काठमाडौं । आमाको मुख हेर्ने औँसीको अवसर पारेर ठमेलमा आयोजित कविता वाचन कार्यक्रममा कवि डा.अनन्त अधिकारी र कवि सरस्वती चिमौरियाले आ-आफ्ना दश-दश कविता वाचन गर्नुभयो । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डा.अधिकारीले ‘नयाँ वर्ष’, ‘भन बकरा’, ‘गनगने लोग्नेको श्रीपेच’, ‘काठमाडौं र काठमाडौंहरू’, ‘सर्वाइवल नोट’, ‘पाउजु नामको स्वतन्त्रता हुँदैन’, ‘बाससँग आग्रह’, ‘डोर प्रसादको डेरा’ र ‘उप्रान्त मेरो भगवान’ लगायतका कविता प्रस्तुत गर्नुभयो ।
यसैगरी कवि चिमौरियाले ‘आमा’, ‘वर्तमानको सारथी म’, ‘देश त संघीयतातिर जाँदैछ नि’, ‘आउ एउटा पार्टी खोलौं’, ‘ओ मेरो छोराकी प्रेमिका’, ‘आफन्तले’, ‘मैले दिन सकिन’, ‘दुखियाको जिन्दगी’ र ‘म छायाँ खोजी रहेछु’ शीर्षकका कविता सुनाउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै प्रस्तुत कविताहरूले मन छोएको बताउनुभयो । व्यस्तताका बीच पनि कविहरूको उल्लेख्य उपस्थिति सकारात्मक भएको उल्लेख गर्दै उहाँले सुन्दर बिम्ब प्रयोगले कविता सशक्त बनेको धारणा राख्नुभयो ।
अग्रज साहित्यकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ रोदनले कवि चिमौरियाका कविता भावनात्मक र युगबोध हुने खालका रहेको टिप्पणी गर्नुभयो । देशप्रतिको चिन्ता, बेथितिप्रतिको कटाक्ष र जनअसन्तुष्टिको अभिव्यक्ति कवितामा प्रष्ट देखिएको उहाँले बताउनुभयो ।
डा.अधिकारीका कविताबारे टिप्पणी गर्दै उहाँले मानवीय संवेदना र विभिन्न सामाजिक भूमिकालाई समेटिएको उल्लेख गर्नुभयो ।
काठमाडौंभित्रका पीडा र जीवनका यथार्थ पक्षलाई गहिरो रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा साहित्यकार लेखनाथ हुमागाईंले आफ्ना विद्यार्थीहरूको साहित्यिक सक्रियताप्रति खुशी व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव प्रदीप सापकोटाले सहजीकरण गर्नुभएको थियो भने उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो । अतिथिहरूलाई चिवहाल परिवारका राष्ट्रमान तुलाधरले खादाद्वारा सम्मान गर्नुभएको थियो ।
चिवहाल परिवार, गौचर ठमेलको सहकार्यमा सम्पन्न कार्यक्रममा इखबर नेट मिडिया पार्टनरका रूपमा रहेको थियो । कार्यक्रममा चर्चित कवि तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै
जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै