काठमाडौं । सरकारले पश्चिम एसिया तथा खाडी क्षेत्रका केही मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय बैठकले इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको हो । फेब्रुअरी २८ देखि सुरु भएको इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण ती देशमा श्रम स्वीकृति सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो । पछिल्लो समय सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ । यसअघि २०८२ चैत ३ गते साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको थियो ।
खाडी क्षेत्रको सुरक्षा अवस्था बिग्रिएपछि सरकारले २०८२ फागुन १७ गतेदेखि पश्चिम एसिया तथा खाडीका विभिन्न मुलुकमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दुवै सेवा स्थगित गरेको थियो । विशेषगरी इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा जोखिम बढेको ठहर गर्दै यस्तो निर्णय गरिएको थियो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (इआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले अवस्था मूल्यांकन गरी चरणबद्ध रूपमा पुनः श्रम स्वीकृति खुला गर्दै आएको जनाएको छ ।
नयाँ अनुमति अझै अनिश्चित
यता, नयाँ श्रम स्वीकृतिको हकमा भने तत्काल निर्णय गरिएको छैन । मन्त्रालयका अनुसार सम्बन्धित देशहरूको अवस्था पूर्णरूपमा सामान्य भएपछि मात्रै नयाँ श्रम स्वीकृति खुला गर्ने विषयमा निर्णय लिइनेछ ।
इराकको हकमा भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको देशको सूचीमा राखेकाले सरकारले तोकेको मापदण्ड र कागजात पूरा गर्ने श्रमिकहरूले मात्र पुनः श्रम स्वीकृति पाउने व्यवस्था कायम रहेको छ ।
खाडी क्षेत्रका देशहरूमा पुनः श्रम स्वीकृति खुला भए पनि नयाँ कामदार पठाउने विषय अझै अनिश्चित नै रहेको देखिन्छ । यसअघि ती देशस्थित नेपाली दूतावासहरूले तत्काल नयाँ श्रम स्वीकृति खुला गर्नु उपयुक्त नहुने सुझाव दिएका थिए ।
यसैबीच, सरकारले श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउँदै पछिल्लो समय आवेदन दिएकै दिन स्वीकृति प्राप्त हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसअघि जस्तो टोकन लिएर मिति र समय कुर्नुपर्ने बाध्यता हटाइएको मन्त्रालयले जनाएको छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि