काठमाडौं । पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज गर्ने सभापति गगनकुमार थापाको घोषणाले नेपाली कांग्रेसको जारी विवादले नयाँ मोड लिएको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेको कांग्रेस यतिबेला चुनावी समीक्षा गर्न भन्दै प्रदेशस्तरीय भेला गरिरहेको छ । पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरू हरेक प्रदेशको मुख्य सहरहरू पुगेर चुनावी समीक्षा भेलामा नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै हिँडिरहेका छन् । गत बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गरिएको चुनावी समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्नुभएको थियो । मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्नेक्रममा थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताउनुभएको थियो ।
कांग्रेसले आज (वैशाख १ गते) देखि देशभर ‘जरा अभियान’ सुरु गर्दै छ । अभियानले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गर्ने लक्ष्य कांग्रेसले राखेको छ । तर, पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भएको भन्ने पार्टी सभापति थापाको अभिव्यक्तिले हाल कांग्रेसमा तरंग उत्पन्न भएको छ । विशेष महाधिवेशनबाट किनारामा पारिएको पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा समूहले सभापति थापाको तयारीलाई काउण्टर दिएको छ । थापालाई काउण्टर दिन देउवा समूहबाट कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्तिमार्फत कडा चेतावनी दिनुभएको छ ।
कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : खड्का
कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने चेतावनी दिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गर्नुभएको हो । खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन ।’ पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र शहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको जिकिर गर्दै खड्काले भन्नुभएको छ, नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन,पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो । पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।’ पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजुद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिकाभित्रै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५औँ महाधिवेशन सम्पन्न गरिने खड्काको भनाइ छ ।
विशेष महाधिवेशन अघि १५ माघमा कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८-३१ मा १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको थियो । तर, तोकिएको समयमा १५औँ महाधिवेशन हुन सकेन । तत्कालीन संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि र तत्कालीन महामन्त्री गगन थापा समूह निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्नेमा विभक्त थियो । थापा समूहले नियमित महाधिवेशनको सम्भावना नदेखिएपछि अन्ततः गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्यो । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो । प्रतिनिधिसभा निर्वाचनपछि सभापति थापाले बैठकले बुधबार मात्रै अर्को वर्षको १६–१९ असोजमा पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । संस्थापनइतर समूहले उक्त तालिकाप्रति पनि आपत्ति जनाएको छ । १८ चैतमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गर्नुभएको थियो । त्यसपछि उहाँले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गर्नुभएको थियो । मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनीसमेत दिनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गते १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा केहीले विधान र प्रक्रियाविपरीत विशेष महाधिवेशनको नाममा अवैध गतिविधि गरेको खड्काले पुनः दोहोर्याउनुभएको छ । खड्काले भ्रम र निराशाबाट टाढा रहन पनि कांग्रेस नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
क्रियाशील सदस्यता खारेज नगरिएको महामन्त्रीद्वयको स्पष्टोक्ति
नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको बताउनुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्रीद्वयले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदै छ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन् । पूर्णबहादुर खड्काले कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी गर्दै कुनै नेताको लहडमा सदस्यता खारेज हुन नसक्ने चेतावनी दिएलगत्तै महामन्त्रीद्वयले पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको बताउनुभएको हो । महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुनेछ । विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन् ।
महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह पनि गरेका छन् । पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन हो । अब अधिवेशनतिर लागौँ अदालततिर होइन ।’
कार्यसम्पादन समितिको बैठक आह्वान
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने भएको हो । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरीलगायत आकांक्षी छन् । कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निश्कल राईको नाम पनि अघि सारेका छन् । शीर्ष तहका नेताहरूले सर्वसम्मत् संसदीय दलको नेता चयन गर्नेगरी छलफल भइरहेको जानकारी दिएका छन् । बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔँ अभियान’ लगायतमा पनि छलफल हुने जानकारी गराइएको छ । यस्तै, बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे छलफल हुने नेताहरूले जानकारी दिएका छन् । नयाँ वर्षको पहिलो दिन (आज) देखि कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ । आजदेखि नेताहरू खटाएर देशभर जरामा जाऔँ अभियान सुरु गर्न लागिएको छ ।
अनुशासन समितिको बैठक भोलि
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाख बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो । बैठकले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको निर्णय लिने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिएका छन् । यसअघि नै कांग्रेसको अनुशासन समितिले खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै सचेत गराउने र फेरि पनि उल्लंघन भए थप कारबाही गर्ने निर्णय गरेको थियो । खड्काले आफूलाई कार्यवाहक सभापतिको हैसियतमा राखेर विज्ञप्ति निकालेको भन्दै सचेत गराउने निर्णय भएको थियो । तर, खड्काले सोमबार फेरि पनि कार्यवाहक सभापतिको हैसियत उल्लेख गरी विज्ञप्ति जारी गर्नुभएको छ । सोही विषयमा छलफल र कारबाहीको निर्णय लिन बैठक डाकिएको बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि