काठमाडौं । आजबाट नेपाली पात्रोअनुसार नयाँ वर्ष २०८३ को सुरुवात भएको छ । देशभर हर्षोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । नेपाल र विदेशमा रहेका नेपालीहरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई भनिन्छ । नेपाललगायत विक्रम सम्बत् मान्ने स्थानहरूमा वैशाख १ गतेका दिन र इस्वी सम्बत् मान्ने स्थानहरूमा जनवरी १ तारिखका दिन नयाँ वर्ष मनाइन्छ । हामीकहाँ विभिन्न जात जातिका आ-आफ्नै नयाँ वर्ष रहेका छन् । यस दिनमा प्रचलित परम्पराअनुसार विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ । सरकारले नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको संकल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवी देवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने प्रचलन रही आएको छ । यसदिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।
नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रही आएको छ । लहरा तथा रूख-विरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहुकुहु र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्त ऋतुको मनोरम दिनहरूसँगै नवीन उमंग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ । नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मूहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै, भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन् । नयाँ वर्ष मनाउने सबैको आ-आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा कुनै पनि संघ-संस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिन्छ । नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिनेदिने, साथीभाइ ईष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाने आदि गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
यसैबीच, नयाँ वर्षलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायहरूले विशेष सतर्कता अपनाएका छन् । ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण तथा आपतकालीन सेवाहरूलाई चुस्त बनाइएको छ । नागरिकहरूलाई अनुशासित ढंगले उत्सव मनाउन र सार्वजनिक सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ । युवापुस्ताले डिजिटल माध्यमबाट आफ्ना मित्र तथा आफन्तलाई शुभकामना दिँदै नयाँ वर्षलाई थप आधुनिक शैलीमा मनाइरहेका छन् । नयाँ वर्षले देशमा सकारात्मक परिवर्तन, आर्थिक उन्नति र सामाजिक सद्भाव ल्याउने अपेक्षा गरिएको छ । विगतका चुनौतीहरूबाट पाठ सिक्दै आगामी दिनमा सबै क्षेत्रले समन्वय र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । नयाँ वर्षको यो अवसरमा सम्पूर्ण नेपालीहरूमा नयाँ ऊर्जा, आशा र उत्साह भर्ने विश्वास लिइएको छ ।
नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डिपी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य मन्त्रीहरू, विभिन्न दलका प्रमुखहरू, नेताहरू, विभिन्न विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । नव वर्ष २०८३ को शुभ उपलक्ष्यमा देश विदेशमा रहनुहुने सबैमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि