काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकामा गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राभेल उत्खनन् ठेक्कामा अनियमितता गरी २२ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ३० हजार घनमिटर गिट्टी, बालुवा, ढुङ्गा तथा ग्राभेल उत्खनन्, संकलन तथा बिक्रीका लागि न्यूनतम १६ लाख ६० हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो। उक्त ठेक्कामा आर.के. कन्स्ट्रक्सनले ३० लाख ५० हजार रुपैयाँ कबोल गरेको थियो।
तर सम्झौताअनुसार कबोल रकम र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ३४ लाख ४६ हजार ५०० रुपैयाँ बुझाउनुपर्नेमा किस्ताबन्दी सर्त राखी बैंक जमानतसमेत नलिई सम्झौता गरिएको र केवल १२ लाख २ हजार रुपैयाँ मात्र दाखिला गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
यसरी बाँकी २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व नबुझाइ गाउँपालिका तथा नेपाल सरकारलाई हानि नोक्सानी पुर्याइएको आयोगको ठहर छ।
आयोगले उक्त रकमलाई बिगो कायम गर्दै दुवै जनाविरुद्ध प्रचलित कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि