काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले जारी गर्ने परिपत्रका आधारमा प्रदेशले बनाएका कानूनहरूलाई निष्प्रभावी बनाउन नमिल्ने बताउनुभएको छ ।
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कँडेलले यस्तो धारणा राख्नुभएको हो । बैठकमा कोशी र सुदूरपश्चिम बाहेकका पाँच प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो । बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, संवैधानिक अधिकारको बाँडफाँट र प्रशासनिक जटिलताका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री कँडेलकाअनुसार संघीय सरकारले पछिल्लो समय जारी गरेका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषय बैठकमा जोडदार रूपमा उठाइएको छ । विशेष गरी सञ्चार र विकास निर्माणका आयोजनाका ठेक्कापट्टा सम्बन्धी परिपत्रका बारेमा उठेको प्रश्नमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले उक्त परिपत्रको मनसाय प्रदेशका सबै क्रियाकलाप रोक्ने नभई केवल ठेक्कापट्टाको सूचना संप्रेषणमा एकरूपता ल्याउनु मात्र रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कँडेलले कर्मचारीतन्त्रमा अझै पनि संघीय मानसिकता हाबी रहेको र उनीहरूले प्रदेश कानुनभन्दा संघको परिपत्रलाई बढी प्राथमिकता दिने गरेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानतः प्रदेशले बनाएका कानूनलाई निष्प्रभावी बनाउने अधिकार संघलाई छ, तर त्यो कानून बनाएर मात्र गर्न सकिन्छ । परिपत्र वा प्रशासनिक निर्णयका आधारमा प्रदेशका कानून रोक्ने कुरा संवैधानिक हुँदैन । संघबाट खटाइएका सचिवहरूले प्रदेशको कानुनभन्दा संघको मन्त्रालयको चिठीलाई ठूलो ठान्ने प्रवृत्ति छ, यसमा स्पष्टता जरुरी छ । हामी कसैको युनिट सरकार होइनौँ, संविधानले दिएको अधिकार प्रयोग गर्ने स्वायत्त सरकार हौँ । आजको छलफलले संघीय सरकारलाई निर्णय लिन र प्रदेशलाई कानुन कार्यान्वयन गर्न सहज बनाउनेछ ।’
संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा पनि संघीय निजामती सेवा ऐन, शिक्षा ऐन र वन ऐन जस्ता महत्त्वपूर्ण कानूनहरू नबन्दा प्रदेश सरकारको भुमिका प्रभावकारी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । ती कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिवद्धता जनाउनुभएको कँडेलको भनाइ छ । बैठकमा प्रधानमन्त्रीले संघीयतालाई सुदृढ बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि