पुरानै चामल औषधि हुन्छ
वेदव्यासले लेखेका १८ वटा महापुराणमध्ये पहिलो पुराण हो ‘ब्रह्मपुराण’ । भाषाशैली, आख्यान संरचना, उपाख्यान–व्यवस्थापनकला आदिका दृष्टिले पनि यो पुराण पहिलो नै हो भन्न सकिन्छ । लेखकको सिकारुपना झल्कन्छ । सबैभन्दा अन्त्यमा लेखिएको भनेको श्रीमद्भागवतमहापुराण हो भन्ने नेपाली लोकभनाइमा पनि शाश्वत सत्य रहेको भेटिँदैन । उनको लेखाइ क्रमको पाँचौँ क्रममा आएको हो श्रीमद्भागवत । भागवत नामका दुईवटा उत्ति नै श्लोक संख्या भएका पुराण छन् । एउटा कृष्णको लीला पुरुषत्वको वर्णनमा केन्द्रित छ भने दोस्रो चाहिँ श्रीमद्देवी भागवत नामको देवीमहिमा, शक्ति र तिनका कृत्य वर्णनमा आधृत रहेको भेटिन्छ । लोकमा श्रीमद्भागवत सप्ताहका रूपमा र चतुर्मासका रूपमा लाउने प्रचलन रहेको भेटिन्छ ।
यजमानको इच्छा, आर्थिक क्षमताका दृष्टिले नेपाली समाजमा एकाह नामको भागवत पाठ गराउने पनि चलन छ तर प्रसिद्धि भने श्रीमद्भागवतको सप्ताह र चौमासे नै हो । देवीभागवत नवाहका रूपमा शारदीय नवरात्र चैत्र शुक्लपक्षीय नवरात्रका बेला लाउने प्रचलन नेपाली लोकमा अधिक भेटिन्छ । व्यासले ब्रह्मपुराणलाई दुई भागमा व्यवस्थित गरेका छन् पूर्वभाग र उत्तर भाग । यस पुराणका श्लोक संख्या, यसका भाग चाल पाउन हामीले श्रीमद्भागवत, विष्णुपुराण, शिवपुराण, ब्रह्मवैवर्तपुराण, मार्कण्डेयपुराण र नारदीय पुराणसमेत पढ्नु आवश्यक छ । यी पुराणमा बताएअनुसार यस पुराणमा १० हजार श्लोक संख्या रहेका छन् भन्ने उल्लेख भेटिन्छ । मत्स्यपुराणका अनुसार चाहिँ १३ हजार श्लोक संख्याको छ भनिएको देखिन्छ । ब्रह्मपुराण पढेर यसका अध्याय, भाग र श्लोकसङ्ख्या पत्ता लाउन कलमकापी लिएर पढ्दै टिप्दै गर्नैपर्छ अर्को उपाय छैन ।
ब्रह्मपुराण दुई भागको छ । पहिलो भागमा २४५ अध्याय छन् । यी अध्यायहरूमा देवता र असुरको उत्पत्ति कथा, प्रजापति र दक्षसहितका मुनिहरूको कृत्य कथाका साथै लोकेश्वरको परिचय र विशेषतः सूर्यको समग्र शक्ति सामर्थ्य वर्णन रहेको भेटिन्छ । यसै क्रममा सूर्यवंशी राजा र तिनका वंशमा भएका असल कामको वर्णन पनि आएको छ ।
पुराणका अध्यायान्तमा लेखिने पुष्पिका वाक्यले त्यस पुराणको श्लोकसंख्या जनाउँछ तर ब्रह्मपुराणमा यो कुरो लागू हुँदैन । पुराणमा इतिहास पनि हुने भएका कारणले यहाँ जसका सम्बन्धमा वर्णन गरिन्छ त्यो नै एक्का हो । अर्को त्यो समानको छैन भन्ने प्रतिपादन गर्न खोजेको देखिन्छ । मानौँ भोलि कुनै इतिहासकारले २०४६ सालदेखि २०८२ साल फागुन २१ गतेसम्मका कुरालाई लिएर इतिहास लेख्यो भने यस कालखण्डमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, उत्तरार्द्धमा खशेपुका शक्ति सामर्थ्यका अगाडि अरू भुसुना देखिन सक्छन् ।
यस प्रकारको ‘सु’ या ‘कु’ प्रवृत्ति जे भए पनि तिनै नायकमा परिसीमित रहनु इतिहासकारको वैषयिक विवशता हो जुन कुरो पुराणमा पनि लागू हुन्छ । अठारै पुराण पढेर कुन चाहिँ देवता आराध्य हो ? भनेर प्रश्न गरे पुराण पढ्नेले यसको उत्तर दिन सक्दैन । शिवपुराणमा शिव जति शक्तिशाली कोही देखिँदैन । गणेशपुराण पढ्यो भने सारा ब्रह्माण्डका स्रष्टा र परात्परब्रह्म भनेका गणेश मात्र हुन् भनिएको भेटिन्छ । दक्षिणा या पेसा व्यवसायका लागि पुराण भन्ने पौराणिकले पनि यो औपन्यासिकता या ऐतिहासिकताका कारणले यस्तो भएको भनेर बताउन सक्दैनन् या चाहँदैनन् भन्न सकिँदैन ।
ब्रह्मपुराण (पूर्वभाग)
ब्रह्मपुराण दुई भागको छ । पहिलो भागमा २४५ अध्याय छन् । यी अध्यायहरूमा देवता र असुरको उत्पत्तिकथा, प्रजापति र दक्षसहितका मुनिहरूको कृत्य कथाका साथै लोकेश्वरको परिचय र विशेषतः सूर्यको समग्र शक्तिसामर्थ्य वर्णन रहेको भेटिन्छ । यसै क्रममा सूर्यवंशी राजा र तिनका वंशमा भएका असल कामको वर्णन पनि आएको छ । परमानन्द प्रदायक भगवान्का अवतार वर्णन र विशेष गरी रामचन्द्रको चतुर्व्यूह (नारायण, शेष, शंख, गदा पद्म) समेत गरी उनीसँग सम्बद्ध सबैले मानवरूप लिएर भू-भारहराणार्थ अयोध्याका राजा दशरथका दरबारमा आएका प्रसङ्गको सम्यग्वर्णनपछि चन्द्रवंशको वर्णन आएको छ ।
धेरैजसो पुराणमा सूर्यवंशी र चन्द्रवंशी राजाको वर्णन नेपालका कांग्रेस र कम्युनिष्टको जस्तै गरी आएको देखिन्छ । चन्द्रवंशमा भगवान् कृष्णको वर्णन सबैभन्दा आकर्षक किसिमले गरेको देखिन्छ । नवद्वीपको लोमहर्षक वर्णन आउँछ । नदी र वर्षहरूको पनि निःशेष वर्णन गरिएको छ । यसैगरी स्वर्गलोक, मर्त्यमण्डल, पातालको पनि अशेष वर्णन गरिएको भेटिन्छ । सृष्टि, स्थिति र लयको वर्णनका क्रममा स्वर्ग र नर्कको वर्णन आएको भेटिन्छ र त्यहीँ सूर्यस्तुति विशेष प्रकारले गरिएको छ । यसपछि पार्वतीको जन्म, वृद्धि र विवाहको वर्णन गरिएको छ । दक्षयज्ञ विध्वंसको कथालाई पार्वती विवाहोत्सवको पूर्वपक्षका रूपमा वर्णन गरिएको देखिन्छ । यो शैली संस्कृत वाङ्मयमा कुनै विशिष्ट समस्यामा केन्द्रित रही दुई व्यक्तिले गर्ने शास्त्रार्थ शैलीमा आधृत रहेको देखिन्छ ।
यसपछि आम्रक्षेत्रको वर्णन आउँछ भने यत्तिमा नै यस पुराणको पूर्वभाग परिसमाप्त भएको छ । त्यस बेलाका महादेश देशान्तर तथा आजका महादेश देशान्तरको तुलना गरेर भूगोल विषयका प्राध्यापकले अध्यावधि अध्ययन गरेको मैले पढ्न पाएको छुइन । प्राचीन भारतीय भूगोल विषयमा पिएचडी, डिलिट गरेका विमलचरण लाहाले ‘प्राचीन भारत का ऐतिहासिक भूगोल’ भन्ने पुस्तकमा भारतलगायत नेपालका भूभाग र नदनदीको समेत अधिकृत अध्ययन प्रस्तुत गरेका रहेछन् । यसमा जुन प्रकारका रहरलाग्दा विगतका ऐतिह्य भू-भागका स्वरूपको वर्णन गरेका छन्; त्यो मैले पढेँ । त्यस्तै खोजपूर्ण पुस्तक नेपाली भूगोलवेत्ताले पनि जिब्रो लट्पट्याएर पाएको ज्ञानलाई हाम्रा पुराणमा ऋषिले बगाएका पसिनामा आफ्ना पनि पसिना मिसाएर सामग्री उत्पादन गरिदिए कति आनन्द हुन्थ्यो होला ।
हामी बागमतीको व्युत्पति जान्दैनौँ लाहाले वाच्मति, वाङमती, बाहुमती र बागमती भनेर आजको हाम्रो बागमती नदीका युग युगान्तरका नामका रूपको व्युत्पति देखाएका छन् । के यसरी हाम्रा प्राचीन सामग्रीको अध्ययन विश्लेषण र खोजतलास गरे हाम्रो महिमा घट्छ ? घट्दैन भने किन यता हाम्रो प्रयास कोल्टिँदैन ? सँगै स्वतन्त्र भएका छिमेकी देशले गरेको प्रगति देखेर पनि हाम्रा राजनीतिकर्मीका गिदीमा लागेको बोसो नपग्लेको देख्दा गधालाई नुहाएर गाई बनाउन सकिँदैन भनेको सही रहेछ जस्तो लाग्छ । तर, पनि नेपालको प्राचीन कुरो सम्झँदा गौरवले छाती फुल्छ नै । देवकोटा, सम, लेखनाथ, बाबुराम आचार्य, योगी नरहरिनाथ, धनवज्राचार्य, मोहनप्रसाद खनाल, बालकृष्ण पोखरेल, वासुदेव त्रिपाठीले भाषासाहित्य र प्राचीन अभिलेख अध्ययन गरेर जुन कुरो हाम्रा अगाडि ल्याएका छन् ती कुरा कम महत्त्वका छन् र ?
आजका जेन-जी मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा हिजोका दलीय सरकारले देशमा अवसर दिएन भनेर यिनले भनेकै कुरो मिथ्या सावित भएको देखिन्छ । ३६ वर्षदेखि ५२ वर्षको उमेरका मन्त्रीको धन हेर्दा कमाएर थुपारेको हो र ? भनेर प्रश्न गर्नुपर्ने अवस्था देखिएको छ । यसलाई बेनले बद्मासी गरेको धन पृथुले दुहेर निकालेका कुरासँग जोडर पढे पुराणले कत्रो विगत र वर्तमानको दूरीलाई जोड्दो रहेछ भन्ने ज्ञान हुन्छ । यसैलाई वेदले ऋते ज्ञानान्नमुक्तिः भनेर घोषणा गरेको रहेछ भन्ने तत्त्व बोध हुन्छ ।
ब्रह्मपुराण दोस्रो भाग
यस पुराणको दोस्रो भागमा पुरुषोत्तमको वर्णन आउँछ र विधानपूर्वक तीर्थयात्राको वर्णन पनि गरिएको छ । यसैमा श्रीकृष्णचरित्र पनि विस्तारपूर्वक वर्णन गरिएको देखिन्छ । ब्रह्मलोक वर्णनका साथै पितृको श्राद्धविधिका सम्बन्धमा पनि विस्तारपूर्वक बताइएको छ । चारैवर्णका वर्णाश्रम धर्मका कर्तव्याकर्तव्यको निरूपणका साथै धर्माधर्मको पनि सघन वर्णन गरिएको भेटिन्छ । वैष्णव धर्मको व्याख्या गर्दै युगवर्णन र युगधर्मको पनि सङ्केत गरेको छ । यसै सन्दर्भमा युगको आगमनसँगै सृष्टि वर्णन आवश्यक हुने भएको हुनाले लगत्तै प्रलयको पनि वर्णन गरिएको देखिन्छ । योगका कुरा पनि आएका छन् र योगी योग आदिका कुरा पनि विशद किसिमले गरिएको छ । विशेष गरी सांख्ययोगको वर्णनमा व्यासले रुचि लिएका छन् ।
ज्ञानीका लागि साङ्ख्ययोग हो भनेर गीतामा भगवान श्रीकृष्णले भनेको जस्तै गरी साङ्ख्ययोगको विस्तारपूर्वक व्याख्या भएको छ । ब्रह्मवाद निरूपण गर्दै पुराण प्रशंसासमेत प्रस्तुत गरिएको छ । यो पुराण प्रशंसा हेर्दा व्यासले पुराणका महिमालाई त्यसरी बुझेको देखिन्छ जसरी एउटा सिद्धहस्त इतिहासकारले समाजका अनेकौँ अन्तरकुन्तरमा पनि पुगेर सामग्री संकलन गरेर बितेका समयको समग्र स्वरूप, प्रभाव र महत्त्व सामान्य मानवका अगाडि ल्याइदिन्छ । व्यासले पनि आफ्ना दिमागमा भएका भविष्यका योजनालाई काल्पनिक किसिमले अगाडि नै प्रस्तुत गरेका हुन् कि ? जस्तो देखिन्छ । यसरी ब्रह्मपुराणको दोस्रा भागमा भएका मुख्य मुख्य प्रसंगलाई यसै क्रममा राख्न सकिन्छ । सामाजिक, धार्मिक र नैतिक रूपमा पतन भएको अनुभव गराउने खालका आचरण, घटना, निर्णय नै पापका कारण मानिन्छन् ।
पुराणमा भेटिने विषय
प्रायः पुराणका शैलीमा मात्रै समानता नभेटिएर विषयमा पनि युग युगान्तरणका साथ समानता भेटिन्छ । हिजोका मानवका कृत्य र चिन्तनमा युगको प्रभाव परेको देखिन्छ तापनि मूलभूत रूपमा भने समानान्तरता नै रहेको देखिन्छ । राजा, देव, दानव र ऋषिका क्रियाकलाप, आचरण चिन्तन अतिरिक्त द्वीपद्वीपान्तर चित्रण, पर्वत नदनदी वर्णन, वंशवंशानुचरित वर्णन, विकास निर्माणका कुरादेखि सामान्य सुधारका प्रयत्न पनि पुराणमा आएका छन् । वेदले भन्छ “ऋतेज्ञानान्नमुक्तिः” ज्ञानबेगर मुक्ति सम्भव छैन । पुराणले राम्रा नराम्रा कुरालाई आख्यानमा बदलेर समाजका साधारण मान्छेले पनि बुझ्ने गरी शास्त्रोपदेशलाई प्रक्षेपण गरेका छन् ।
यसरी उचित अनुचितको ज्ञान भएपछि कर्तव्याकर्तव्यको बोध हुन्छ । इतिहास, भूगोल, अर्थशास्त्रका विद्वान्ले हिजोलाई खोजेर खोतलेर आजसँग जोड्ने चेष्टा गरिदिएको भए चीन, अमेरिका र बेलायतको नाम सुनेर र्याल काड्नु पर्नेथिएन । हामी पनि आफ्नै प्राचीन स्रोतसम्पत्तिको विकास गरेर त्यत्तिकै सम्पन्न हुनेथियौँ । आजका जेन-जी मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा हिजोका दलीय सरकारले देशमा अवसर दिएन भनेर यिनले भनेकै कुरो मिथ्या सावित भएको देखिन्छ । ३६ वर्षदेखि ५२ वर्षको उमेरका मन्त्रीको धन हेर्दा कमाएर थुपारेको हो र ? भनेर प्रश्न गर्नुपर्ने अवस्था देखिएको छ । यसलाई बेनले बद्मासी गरेको धन पृथुले दुहेर निकालेका कुरासँग जोडर पढे पुराणले कत्रो विगत र वर्तमानको दूरीलाई जोड्दो रहेछ भन्ने ज्ञान हुन्छ । यसैलाई वेदले ऋते ज्ञानान्नमुक्तिः भनेर घोषणा गरेको रहेछ भन्ने तत्त्व बोध हुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि