काठमाडौं । चीनमा यसै साता सम्पन्न कराते वान प्रिमियर लिग (लेशान २०२६) मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालकी एरिका गुरुङले रजत पदक जितेपछि प्रिमियर लिग स्ट्यान्डिङ (ग्रान्ड विनर) मा ऐतिहासिक फड्को मार्नुभएको छ । विश्व कराते महासंघ (डब्लुकेएफ)ले सार्वजनिक गरेको २०२६ को पछिल्लो वरीयताअनुसार ग्रान्ड स्ट्यान्डिङतर्फ एरिका महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा दोस्रो स्थानमा उक्लिनुभएको हो । कजाखस्तानकी सोफियाले २९७० अंकसहित शीर्ष स्थान मजबुत बनाइरहँदा एरिका १५०० अंकका साथ दोस्रो स्थानमा हुनुहुन्छ । तेस्रो स्थानमा इंग्ल्याण्डकी रोशेल वाल्टर्स (१२०० अंक) हुनुहुन्छ ।
डब्लुकेएफको वरीयतामा भने एरिका नवौं स्थानमा उक्लिनुभएको छ । यो वरीयतामा यसअघि उहाँ ११औँ स्थानमा हुनुहुन्थ्यो । एरिका निरन्तर उत्कृष्ट प्रदर्शनका कारण प्रिमियर स्ट्यान्डिङमा सिधै दोस्रो स्थानमा पुग्नुभएको हो । विश्व नम्बर एक बन्ने लक्ष्यमा रहनुभएकी एरिकाले डब्लुकेएफको वरीयता प्राप्त प्रतियोगितामा सफलता पाइरहँदामात्र लक्ष्य पूरा हुनेछ । यसै वर्षमात्र कराते वान प्रिमियर लिगमा दोस्रो रजत पदक जित्नुभएको छ । उहाँले यस सिजन प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आफूलाई विश्वकै शीर्ष खेलाडीमध्ये स्थापित गर्नुभएको छ । चीनमा भएको प्रतियोगितामा एरिकाले सेमिफाइनलसम्म सशक्त जित निकाल्दै फाइनलमा स्थान बनाउनुभएको थियो ।
फाइनलमा भने उहाँ हालकी विश्व नम्बर एक खेलाडी सोफिया बेरुल्तसेभासँग दुई-एकले पराजित हुनुभयो ।
महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा यसपटक प्रतिस्पर्धा अत्यन्त कडा देखिएको छ । चौथो स्थानमा युक्रेनकी डारिया बुलाय, क्रोएसियाकी निकोलिना गोलोम्बोस र स्पेनकी मारिया टोरेस गार्सिया समान १०५० अंकसहित संयुक्त रूपमा रहनुभएको छ । यसले शीर्ष स्थानको दौड झन् प्रतिस्पर्धात्मक बनेको संकेत गर्दछ ।
अब सबैको ध्यान मोरक्कोको राबाटमा हुने अन्तिम प्रिमियर लिगतर्फ केन्द्रित भएको छ । जहाँ २०२६ का ग्रान्ड विनरको टुंगो लाग्नेछ । एरिकाका लागि यो प्रतियोगिता ऐतिहासिक बन्ने अवसर हो । किनकि उहाँ विश्व नम्बर एक बन्ने लक्ष्यसहित मैदान उत्रिनुहुनेछ । नेपालका लागि एरिकाको यो उपलब्धि कराते इतिहासकै ठूलो र महत्वपूर्ण छ । एरिकाले अन्तिम प्रतिस्पर्धामा शीर्ष स्थान कब्जा गर्न सके जापानमा हुने आगामी एसियन गेम्सका लागि पनि महत्वपूर्ण हुनेछ । उहाँ र प्रशिक्षक कुशल श्रेष्ठको अबको लक्ष्य राबाटतर्फ केन्द्रित हुनेछ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि