काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली चलचित्र क्षेत्र निकै सक्रिय देखियो । नयाँ वर्षको छेको पारेर चलचित्र ‘राम नाम सत्य’ र ‘पहाड’ प्रदर्शनमा आएका छन् । नयाँ वर्षमा यी दुई चलचित्रको व्यापार देशभर उत्साहजनक देखियो । ‘राम नाम सत्य’ आक्रामक व्यापार देखियो भने ‘पहाड’ को सुखद् सुरुवात रहेको छ । यस्तै नयाँ वर्षको सुरुवातसँगै एकैदिन दर्जनौँ चलचित्रको घोषणा, पोस्टर सार्वजनिक र प्रदर्शन मिति तय गरिएको छ । तीन महिनादेखि सुस्ताएको नेपाली चलचित्रको व्यापार नयाँ वर्षमा चलायमान देखिएको छ । माघ १६ गते प्रदर्शनमा आएको ‘आबाट आमा’ ले नेपालमा १३ करोड १३ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै उल्लेखनीय सफलता हासिल गर्यो । तर, त्यसपछि प्रदर्शनमा आएका कुनै नेपाली चलचित्र राम्रो व्यापार गर्न सकेका थिएनन् ।
नयाँ वर्षको पहिलो दिनमा नयाँ चलचित्र निर्माण घोषणाको बाढी नै आएको छ । यति धेरै चलचित्र घोषणा हुनु सकारात्मक संकेत हो । यसले नेपाली चलचित्र उद्योग पुनः गति लिइरहेको देखाउँछ । निर्माता-निर्देशकहरू नयाँ कथा, नयाँ प्रस्तुति र दर्शकको रुचिअनुसार काम गर्न इच्छुक देखिन्छन् । तर, यति धेरै घोषणा भएका चलचित्रमध्ये सबै निर्माण भएर निर्धारित मितिमा प्रदर्शन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न भने यथावत् छ । नेपाली चलचित्र क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि घोषणा भएर बीचमै रोकिएका वा ढिला भएका परियोजनाहरू प्रशस्तै छन् ।
नयाँ वर्ष (मंगलबार) करिब एक दर्जन चलचित्रले विभिन्न रूपमा आफूलाई सार्वजनिक गर्दै दर्शकमाझ उत्सुकता पैदा गरेका छन् । नयाँ वर्षकै अवसर पारेर केही चर्चित चलचित्रले आफ्नो प्रदर्शन मिति तय गर्दै प्रचार अभियान सुरु गरेका छन् । चलचित्र ‘महाराजधिराज’को पोस्टर सार्वजनिक गरिएको छ, जसमा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा देखिनुभएको छ । यो चलचित्र बडादशैँको अवसरमा प्रदर्शनमा आउने तयारीमा छ ।
त्यसैगरी, ‘जदौ’ ले पनि पोस्टरसहित भदौ १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यस चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तै, ‘पेन्सन पट्टा’ले तीजको अवसर पारेर भदौ २६ गतेलाई रिलिज मिति तय गरेको छ । माओत्से गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतको अभिनय छ ।
अर्कोतर्फ, हास्य अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको ‘कार्की साइँला’ साउन १ गते प्रदर्शनमा आउनेछ । चलचित्रको फस्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ । हास्य कलाकारका रुपमा परिचित जितुलाई यस चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले भरियाको कथामा प्रस्तुत गर्नुभएको छ । धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरालगायत स्थानमा छायांकन गरिएको यो चलचित्रमा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल लगायतका कलाकारको अभिनय छ ।
त्यस्तै, अभिनेत्री केकी अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘स्टेशन’ले भदौ १९ गतेलाई रिलिज मिति घोषणा गरेको छ । ‘बोक्सीको घर’ टिमको सहकार्य रहेको यस चलचित्रप्रति पनि दर्शकको चासो देखिएको छ । केकी अधिकारी फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्र सोसल ड्रामाको रूपमा निर्माण हुनेछ । चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने केकीले बताउनुभएको छ ।
नयाँ चलचित्र घोषणा : नयाँ कथा र नयाँ प्रयोग
नयाँ वर्षले केवल प्रदर्शन मिति मात्र होइन, नयाँ चलचित्र घोषणाको लहर पनि ल्याएको छ । अभिनेत्री पूजा शर्माले ‘रत्यौली’को घोषणा गर्दै विजय बरालसँग पहिलोपटक सहकार्य गर्न लाग्नुभएको छ । मुस्कान ढकालको निर्देशन रहने यो चलचित्र सामाजिक कथामा आधारित हुने संकेत गरिएको छ । यो चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दै हुनुहुन्छ ।
यसैबीच, सुपरहिट चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्यले चलचित्र ‘चिरञ्जीवी भवः’ घोषणा गर्नुभएको छ । उहाँले यसपटक पनि समकालीन समाजको गहिरो कथा प्रस्तुत गर्ने बताउनुभएको छ । यो चलचित्र कुमार कट्टेलको कथामा बन्ने छ जसमा सविन अधिकारी तथा वसन्त न्यौपानेको लेखन रहने छ । निर्देशक आचार्यले यसअघि निर्माण गरेको ‘परान’ जस्तै, समय सान्दर्भिक कथा प्रस्तुत गर्ने उद्देश्यले नयाँ चलचित्र अघि सारिएको बताउनुभएको छ ।
निर्देशक राजबहादुर सानेले प्रेमकथामा आधारित चलचित्र ‘गंगारानी’ घोषणा गर्नुभएको छ । जसको छायांकन जेठ अन्त्यतिर सुरु गर्ने जनाइएको छ । चलचित्रको स्केच पोस्टरमा एक युवतीलाई घरैघरले घेरिएको गल्लीमा उभिएर बसेको देख्न सकिन्छ । आहा फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक साने स्वयंको लेखन रहेको छ । यस चलचित्रमा कलाकार र प्राविधिक भने सार्वजनिक गरिएको छैन । निर्देशक सानेका अनुसार चलचित्रमा स्थापित कलाकारहरूको अभिनय रहने छ ।
त्यस्तै, निर्माता विनोद पौडेलले निर्देशनमा डेब्यु गर्दै ‘दुई किनारा’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । टाइटल सार्वजनिक गर्दै पौडेलले पहाडको दुई रुप देखाउनुभएको छ । एकातिर हरियो जंगल र अर्कोतर्फ उराठ पहाड चित्रित गरिएको छ । बीचमा नागबेली साँघुरो बाटो छ । यसले जिन्दगीका दुई पाटा एकातिर सुख र अर्को दुःखलाई देखाउने प्रयास गरेको छ । जिन्दगीमा सानो–सानो कुरामा लिइने निर्णयले ठूलो असर पार्ने थिम पोस्टरले संकेत गरेको छ ।
पौडेलले चलचित्र एक वर्षपछि आजकै दिन अथवा २०८४ को वैशाख १ गते रिलिज गर्ने घोषणा गर्नुभएको छ । कलाकार, कथा लेखक, प्राविधिकबारे भने केही पनि जानकारी दिइएको छैन ।
यस्तै, नयाँ वर्ष २०८३ को अवसर पारेर ‘कोटी कोटी प्रणाम’ चलचित्रको औपचारिक घोषणा गरिएको छ । दिलासा क्रिएसनको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले दर्शकमाझ आफ्नो नयाँ प्रोजेक्टबारे जानकारी दिएको हो । लक्षमण सुवेदीको लेखन, गीत तथा निर्देशन रहने छ चलचित्रमा । निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु, कलाकार चयन तथा छायांकन तालिका चाँडै सार्वजनिक गरिनेछ ।
नयाँ वर्षमा अन्य घोषणा भएका चलचित्रहरूमा ‘भगवान छस् के छ ग्यारेण्टी’, ‘द रिपेयरम्यान’, ‘सारथी’, ‘कोटी कोटी प्रणाम’ जस्ता रहेका छन् ।
नयाँ वर्षसँगै कलाकारहरूको सक्रियता पनि बढेको देखिन्छ । अभिनेता सलिनमान बनियाँले लामो समयपछि पुनः चिलचित्र क्षेत्रमा फर्किने संकेत दिनुभएको छ । यसले उहाँका फ्यानहरूमा उत्साह थपेको छ ।
उत्साह र चुनौती
नयाँ वर्षको पहिलो दिनमै यति धेरै चलचित्र घोषणा हुनु सकारात्मक संकेत हो । यसले नेपाली चलचित्र उद्योग पुनः गति लिइरहेको देखाउँछ । निर्माता–निर्देशकहरू नयाँ कथा, नयाँ प्रस्तुति र दर्शकको रुचि अनुसार काम गर्न इच्छुक देखिन्छन् । तर, यति धेरै घोषणा भएका चलचित्रमध्ये सबै निर्माण भएर निर्धारित मितिमा प्रदर्शन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न भने यथावत् छ । नेपाली चलचित्र क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि घोषणा भएर बीचमै रोकिएका वा ढिला भएका परियोजनाहरू प्रशस्तै छन् ।
नयाँ वर्ष २०८३ नेपाली फिल्म उद्योगका लागि आशा, उत्साह र प्रतिस्पर्धाको सुरुवात बनेको छ । एकातिर नयाँ चलचित्र घोषणा र अर्कोतिर प्रदर्शन मिति तय हुनु दर्शकका लागि सुखद समाचार हो । अब हेर्न बाँकी छ- यी घोषणाहरू कति सफलतापूर्वक पर्दासम्म पुग्छन् र दर्शकको मन जित्न सफल हुन्छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि