रुपन्देही । बुटवल उपमहानगरपालिकाले छोरीहरूको शिक्षा र सशक्तीकरणलाई केन्द्रमा राख्दै सञ्चालन गरेको “छोरी पढाऔं” कार्यक्रम अहिले उदाहरणीय पहलका रूपमा स्थापित हुँदै गएको छ।
आर्थिक अभाव, पारिवारिक समस्या तथा सामाजिक कारणले प्राविधिक शिक्षा हासिल गर्नबाट वञ्चित रहेका छोरीहरूलाई लक्षित गर्दै उपमहानगरले निःशुल्क प्रि–डिप्लोमा तहको प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको हो। स्थानीय तहबाट यस्तो लक्षित र प्रभावकारी कार्यक्रम सञ्चालन हुनु नेपालकै सन्दर्भमा पनि नयाँ र महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।
बुटबल उपमहानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा वार्षिक २० जना छोरीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने योजना अघि सारेको थियो। यसका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। कार्यक्रमको प्रभावकारिता र आवश्यकतालाई ध्यानमा राख्दै यस वर्ष पनि निरन्तरता दिइएको छ, जसका कारण अहिले ४० जना छोरीहरूले निःशुल्क रूपमा प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाएका छन्।
हाल ती विद्यार्थीहरू बुटवल टेक्निकल इन्स्टिच्युटमा इलेक्ट्रिकल र मेकानिकल विषयमा दुई वर्षे प्रि–डिप्लोमा कोर्स अध्ययन गरिरहेका छन्। यस कार्यक्रम अन्तर्गत लाग्ने सम्पूर्ण शैक्षिक शुल्क उपमहानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ। नगर प्रमुख खेलराज पाण्डेका अनुसार, प्राविधिक शिक्षा मार्फत छोरीहरूलाई सीपयुक्त, आत्मनिर्भर र सक्षम बनाउनु नै कार्यक्रमको मूल लक्ष्य रहेको बताउनु भयो ।
एसईई वा प्रवेशिका परीक्षा उत्तीर्ण गरे पनि आर्थिक अभाव वा अन्य कारणले उच्च शिक्षा हासिल गर्न नसकेका छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले उनीहरूलाई नयाँ जीवन अवसर प्रदान गरेको पान्डेको भनाई छ।
यस्तै उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार, शिक्षा र अवसरबाट वञ्चित छोरीहरूलाई पुनः मुख्यधारमा ल्याउँदै महिला सशक्तीकरणमा योगदान पुर्याउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेकाउनु भयो । उहाले यो पहलले केवल शैक्षिक अवसर मात्र होइन, दीर्घकालीन रूपमा रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता वृद्धि गर्न पनि मद्दत पुर्याउने अपेक्षा गरिएको अर्यालको भनाई छ। प्राविधिक सीप हासिल गरेका विद्यार्थीहरूले भविष्यमा स्वरोजगार सिर्जना गर्न वा विभिन्न क्षेत्रमा रोजगारी पाउन सक्नेछन्, जसले उनीहरूको जीवनस्तर सुधार गर्नुका साथै समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाई छ ।
स्थानीय सरकारको यस्तो प्रयासले राज्यको जिम्मेवारीलाई व्यवहारमा कार्यान्वयन गरेको देखिन्छ। छोरीहरूलाई शिक्षित, सक्षम र आत्मनिर्भर बनाउने अभियानले लैङ्गिक समानता प्रवर्द्धन गर्नुका साथै समावेशी विकासको मार्ग पनि प्रशस्त गर्नेछ। बुटवल उपमहानगरपालिकाको यो कार्यक्रम अन्य स्थानीय तहका लागि प्रेरणादायी नमुना बन्न सक्ने देखिन्छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि