सर्लाही । पछिल्लो समय वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो आकर्षणका कारण गाउँघरमा कृषि मजदुरको अभाव तीव्र बन्दै गएको छ । यसले परम्परागत कृषि प्रणालीलाई चुनौती दिइरहेको अवस्थामा आधुनिक कृषि यन्त्रहरूको प्रयोग किसानका लागि भरपर्दो विकल्पका रूपमा उदाउँदै आएको छ । विशेषगरी गहुँखेतीमा प्रयोग हुने कम्बाइन हार्भेस्टरजस्ता अत्याधुनिक मेसिनहरूले समय, श्रम र लागत तीनै क्षेत्रमा उल्लेखनीय बचत गरिरहेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका-९ का किसान गोविन्द महत विगत लामो समयदेखि गहुँखेती गर्दै आउनुभएको छ । उहाँका अनुसार केही वर्षअघिसम्म खेतीपाती गर्न कृषि मजदुरमै निर्भर रहनुपर्थ्यो । ‘पहिले गहुँ काट्न, बोझा बाँध्न र झार्न धेरै जनशक्ति चाहिन्थ्यो । मजदुर पाउन गाह्रो हुन्थ्यो र लागत पनि धेरै लाग्थ्यो’, महत भन्नुहुन्छ ।
तर, अहिले प्रविधिको प्रयोगले खेतीपाती सहजमात्र नभई छिटो र प्रभावकारी भएको उहाँको अनुभव छ । उहाँका अनुसार कम्बाइन हार्भेस्टर प्रयोग गरेपछि एउटै मेसिनले गहुँ काट्ने, दाना झार्ने र सफा गर्ने काम एकैपटकमा सम्पन्न गरिदिन्छ । यसले गर्दा समयको बचत हुनुका साथै मौसमजन्य जोखिमबाट पनि बाली जोगाउन सजिलो भएको छ । ‘पहिले गहुँ काटेपछि केही दिनसम्म खेतमै राख्नुपर्थ्यो । त्यतिबेला हावाहुरी वा असिनापानी आयो भने ठूलो क्षति हुन्थ्यो । अहिले भने मेसिनले तुरुन्तै काम सकिदिन्छ’, उहाँले बताउनुभयो ।
तेलबाली अनुसन्धान कार्यक्रम कार्यालय, नवलपुर सर्लाहीका प्रमुख तथा वैज्ञानिक डा. सुवास सुवेदीका अनुसार कृषि यान्त्रीकरणले उत्पादन प्रणालीमा गुणात्मक सुधार ल्याएको छ । ‘कम्बाइन हार्भेस्टरजस्ता उपकरणहरूले बाली भिœयाउने प्रक्रियालाई द्रुत र सुरक्षित बनाएका छन् । यसले किसानलाई समयमै उत्पादन भिœयाउन सहयोग पुर्याउँछ’, उहाँले भन्नुभयो । उहाँका अनुसार यस्ता उपकरणहरूले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने दुवै काम गर्ने भएकाले दीर्घकालीन रूपमा कृषकलाई फाइदा पुग्नेछ ।
त्यस्तै, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, नवलपुर सर्लाहीका प्रमुख इञ्जिनियर रामनाथ झाका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशबाट आयात गरिएका विभिन्न कृषि उपकरणहरूले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गरिरहेका छन् । ‘मजदुर अभाव बढ्दै गएको अवस्थामा यान्त्रीकरण अपरिहार्य बन्दै गएको छ । यसले किसानलाई काम गर्न सहजमात्र बनाएको छैन, उनीहरूमा नयाँ उत्साह पनि थपेको छ’, झाले बताउनुभयो ।
उहाँका अनुसार आधुनिक उपकरणहरूको प्रयोगले कृषि क्षेत्रलाई क्रमशः व्यावसायिक बनाउँदै लगिरहेको छ । ‘पहिले श्रममा आधारित खेती अहिले प्रविधिमा आधारित हुँदै गएको छ । यसले युवालाई पनि कृषितर्फ आकर्षित गर्न मद्दत पुर्याउन सक्छ’, उहाँले थप्नुभयो । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा हाल करिब २४ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको छ । जिल्लाका सबै स्थानीय तहमा गहुँ उत्पादन हुने भए पनि उत्पादन बढाउन र लागत घटाउन अझै व्यापक रूपमा यान्त्रीकरण आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार सरकारले समयमै आवश्यक नीति, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके कृषि क्षेत्र अझ सुदृढ बन्न सक्छ । ‘युवाहरूलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न कृषिमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्नु अत्यावश्यक छ’, डा. सुवेदीले सुझाव दिनुभयो । स्थानीय किसानहरूले पनि कृषि यान्त्रीकरणमा सरकारी सहुलियतको माग गरेका छन् । ‘यदि मेसिन खरिद वा भाडामा लिन सरकारले सहयोग गरिदियो भने अझ धेरै किसानले यसको फाइदा लिन सक्छन्’, उनीहरूको भनाइ छ ।
समग्रमा हेर्दा सर्लाहीमा बढ्दो मजदुर अभावको समस्यालाई कृषि यान्त्रीकरणले प्रभावकारी रूपमा सम्बोधन गर्न थालेको देखिन्छ । आधुनिक उपकरणहरूको प्रयोगले उत्पादन प्रणालीलाई सहज, छिटो र सुरक्षित बनाएको छ भने कृषकको श्रम घटाएर उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
आगामी दिनमा सरकार, निजी क्षेत्र र किसानबीच सहकार्य बढाउँदै यान्त्रीकरणलाई अझ व्यापक बनाउने हो भने कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि