काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त किन नगर्ने भनी सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले खड्कालाई थुनामै राख्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चले यस मुद्दाको पेसी आज (बिहीबार) का लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेशसमेत जारी गरिदिएको छ । नियमानुसार गर्नू’ आदेशमा उल्लेख छ ।
सर्वोच्चले खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको छ । ‘...राजस्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप (हिरासतमा राख्न अनुमति भएको भए सोसम्बन्धी सम्पूर्ण कागजातहरू सहितको मिसिल तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चासमेत संलग्न गरी मिति २०८३/०१/०३ गते १२ बजे सम्ममा प्राप्त हुनेगरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफसमेत झिकाई प्रस्तुत रिट निवेदन मिति २०८३/०१/०३ गतेका लागि नियमानुसार पेसी तोक्नु भनी आदेश गरी दिएको छ’, आदेशमा भनिएको छ ।
बुधबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ता प्रकाश रेग्मीले बहस गर्नुभएको थियो । त्यस्तै, नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नुभएको थियो ।
खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको ‘जेन–जी’ आन्दोलनमा उहाँको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताउनुभएको थियो । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलनसमेत गरेको थियो ।
‘जेन-जी’ आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उहाँको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्वीर र भिडियो पनि सार्वजनिक भएको थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलनसमेत गरेको थियो ।
पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितका प्रतिवादीलाई बहस नोट पेस गर्न आदेश
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिवादीलाई विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ । मुद्दा हाल अन्तिम सुनुवाइको चरणमा पुगेको छ । बुधबार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्रतिवादी पक्षका कानुन व्यवसायीलाई बहस नोट पेस गर्न निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीका रूपमा पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप उहाँमाथि लगाइएको छ ।
अभियोग पत्रअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको निर्णयबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो । त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिएको दाबी गरिएको छ ।
उक्त प्रकरणमा ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको अभियोग छ । सोही आधारमा ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको हो ।
सुलभ-दीपकको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीहरू सुलभ अग्रवाल र दीपक भट्टको घरमा तथा हिमालयन रिइन्स्योरेन्सको मुख्य कार्यालयमा छापा मारेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा डकुमेन्ट लिन तीन स्थानमा पुगेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताउनुभयो । हाल उनीहरू दुवैजना विभागको नियन्त्रणमा छन् ।
भट्टको सानेपास्थित निवास किरण भवनमा विभागको टोली पुगेको थियो । ठाकुरका अनुसार उनीहरूसँग सम्बन्धित डकुमेन्ट लिन सोमबार विभागले सुलभ र दीपकको घर तथा हिमालयन रिको केन्द्रीय कार्यालयमा छापा मारेको हो । छापा मार्ने क्रममा विभागले अनुसन्धानसम्बन्धी डकुमेन्ट, मोबाइल, सिपियुलगायत जफत गरेको छ । विभागको टोलीले भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरेको थियो । उनीहरूविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि