भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा सिन्दूर जात्रा मनाइएको छ । भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट, बिस्का जात्राको एक अंश सिन्दूर जात्रा हो । आठ रात नौ दिन मनाइने जात्रामा वैशाखको २ गते सिन्दूर जात्रा मनाउने गरिन्छ । लिच्छवि कालदेखि चल्दै आएको बिस्केट जात्रा मध्यकालमा आएपछि भव्यताका साथ मनाउन थालिएको हो । यो जात्रालाई विजय उत्सव मनाएको अर्थमा बुझ्ने गरिन्छ । यो जात्रामा आफ्नो साथीभाइसँग फुस्रो सिन्दूर लगाएर मनाइन्छ । यसलाई होलीको अर्को रूप पनि भनिन्छ ।
अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेको समूह, त्यसपछि आ-आफ्नो टोलका देवी-देवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भिडमा रमाएका थिए । थिमीमा मात्र मनाइने यो जात्रामा एक–अर्कालाई सिन्दूर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात-हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खट मात्रै जात्रामा सहभागी हुने गरेका छन् ।
जात्रामा बुधबार बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । मंगलबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी, विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमीमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमी क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ सिन्दूर जात्रा मनाइने गरेको छ । यसमा थिमीको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै मनाइन्छ ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक-अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दूर जात्रा पनि भन्न थालिएको छ ।
सुजनले चौथो पटक छेडाए जिब्रो
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय २९ वर्षीय सुजन बागश्रेष्ठले बुधबार चौथो पटक जिब्रो छेडाउनुभएको छ । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचौँ गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा उहाँको जिब्रो छेडिएको हो । सुजनले यो परम्परालाई जोगाइराख्न आफूले जिब्रो छेड्दै आएको बताउनुभयो । ‘बुबाले जिब्रो छेड्दा सानैदेखि म उहाँसँगै हुन्थेँ । उहाँले जात्रा जोगाइरहनु भएको देखेर ममा पनि इच्छा जाग्यो । दुई वर्षअघि यो अवसर जुर्यो र त्यसयता निरन्तर जिब्रो छेड्दै जात्रा जोगाइरहेको छु’, सुजनले भन्नुभयो ।
यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौपल्ट जिब्रो छेडाउनुभएको थियो । बुद्धकृष्णले पहिलो पटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चारपटक जिब्रो छेडाउनुभएको थियो । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाउनुभयो । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ ।
दैवी शक्तिलाई आधार मानेर प्राचीन कालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीन कालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरी पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।
यसरी मनाइन्छ नौ दिन आठ रातसम्म बिस्केट जात्रा
भक्तपुरमा नौ दिन आठ रातसम्म बिस्केट जात्रा मनाइन्छ । टौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुन्छ । ‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छवि कालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ । बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् । यही क्रममा चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिंगो ठड्याउने, वैशाख १ गते दिनभर लिंगो जात्रा गरी साँझ सो लिंगो ढाल्ने गरिन्छ । भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच कहिलेकाहीँ झगडा हुँदा तनावको स्थिति पनि सिर्जना हुने गर्दछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि