, १५० तोला चाँदी, घरजग्गा र अन्य व्यक्तिगत सम्पत्ति छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि