काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको घटनामा सवारी साधनहरू नष्ट हुँदा सेवा प्रवाहमा ढिलाइ भएको जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार उक्त घटनापछि प्रहरी संरचना तथा स्रोतसाधनमा ठूलो क्षति पुगेको थियो, जसका कारण तत्काल सेवा प्रवाह प्रभावित भएको हो ।
एसपी भट्टराईले घटनामा काठमाडौंका १२७ प्रहरी संरचनामध्ये ४२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएको र हालसम्म ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । गौशाला, बानेश्वर र जनसेवा जस्ता महत्वपूर्ण युनिटहरू पुनः सञ्चालनमा आइसकेका छन् ।
प्रहरीले अनुसन्धान र सेवा प्रवाहलाई चुस्त बनाउन ‘फाइल ट्रयाकिङ सिस्टम’ लागू गरेको छ भने यस अवधिमा ३० हजारभन्दा बढी फोन सम्पर्क, हजारौँ एसएमएस तथा इमेलमार्फत सेवाग्राहीसँग नियमित फलोअप गरिएको जनाएको छ ।
राजधानीमा साइबर तथा आर्थिक अपराध बढ्दो चुनौती बनेको उल्लेख गर्दै एसपी भट्टराईले कुल अपराधमध्ये ८५ प्रतिशत बैंकिङ कसुर, अभद्र व्यवहार र चोरीजस्ता मुद्दा रहेको बताउनुभयो । पछिल्लो ६ महिनामा ५ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् भने साइबर अपराधसम्बन्धी १ हजार ३ सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।
अनलाइन सपिङ फ्रड, ओटीपी चोरी र आईडी बुस्टिङमार्फत हुने ठगी नयाँ चुनौतीका रूपमा देखिएको प्रहरीको भनाइ छ ।
यस अवधिमा हुन्डीमा २ करोड ६३ लाख र सम्पत्ति शुद्धीकरणमा २९ करोड बराबरको बिगोसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, दुर्घटना तथा विपद्मा परेका २ हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ ।
भदौ २३ र २४ को घटनामा ४९ जनाको मृत्यु भएको र २१० वटा मुद्दा दर्ता भई अधिकांशको अनुसन्धान सम्पन्न भएको प्रहरीले जनाएको छ । सो घटनामा १८१ वटा हातहतियार बरामद गरिएको तथा फरार कैदी र थुनुवाहरूलाई पुनः नियन्त्रणमा लिइएको जानकारी पनि दिइएको छ ।
प्रहरीका अनुसार काठमाडौंमा आपतकालीन कलमा ढिलो प्रतिक्रिया दिने समस्या देखिएको छ । पछिल्लो समय १०० नम्बरमा करिब २६ हजार कल आएकोमा केही घटनामा प्रहरी पुग्न २५ मिनेटभन्दा बढी समय लागेको छ ।
एसपी भट्टराईले ट्राफिक जाम, सवारी साधनको कमी, संरचनात्मक क्षति र चक्रपथ विस्तारका कारण ‘रेस्पोन्स टाइम’ प्रभावित भएको बताउँदै आगामी दिनमा यसलाई औसत १० मिनेटभित्र झार्ने लक्ष्य रहेको जानकारी दिनुभयो । यसका लागि ड्रोन पेट्रोल र साना सवारी साधनको प्रयोग बढाइने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि