ललितपुर । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ।
पार्टी सभापति गगनकुमार थापा को सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २४ गतेका घटनाको पर्याप्त छानबिन नभएको ठहर गर्दै सो घटनाको निष्पक्ष पुनःअनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानबिन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिजस्ता विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
कांग्रेसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार र प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने निर्णय गरेको छ। साथै, सरकारका सकारात्मक र कानुनसम्मत कदममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीतका गतिविधिमा कडा प्रतिवाद गर्ने स्पष्ट नीति लिएको जनाएको छ।
पार्टीले विधिको शासनलाई लोकतन्त्रको आधार मान्दै कानुनभन्दा माथि कोही नहुने सिद्धान्तमा अडिग रहने पनि जनाएको छ।
यसैबीच, मध्यपूर्व क्षेत्रमा देखिएको सङ्कटका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा आमनागरिक प्रभावित भएको उल्लेख गर्दै कांग्रेसले मूल्य नियन्त्रणका लागि कर, भन्सार र अन्य शुल्कमा सहुलियत दिन सरकारसँग माग गरेको छ। साथै विद्यार्थीका लागि विशेष सुविधा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ। त्यस्तै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि