मानिसलाई अनेक पीडा भइरहन्छन् । अहिले नेपाल सरकारका मन्त्रीहरूका लागि सुन सम्पत्तिको गहिरो पीडा सुरु भएको छ । सामाजिक सञ्जाल हेर्ने हो भने मन्त्रीहरूका शरीरभरी सुन आवरणले भरिपूर्ण देखिन्छ । कति चाँडो नेपालीहरू प्रतिक्रियात्मक हुन्छन् यही एउटा सन्दर्भ हेरे पुग्छ । विवरण नबुझाएसम्म मन्त्रीहरूका सम्पत्तिको प्रश्न उठिरह्यो । एक महिना पुग्दासम्म नियमतः सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर । अहिले केही दिन पहिले मात्र सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यति ठूलो परिणाममा सम्पत्ति कहाँबाट आयो ? भन्ने प्रश्न खडा भएको छ । यद्यपि, यी दुवै प्रश्न जायज र महत्वका छन् । अत्यन्त विपन्न परिवारबाट गिट्टी कुट्दै रास्वपाबाट सांसद उम्मेदवारी दिएकाहरूको सम्वाद नेपाली जनताले सुनेपछि अत्यन्त करुणा जागेको थियो । भारी बोकेर आफूले सन्तानलाई पढाएको कथाले मानिसहरूको मन हाहाकार बनाएको थियो । तर, सम्पत्ति विवरण सार्वजनिक भएपछि थाहा भयो ः हिजोका ती कथाहरू सही थिएनन् वा जनतालाई भ्रमित तुल्याउन गरिएको प्रचारबाजी थियो । नेपाली जनता साह्रै दयालु छन् । उनीहरूमा तत्काल करुणाको मुहान रसाउँछ । अनि सारै इखालु पनि छन् उनीहरूमा साह्रै चाँडो रिस पनि उठ्छ । विगत भुल्ने बानी नयाँ होइन । राम्रा कामहरू देखेर नराम्रा अपजसे काम पनि नेपाली जनताको मानस पटलमा दिगो भएर रहेको देखिँदैन । असाध्यै चाँडो उत्तेजित हुने र बिनातर्क आग्रहको डोको बोक्न तम्सिनेदेखि एकोहोरो विश्वासको संवाहक भइहाल्ने व्यवहार छ नेपालीहरूमा । आँखा चिम्लेर हिजोका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरी करिब दुईतिहाइको बहुमत प्रदान गर्ने नेपालीहरू नै यतिखेर छाँगाबाट खसे जस्तो देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नै अब उनीहरूले परिवर्तन गरिदएको सुनिन्छ । रास्वपाको बदला राष्ट्रिय सुन पार्टी धेरैजना हिजोका समर्थकहरूका भाषा यस्तै देखिन्छन् सामाजिक सञ्जालमा । उत्ताउलिनेहरूको दुर्दशा एक महिना नपुग्दै सडकभरी असरल्ल देखिनु दुर्भाग्यपूर्ण नै हो ।
अस्ति हाम्रो बलेसीमा आउँदा हेरेँ
केही उज्यालो अनुहार थियो उसको
मानिसहरू भन्थे : उसमा केही शक्ति छ
केही जाँगर छ र केही गर्छ
मानिसहरूले आरती उतारे
मानिसहरूले खुट्टा ढोगे
नारा जुलुस गरे ।
उज्यालो अनुहार फक्रँदै झन्
उज्यालो छर्छ कि भन्ने थियो
आशा नै मानिसको जीवन हो भन्छन्
आशा मरेपछि मान्छे पनि मर्छ भन्छन्
मान्छेको आशा मरोस् कि
आफै मरुन् अब उसलाई के फरक पर्छ र ?
त्यसैले त उसले
बिहानको उज्यालोलाई समेत
कालो मोसो पोत्यो र
सबैलाई कालै बनाएर लुक्यो ।
वंशवृक्ष कविता संग्रहको सप्तरंगी भ्रम शीर्षकको कवितांशले भने जस्तै अहिले नेपाली राजनीति, सत्ता र नेतृत्वको रूप देखिएको छ ।
लोकप्रियतावादको डरलाग्दो तुफानको सहारामा लोकतान्त्रिक जनमतको आधारलाई कमजोर कडी बनाउन सफलहरूको आजको अवस्था विचित्रको देखिन्छ । बहुदलीय व्यवस्थामा सामान्यतः एकसय दिनलाई हनिमुन पिरियड भन्ने प्रचलन छ । तर, त्यो प्रचलन पुरानो किंवदन्तीमा परिणत भएको छ । यो युग स्मार्ट युग हो । डिजिटलाइज्ड युग हो । पुराना यस्ता कुनै सय दिनको प्रतीक्षा गर्न कोही पनि तयार छैनन् । तत्काल परिणाम हुनुपर्छ, देखिने गरी हुनुपर्छ । त्यसमा पनि आगो फैलाएर, राँको बालेर खरानी पारेर र मानिसहरूको रगतको आहाल टेक्दै आक्रामकताका साथ सत्तामा पुग्नेहरूले देखाएको सपनाको चम्किलो परिणाम देख्न जनता आतुर नहुने कुरै भएन । तर, एक महिना नपुग्दै सरकार नराम्ररी विवादको गर्तमा डुबुल्की मार्न पुगेको छ । एक महिनामा नै यतिविधि विवाद देखिनु स्वस्थकर होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारले आफ्नो आलोचना सहनसक्ने सामर्थ्य गुमाएको छ ३० दिन नपुग्दै । सबैभन्दा आलोचना गर्ने प्रेस हो ।
सरकारले संविधानप्रदत्त अधिकारलाई निस्तेज गराउँदै सरकारी र गैरसरकारी नाममा विज्ञापन नीति तय गरेको छ । यो नीतिको गम्भीर प्रभाव पर्ने निश्चित छ । पुराना दलविरुद्ध आक्रामक भएर आएको र नयाँ काम गर्ने वचन दिएको सरकारले पहिले प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको छ । प्रेसमाथि प्रहार गर्नु निरंकुशताको द्योतक हो । सैनिक कू गर्नेहरूले सबैभन्दा पहिले राष्ट्रिय सञ्चार माध्यममाथि कब्जा गर्छन् । सिधा धावा नबोले पनि प्रकारान्तरले रास्वपा सरकारले स्वतन्त्र प्रेसको विकासमाथि धावा बोलेको छ । राजनीतिकरणका नाममा ट्रेड युनियनविरुद्ध सक्रियता देखाएको छ । यद्यपि, दलीय सम्बद्धता र व्यावसायिक सम्बन्ध फरक विषय हुन् र दलवादले चुर्लुम्म बनाएको पेसा व्यवसायलाई राष्ट्रको मूल चरित्रसँग सम्बद्ध गराउनु आवश्यक छ । तर, एकैपटक होइन । यतिखेर विद्यार्थी संगठनहरूको कठोर धारणा सार्वजनिक भइरहेको छ ।
प्रेस र विद्यार्थी युवाहरू एकैठाउँ उभिने अवस्था देखिँदै छ । शिक्षा र शिक्षकबारे पनि कुनै व्यावहारिक दृष्टिकोण छैन । निजी क्षेत्रका विद्यालय बन्द गर्ने घोषणा गर्दै हिँडेपछि चार लाखभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्ने शिक्षालयहरू, तिनमा लगानी गर्ने र ऋण लिएर व्यवसाय गर्नेहरू क्रुद्ध बनेका छन् । सय बुँदा प्रस्तुत गरेको भए पनि प्राथमिता तय नगर्दा कुहिराको काग बन्दै छ सरकार । पछिल्लो समयमा त सम्पत्ति र सुन विवादमा परेका छन् मन्त्रीहरू । एकातिर तत्काल पूर्ववर्ती सरकारको नेतृत्वलाई कानुनी प्रक्रिया परिपक्व नबनाई गिरफ्तार गर्ने काम भयो, त्यो मृतक परिवारलाई मलम लगाउने उचित तर लोकप्रियतावादमा आधारित रणनीति थियो जुन नीति बेलुनको हावामा परिणत भयो ।
यसरी एकपछि अर्को गरी रास्वपा नेतृत्वको सरकार विवादमा पर्दै छ । अलमलमा छ । अराजकतावादी मनोग्रन्थीको आड भरोसामा देखिन्छ । सम्पत्तिबारे उठेको प्रश्नको जवाफ नेपाली जनताले खोजेका छन् । सम्पत्तिको स्रोत, कानुनी हैसियत, पुर्खाहरूको देन, दाइजो वा यस्तै कुनै आधार सुन र सम्पत्तिलाई पुष्टि गर्ने अवस्था आउन भने सरकारको नेतृत्वले हिजोको अराजकतालाई स्मरण गर्नुपर्ने हुन्छ । अहिले अरू वैदेशिक मुद्दा छायामा छन्, ती पनि उठ्न लागेपछि विवाद र द्वन्द्वको राजमार्ग झन् फराक हुने निश्चित छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि