काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । सोही सन्दर्भमा बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको छ ।
मन्त्रालयले आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सहजता अनुसार पुनः तालिका मिलाइने बताएको छ । अन्तरंग र आकस्मिक सेवा भने सधैँझैँ २४ सैँ घण्टा सञ्चालनमा रहने स्पष्ट गरिएको छ ।
बिदाका दिनमा बिरामीलाई समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
त्यसैगरी, बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि