नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना । वैदिक ज्योतिषशास्त्र, नववर्षको जन्मलग्न कुण्डली र यस वर्षको ग्रहपरिषद् (मन्त्रिमण्डल) को सूक्ष्म अध्ययन गर्दा आगामी वर्ष २०८३ समग्रमा आर्थिक वृद्धि र धार्मिक जागरणको वर्ष रहे तापनि राजनीतिक र प्राकृतिक दृष्टिकोणले निकै चुनौतीपूर्ण रहने संकेत देखिएको छ । यस वर्ष ‘रौद्र’ नामक संवत्सर परेको छ । शास्त्रमा रौद्र संवत्सरका बारेमा यस्तो फल पाइन्छ :
अल्पतोयास्तथा मेघाः कीटाश्च शलभाः शुकाः ।
विकृताः पार्थिवा देवि रौद्रवर्षे वरानने ।। (मकरन्दप्रकाशः )
अर्थात्, यो वर्ष वर्षामा केही कमी आउने र कीरा तथा पक्षी वर्गलाई कष्ट हुने संकेत छ । यद्यपि, वर्षको ग्रहपरिषद् मिश्रित खालको छ । यस वर्षको वर्षपति (राजा) देवगुरु वृहस्पति रहेका छन् भने मन्त्री (सेनापति) मंगल (भौम) रहेका छन् । ज्ञान र सद्भावका कारक वृहस्पति राजा हुँदा देशमा यज्ञयज्ञादि, सत्कर्म, धनधान्य र ज्ञान–विज्ञानको क्षेत्रमा उत्तम फल प्राप्त हुनेछ । तर, क्रूर र युद्धकारक ग्रह मंगल मन्त्रीको पदमा आसीन भएकाले समाजमा चोर, अग्निभय, दुर्घटना र आपसी द्वन्द्वको त्रास पनि सँगसँगै रहनेछ । सेनापति मंगलको प्रभावले विश्वभरि नै सैन्य शक्ति र हतियारको प्रदर्शन बढ्नेछ । राष्ट्रहरूले आफ्नो सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो लगानी गर्नेछन् भने शत्रुहरू स्वतः कमजोर हुनेछन् ।
आगामी वर्ष नेपालको राजनीति निकै तरल रहनेछ । राजा वृहस्पतिले सुशासनको अपेक्षा राखे पनि मन्त्री मंगलका कारण दलहरूभित्रै शक्तिको संघर्ष चुलिनेछ । सत्ता समीकरणमा दाउपेच र आन्तरिक कलहले प्रश्रय पाउनेछ । राजनीतिमा उतारचढाव रहे पनि आमनागरिकमा भने धार्मिक कर्म तथा सत्कर्मप्रतिको लगाव बढ्नेछ । व्यक्ति–व्यक्तिबीच आत्मीय सद्भाव र भाइचारा वृद्धि हुने संकेत छ ।
यस वर्ष मेघेश (वर्षाका कारक) चन्द्रमा, धान्याधिपति (अन्नका कारक) बुध र शस्याधिपति शुक्र रहेका छन् । यी सौम्य ग्रहहरूको प्रभावले अर्थतन्त्र र कृषिमा क्रान्ति नै आउनेछ । भूमि तथा घर–जग्गाको कारोबारमा प्रचुर वृद्धि हुनेछ । किसानहरू निकै लाभान्वित हुनेछन् । फलफूल, अन्न (विशेषगरी गहुँ, धान) र बीउबिजनको प्रचुर उत्पादन हुनेछ । पशुपालन फष्टाउनेछ र दूध–दहीजस्ता रसपदार्थको राम्रो उत्पादन हुनेछ । सौन्दर्य प्रसाधन, सुन–चाँदी जस्ता धातु र विलासिताका साधनहरूको व्यापारमा भारी वृद्धि हुनेछ । व्यापार बढे पनि समग्रमा वर्ष खर्चिलो रहनेछ । अनुत्पादक क्षेत्रमा कम खर्च भए पनि बजारमा मूल्यवृद्धि (महँगी) भने बढ्ने निश्चित छ ।
रौद्र संवत्सर र मन्त्री मंगलको योग प्राकृतिक प्रकोपका हिसाबले निकै संवेदनशील मानिन्छ । यस वर्ष भूकम्प आदिको प्रकोप रहनसक्ने संकेत छ । पहाडी क्षेत्रमा भूस्खलन र सुख्खायाममा अग्निभय (आगलागी)को उच्च जोखिम रहनेछ । वायुको चाप कमजोर हुने र श्वासप्रश्वास वा हावाबाट सर्ने रोगव्याधिको क्षेत्र मध्यम रहनेछ । खानपान (विशेषगरी चिनी तथा मिठाई) प्रशस्त पाइने भए पनि स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
समग्रमा २०८३ साल ज्ञान-विज्ञान, अनुसन्धान, कृषि उत्पादन र आर्थिक कारोबारका हिसाबले अत्यन्तै सुखद् रहनेछ । तर, नेतृत्व वर्गले आफ्नो दम्भी स्वभाव (मंगलको प्रभाव)लाई नियन्त्रण गर्न नसक्दा राजनीतिक अस्थिरता कायम रहनेछ । प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न र राष्ट्रको कल्याणका लागि वर्षभरि नै यज्ञयागादि, शान्तिस्वस्ति र सत्कर्मलाई प्रश्रय दिनु शास्त्रसम्मत र श्रेयस्कर हुनेछ ।
वार्षिक राशिफल २०८३
मेष राशि
यस वर्ष तपाईंका लागि शनिको साढेसाती सुरु हुने भएकाले समग्रमा केही संघर्ष र चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । बाह्रौं भावमा शनिको गोचरले अनर्थ फल प्रदान गर्नुका साथै धनको नाश गराउने योग रहेको छ । असारसम्म तेस्रो भावमा रहने बृहस्पतिले अंगक्लेश अर्थात् शारीरिक र मानसिक चिन्ता बढाउनेछ भने असारदेखि चौथो भावमा प्रवेश गर्दा थप धनहानिको अवस्था सिर्जना हुनसक्छ । यद्यपि, मंसिरसम्म एघारौं भावमा रहने राहुले अधिक धनलाभ गराउने भएकाले आर्थिक संकटलाई केही हदसम्म सन्तुलनमा राख्नेछ । मंसिरदेखि राहु दशौं र केतु चौथो भावमा प्रवेश गर्दा कार्यक्षेत्रमा केही कलह तथा मानहानिको सम्भावना रहनेछ । स्वास्थ्यको दृष्टिकोणले साढेसाती र केतुको प्रभावले असारसम्म चित्तभ्रंश (मानसिक अस्थिरता) र कष्टहरूको सामना गर्नुपर्ने हुनसक्छ । अध्ययन र दाम्पत्य जीवनमा धैर्यता अपनाउनुहोला, तर विदेश यात्रा वा स्थानान्तरणको भने बलियो योग देखिन्छ ।
वृष राशि
तपाईंका लागि यो वर्ष आर्थिक र व्यावसायिक दृष्टिकोणले अत्यन्तै उत्कृष्ट र उपलब्धिमूलक रहनेछ । एघारौं भावमा गोचर गर्ने शनिले वर्षैभरि प्रशस्त धनलाभ गराउनेछ । असारसम्म दोस्रो भावमा रहने बृहस्पतिले अतुलनीय धनलाभ गराउने हुँदा रोकिएका काम बन्नेछन् र व्यवसायमा उल्लेखनीय प्रगतिको अवसर मिल्नेछ । यद्यपि, असारदेखि बृहस्पति तेस्रो भावमा सर्दा केही क्लेश वा चिन्ता थपिन सक्छ । मंसिरसम्म दशौं भावमा रहने राहुले कार्यक्षेत्रमा सामान्य कलह गराउन सक्ने र चौथो भावको केतुले मानहानिको भय उत्पन्न गराउने हुँदा सामाजिक मान–प्रतिष्ठामा सजग रहनुहोला । मंसिरदेखि केतु तेस्रो भावमा जाँदा सौभाग्य वृद्धि हुनेछ भने राहु नवौं भावमा सर्दा केही मानसिक सन्ताप बढ्न सक्छ । अध्ययनमा सफलता मिल्नेछ र पारिवारिक जीवन समग्रमा सुखद रहनेछ ।
मिथुन राशि
यो वर्ष तपाईंका लागि मध्यम फलदायी रहनेछ, जहाँ संयमता र कडा परिश्रमको आवश्यकता पर्नेछ । वर्षैभरि दशौं भावमा रहने शनिले कार्यक्षेत्रमा वैमनस्यता (दौर्मनस्य) बढाउने तथा काममा अवरोधहरू ल्याउने देखिन्छ । असारसम्म जन्मराशि (प्रथम भाव) मै बृहस्पति रहने भएकाले केही भय उत्पन्न हुने र विदेश यात्राको योग बन्नेछ । तर, असारदेखि बृहस्पति दोस्रो भावमा प्रवेश गर्दा आर्थिक स्थितिमा सुधार आउनेछ र अतुलनीय धनलाभ हुनेछ । मंसिरसम्म नवौं भावमा राहु रहने हुनाले केही सन्ताप (शोक) को अवस्था आउनसक्छ भने तेस्रो भावको केतुले सौभाग्य बढाउनेछ । मंसिरदेखि राहु आठौं भावमा र केतु दोस्रो भावमा जाँदा धनक्षय र पारिवारिक कलहको सम्भावना रहने भएकाले आर्थिक कारोबार र बोलीव्यवहारमा विशेष सावधानी अपनाउनुपर्नेछ ।
कर्कट राशि
कर्कट राशिका जातकहरूले यो वर्ष स्वास्थ्य, अर्थ र पारिवारिक विषयमा निकै सतर्कता अपनाउनुपर्ने देखिन्छ । नवौं भावमा रहने शनिले भाग्यमा केही अवरोध ल्याउनुका साथै धनक्षय (धनहानि) गराउनेछ । असारसम्म बाह्रौं भावमा गोचर गर्ने बृहस्पतिले शारीरिक तथा मानसिक पीडा दिने र खर्च बढाउनेछ । असारदेखि जन्मराशिमा बृहस्पति प्रवेश गर्दा मनमा अज्ञात भय उत्पन्न हुनेछ । मंसिरसम्म आठौं भावमा रहने राहु र दोस्रो भावको केतुले धनहानि तथा पारिवारिक कलह गराउनेछन् । मंसिरदेखि राहु सातौं भावमा सर्दा राज्यपक्ष वा साझेदारी कामबाट भय उत्पन्न हुने र केतु जन्मराशिमा आउँदा त्रास बढ्ने हुँदा दाम्पत्य जीवन तथा व्यापारिक साझेदारसँगको सम्बन्धमा विवाद आउन नदिन संयम अपनाउनुहोला ।
सिंह राशि
अष्टम भावमा शनिको गोचर (अढैया) सुरु भएकाले यो वर्ष तपाईंका लागि निकै संघर्षपूर्ण र चुनौतीपूर्ण रहनेछ । आठौं भावको शनिले शरीरमा पीडा, दुःख, अग्निभय र शस्त्रभय जस्ता अशुभ फल दिने भएकाले स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्नेछ । यद्यपि, असारसम्म एघारौं भावमा रहने बृहस्पतिले स्थान र धनको लाभ गराएर संकटमा केही राहत प्रदान गर्नेछ । असारदेखि बृहस्पति बाह्रौं भावमा प्रवेश गर्दा शारीरिक र मानसिक पीडा बढ्नेछ । मंसिरसम्म सातौं भावमा रहने राहुले दाम्पत्य जीवन र साझेदारीमा राजभय उत्पन्न गराउनेछ भने जन्मराशिको केतुले त्रास दिनेछ । तर, मंसिरदेखि राहु छैटौं भावमा सर्दा भने रोग र शत्रुमाथि विजय मिल्नुका साथै महासुख प्राप्त हुनेछ, यद्यपि बाह्रौं भावको केतुले केही विनाशकारी फल भने दिनसक्छ ।
कन्या राशि
तपाईंका लागि यो वर्षको उत्तरार्ध निकै सुखद, लाभदायक र उन्नतिशील रहनेछ । वर्षैभरि सातौं भावमा रहने शनिले दाम्पत्य र साझेदारीमा केही दोषहरू उत्पन्न गराउने सम्भावना छ । असारसम्म दशौं भावमा गोचर गर्ने बृहस्पतिले कार्यक्षेत्रमा कलह वा प्रीतिहरण गराउन सक्छ । तर, असारदेखि एघारौं भावमा बृहस्पति प्रवेश गर्दा अवस्थामा कायापलट हुनेछ, जसले सामाजिक प्रतिष्ठा (स्थान) र प्रशस्त धनलाभ गराउनेछ । मंसिरसम्म छैटौँ भावमा रहने राहुले शत्रु परास्त गर्दै महासुख प्रदान गर्नेछ भने बाह्रौं भावको केतुले खर्च भने बढाउनेछ । मंसिरदेखि राहु पाँचौंमा जाँदा अध्ययन र सन्तानपक्षमा चित्तभ्रंश गराए पनि एघारौं भावमा जाने केतुले अधिक धनलाभ गराउनेछ ।
तुला राशि
यो वर्ष तुला राशिका जातकहरूका लागि व्यावसायिक सफलता र आर्थिक समृद्धिको दृष्टिकोणले निकै उत्कृष्ट रहनेछ । छैटौं भावमा गोचर गर्ने शनि अत्यन्त शुभ मानिन्छ, जसले शत्रुलाई परास्त गर्दै प्रशस्त धनलाभ गराउनेछ । असारसम्म नवौं भावमा रहने बृहस्पतिले भाग्य र धर्ममा रुचि बढाउनुका साथै धनवृद्धि गराउनेछ । असारदेखि दशौं भावमा बृहस्पति सर्दा कार्यक्षेत्रमा केही असन्तुष्टि वा कलह (प्रीतिहरण) हुन सक्ने भएकाले सतर्क रहनुहोला । मंसिरसम्म पाँचौं भावमा रहने राहुले प्रेम, सन्तान र अध्ययनको क्षेत्रमा चित्तभ्रंश (मानसिक दुविधा) गराए पनि एघारौं भावको केतुले अधिक धनलाभ दिनेछ । मंसिरदेखि राहु चौथो भावमा जाँदा मानहानिको जोखिम रहने र केतु दशौं भावमा जाँदा कार्यक्षेत्रमा कलह हुनसक्ने भएकाले संयम अपनाउनुहोला ।
वृश्चिक राशि
वर्षको सुरुवाती समय केही संघर्षपूर्ण रहे पनि असारदेखिको समय तपाईंका लागि निकै फलदायी रहनेछ । पाँचौं भावमा गोचर गर्ने शनिले सन्तान (पुत्र), नोकर र धनको नाश गराउने भएकाले अध्ययन र आर्थिक लगानीमा जोखिम नमोल्नुहोला । असारसम्म आठौँ भावमा रहने बृहस्पतिले धनको नाश गराउने र स्वास्थ्यमा पनि प्रतिकूलता ल्याउन सक्छ । तर, असारदेखि नवौँ भावमा बृहस्पति सर्दा भाग्य उदय हुनुका साथै उल्लेखनीय रूपमा धनवृद्धि हुनेछ । मंसिरसम्म चौथो भावको राहुले मानहानि र दशौँ भावको केतुले कलह गराउने हुँदा पारिवारिक सुख र कार्यक्षेत्रमा समस्या आउनसक्छ । मंसिरदेखि राहु तेस्रो भावमा जाँदा सौभाग्यमा वृद्धि हुनेछ भने केतु नवौं भावमा सर्दा केही सन्ताप (शोक) बढ्न सक्छ ।
धनु राशि
चतुर्थ भावमा शनिको अढैया चलिरहेकाले यो वर्ष पारिवारिक सुख, स्वास्थ्य र स्थिर सम्पत्तिका विषयमा सावधान रहनुपर्नेछ । चौथो भावको शनिले रोग, बन्धुहरूसँग विरोध, स्थानान्तरण (विदेशगमन), क्लेश र विशेष मानसिक चिन्ता गराउनेछ । असारसम्म सातौँ भावमा रहने बृहस्पतिले साझेदारी काम र व्यापारबाट धनप्राप्ति गराएर आर्थिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ । तर, असारदेखि बृहस्पति आठौं भावमा जाँदा धननाश हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । मंसिरसम्म तेस्रो भावमा रहने राहुले सौभाग्य बढाउनेछ भने नवौं भावको केतुले केही सन्ताप गराउनेछ । मंसिरदेखि राहु दोस्रो भावमा जाँदा पारिवारिक कलह र केतु आठौं भावमा जाँदा धनहानि गराउने भएकाले आर्थिक र पारिवारिक विषयमा गम्भीर हुनुहोला ।
मकर राशि
यो वर्ष पराक्रम, साहस र आर्थिक उन्नतिका लागि तपाईंका लागि धेरै शुभ रहनेछ । तेस्रो भावमा गोचर गर्ने शनिले प्रशस्त धनलाभ गराउनेछ र तपाईंका योजना सफल हुनेछन् । असारसम्म छैटौं भावमा रहने बृहस्पतिले रोगको भय दिए पनि, असारदेखि सातौँ भावमा प्रवेश गर्दा दाम्पत्य सुख र साझेदारी व्यापारबाट धनप्राप्ति गराउनेछ । मंसिरसम्म दोस्रो भावमा रहने राहुले बोलीमा कठोरता ल्याई कलह गराउन सक्ने र आठौं भावको केतुले धनहानि गराउन सक्ने भएकाले आर्थिक कारोबारमा सचेत हुनुपर्छ । मंसिरदेखि राहु जन्मराशिमा आउँदा मनमा अज्ञात भय उत्पन्न हुनेछ भने केतु सातौं भावमा जाँदा दाम्पत्य जीवन वा राज्यपक्षबाट राजभय उत्पन्न गराउन सक्छ ।
कुम्भ राशि
शनिको साढेसातीको अन्तिम चरण चलिरहेकाले आर्थिक कारोबार र पारिवारिक सम्बन्धमा विशेष सतर्कता अपनाउनुपर्ने वर्ष छ । दोस्रो भावमा गोचर गर्ने शनिले धनहरण (धनको नाश) गराउने र परिवारमा क्लेश ल्याउन सक्छ । यद्यपि, असारसम्म पाँचौं भावमा रहने बृहस्पतिले सुख प्रदान गर्ने, अध्ययनमा सफलता दिने र सन्तानपक्षबाट सन्तोष दिलाउनेछ । असारदेखि बृहस्पति छैटौं भावमा जाँदा भने रोगको भय रहनेछ । मंसिरसम्म जन्मराशिमा रहने राहुले भय र सातौं भावको केतुले राज्यबाट वा साझेदारी कामबाट त्रास उत्पन्न गराउन सक्छ । मंसिरदेखि राहु बाह्रौं भावमा जाँदा विनाश (अधिक खर्च) हुने योग छ भने केतु छैटौं भावमा जाँदा शत्रु परास्त भई महासुख प्राप्त हुनेछ ।
मीन राशि
शनिको साढेसातीको मध्य चरण (जन्मराशिमै शनि) चलिरहेकाले यो वर्ष शारीरिक र मानसिक शान्तिमा जोड दिनुपर्नेछ । जन्मराशिमा गोचर गर्ने शनिले चित्तभ्रंश (मानसिक अशान्ति) र अनेक क्लेश गराउनेछ । असारसम्म चौथो भावको बृहस्पतिले पनि धनहानि गराउने र घरायसी सुखमा कमी ल्याउनेछ । मंसिरसम्म बाह्रौं भावमा रहने राहुले खर्च बढाउने र विनाश गराउनेछ भने छैटौं भावमा रहने केतुले रोग र शत्रुमाथि विजय दिलाउँदै महासुख प्रदान गर्नेछ । असारदेखि पाँचौं भावमा बृहस्पति प्रवेश गर्दा परिस्थितिमा केही सुधार आउनेछ र अध्ययन, प्रेम तथा सन्तानपक्षबाट सुख र सन्तोष प्राप्त हुनेछ । मंसिरदेखि राहु एघारौं भावमा जाँदा अधिक धनलाभ हुनेछ भने केतु पाँचौं भावमा जाँदा चित्तभ्रंश गराउनेछ ।
नोटः माथि प्रस्तुत गरिएको वार्षिक राशिफल मुख्यतया चन्द्रलग्नलाई प्रधान मानी विभिन्न ग्रहहरूको गोचरीय स्थितिको विश्लेषण गरेर तयार पारिएको हो । मानव जीवनको फलादेशमा गोचरीय प्रभावको जति महत्त्व हुन्छ, जन्मकुण्डलीमा रहेका ग्रहहरूको जन्मकालीन स्थिति र वर्तमान समयमा चलिरहेको ग्रहदशाको भूमिका पनि उत्तिकै प्रभावपूर्ण रहन्छ । गोचरले वर्तमान र भविष्यमा घट्ने घटनाहरूको समयसापेक्ष संकेतमात्र प्रदान गर्ने हुँदा यो एक सामान्य ज्योतिषीय दिशानिर्देश हो । तसर्थ, कुनै पनि व्यक्तिको जीवनका समग्र पक्षहरूको सूक्ष्म र वास्तविक फलादेश प्राप्त गर्न सम्बन्धित जातककै जन्मकुण्डलीको पूर्ण र विस्तृत अध्ययन गर्नु नै सबैभन्दा शास्त्रसम्मत र श्रेयस्कर हुन्छ ।
(लेखक नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक समेत हुनुहुन्छ)






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि