काठमाडौं । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मर्जरसम्बन्धी सम्झौतापत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । तीन संस्थाबीचको सम्झौता नेपालको लघुवित्तको क्षेत्रमा भएको हालसम्मको ठूलो मर्जर सम्झौता हो । लघुवित्तको पुँजीगत आधार सुदृढ बनाउँदै आधुनिक प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्ने र वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने उद्देश्यसाथ मर्जर सम्झौता भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताउनुभयो ।
मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने बताइएको छ । संस्थाको केन्द्रीय कार्यालय जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका-२ मा रहनेछ । युनिक नेपाल र मानुषी लघुवित्तको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिने बताइएको छ भने मर्जरपछिको संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सञ्जयकुमार मण्डल रहनुहुनेछ । मर्जरपछि तीनवटै संस्थाका कर्मचारी समायोजन गर्ने सहमति भएको छ ।
हाल जीवन विकासको चुक्ता पुँजी एक अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । जीवन विकासले १६० शाखामार्फत् कोशी, मधेस र बागमती प्रदेशका ३१ जिल्लाका तीन लाख १५ हजार बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ भने युनिक नेपालले १० जिल्लामा ८० हजार बढी र मानुषीले १४ जिल्लामा ३४ हजार सात सयभन्दा बढीलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । मर्जर प्रक्रिया अघि बढाउन छ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको संस्थाले जनाएको छ । मर्जर समितिको संयोजकमा जीवन विकास लघुवित्तका सञ्चालक प्रकाशकुमार श्रेष्ठ र सदस्यमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारु, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल रहेका छन् भने समितिको सदस्य-सचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी रहनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि